१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिविमा प्रवेशपत्र लिनै हम्मे हम्मे (फाेटाे फिचर)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा आज विहानदेखि नै विद्यार्थीहरु लामबद्ध थिए। प्राइभेटतर्फ स्नातकोत्तर तहको परीक्षा प्रवेशपत्र लिने विद्यार्थीहरु भ्याइ नभ्याइ विहानैबाट लाइनमा देखिन्थे। यहीँ असारको १० गतेदेखि शुरु हुने राजनीतिक शास्त्र र जनप्रशासनको परीक्षाका लागि प्रवेशपत्र लिन आएका परीक्षार्थीको मुहारमा उत्साहसँगै आक्रोश पनि देखियो। थेग्नै नसक्ने चापका कारण विद्यार्थीहरु एकआपसमा भनाभनसमेत गरिरहेका देखिन्थे। 

परीक्षाको दुई दिन अगाडिमात्र प्रवेशपत्र लिन आह्वान गरेको परीक्षा नियन्त्रक कार्यालय बल्खुले विद्यार्थीको चापलाई वेवास्ता गरेको यहाँ आउने विद्यार्थीको गुनासो छ। काठमाडौं बसपार्कदेखि आएका जीवन केसी विहान ९ बजेदेखि लाइनमा थिए। त्रिविको निर्णय देखेर उनी आक्रोशमा थिए। परीक्षाको दुई दिन अगाडि त्रिविले प्रवेशपत्र लिन बोलाउँदा थेग्नै नसकिने विद्यार्थीको चाप भएर समयमा प्रवेशपत्र नपाएको दुखेसो पोख्छन् उनी। त्रिविले परीक्षा फाराम अनुरुपमा विद्यार्थीको चापको अनुमान गरेर अलि चाँडै प्रवेशपत्र लिने वातावरण बनाउनु पर्ने थियो भन्छन्, कीर्तिपुरका सन्तोष रेग्मी। 

त्रिविले सूचना प्रकाशित गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भर्ने समयसीमा तोकेको थियो। परीक्षा नियन्त्रक कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले गतवर्ष नौ हजार परीक्षार्थी भएकोमा यसवर्ष करिब २० हजार पुगेको जानकारी दिए। उनका अनुसार सेमेष्टर प्रणाली महङ्गो भएकाले विद्यार्थी अहिले प्राइभेट परीक्षातर्फ आकर्षित भएका हुन्। गतवर्ष नै त्रिविले प्राइभेट परीक्षा खुलाउँदा अन्तिम परीक्षा हुने भनेर सूचना प्रकाशित गरेकोमा सेमेष्टर प्रणालीको दुरशिक्षाको कार्यविधि नबनेकाले यसवर्ष पनि प्राइभेट तर्फको परीक्षाको फाराम खुलाइएको परीक्षा नियन्त्रक जोशीले बताए। यो वर्ष अन्तिम भनेको सूचनाका आधारमा विद्यार्थीले घण्टौंसम्म लाइन मै बसेर परीक्षा फाराम भरेका थिए। हाल परीक्षा फाराम भर्ने चापको दोब्बर प्रवेशपत्र लिन आएका विद्यार्थीको लाइन देख्न सकिन्छ। परीक्षार्थीको अत्यधिक चापले गर्दा धेरै परीक्षार्थी प्रवेशपत्र नलिई फर्किन बाध्य भएका थिए। परीक्षा नजिकै आइसक्यो तर प्रवेशपत्र लिनै सकेको छैन् भन्छन्, सीतापाइलाबाट आएका महेश कोइराला। 

त्रिविले यस वर्षदेखि सिम्बल नम्बर अनलाइनबाट पनि हेर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ। परीक्षार्थीले आफ्नो सिम्बल नम्बर www.tuexam.edu.np मा गएर रजिष्ट्रेशन नम्बर राखेर खोज्न सक्नेछन्। सोही सिम्बल नम्बरका आधारमा पत्र दिने गरेको छ।  

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगञ्ज र अत्तरियाबाट परीक्षा फाराम भर्ने व्यवस्था गरेको थियो। ‘हामीले गतवर्ष कार्यविधि बनाउन सकैनौं। प्राइभेट परीक्षालाई नरोकांै भन्ने त्रिविको निर्णयले यस वर्ष पनि प्राइभेटको लागि फाराम खुलाएका हौं’, परीक्षा नियन्त्रक जोशीले भने, ‘यो वर्ष अन्तिम परीक्षा हो कि भनेर धेरै विद्यार्थीेको फाराम भर्ने भीड लागेको हो। कार्यविधि बनाएपछि हामीले वार्षिक प्राइभेट परीक्षालाई बन्द गरी सेमेष्टर अन्तर्गतको प्राइभेट परीक्षा लिन्छौं।’ सेमेष्टर प्रणाली अन्तर्गतको प्राइभेट परीक्षामा विद्यार्थी क्याम्पस नै भर्ना नभएर परीक्षा दिन पाउने छन्। 

‘प्राइभेट सेमेष्टरमा विद्यार्थी क्याम्पसमा भर्ना हुनुपर्दैन’, उनले भने, ‘विद्यार्थीलाई अनलाइनबाट नै कार्यादेश (असाइमेन्ट) गर्न लगाइन्छ र अनलाइनबाट नै असाइमेन्ट पूरा गरेर ६/६ महिनाको सेमेष्टर परीक्षा दिन पाउनेछन्।’ सेमेष्टर प्रणाली शुरु भएपछि त्रिविमा प्राइभेट परीक्षा दिनेको सङ्ख्यामा वृद्धि भएको उनले बताए। स्नातकोत्तर तहका लागि एक हजार तीन सय र स्नातक तहका लागि रु एक हजार शुल्क तिरे परीक्षा दिन पाइने भएकाले विद्यार्थीको आकर्षण अहिले प्राइभेटतिर भएको हो। उनका अनुसार गतवर्ष भन्दा दोब्बर यस वर्ष स्नातकोत्तर तहमा मात्र परीक्षार्थीले फाराम भरेका छन्। 

स्नातकोत्तर तहमा जनप्रशासन र राजनीतिक शास्त्रमा प्राइभेट परीक्षा दिन पाइने व्यवस्था त्रिविले गरेको छ। यस्तै स्नातक तहमा प्रयोगात्मक विषय बाहेक सबै विषयमा प्राइभेट दिन पाइने छ। प्राइभेट परीक्षाका लागि क्याम्पसमा भर्ना हुनुनपर्ने र शुल्क पनि धेरै नलाग्ने भएकाले विद्यार्थीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको हो। परीक्षाका बेला हुने विद्यार्थीको अत्यधिक चापलाई व्यवस्थित गर्न त्रिविले ठोस योजना बनाएर अघि बढ्न जरुरी रहेको परीक्षार्थीहरुको भनाई छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App