२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुध्रिँंदै सामुदायिक विद्यालय

भक्तपुर - भक्तपुरकलीस्थित भीम आदर्श आधारभूत विद्यालयमा विद्यार्थीहरूको संख्या १८ जनाबाट बढेर अहिले ६८ जना पुगेको छ। पहिला भक्तपुर नगरको सुकुलढोकामा रहेर अहिले लिवालीमा सरेको यो सामुदायिक विद्यालयमा विद्यार्थी बढ्ने क्रम पनि निरन्तर उकालो नै लाग्दै आएको छ। भूकम्पअघि सुकुलढोकामा रहेको यो विद्यालयमा १८ जना विद्यार्थी रहेकोमा २०७२ सालको भूकम्पपछि प्रत्येक वर्ष विद्यार्थी संख्या बढेर अहिले ६८ पुगेको हो।

विद्यालयका प्रिन्सिपल दीपक माक विद्यालयमा बर्सेनि १०/१५ जना विद्यार्थी बढेको बताउँछन्। शिक्षाको हबका रूपमा चिनिने लिवाली क्षेत्रमा निजी (संस्थागत) तथा सामुदायिक विद्यालयहरू पाइलैपिच्छे छन्। छेउछाउमा थुप्रै विद्यालय भए पनि भीम आदर्श आविले विद्यार्थी संख्या बढाउँंदै आएको छ। पाइलैपिच्छे सरकारी र निजी विद्यालयहरू रहेको अवस्थामा आफ्नो विद्यालयमा भएका विद्यार्थीलाई निरन्तर बनाइराख्न ठूलो चुनौती रहेको उनी बताउँछन्।

त्यस्तै ब्रहमायणी आधारभूत विद्यालयमा गत वर्ष ७० जना विद्यार्थी थिए। यो वर्ष भने ३० जना विद्यार्थी नयाँ भर्ना भएका छन्। सो विद्यालयकी प्रधानाध्यापक तीर्थलक्ष्मी धन्छा भन्छिन्, ‘सामुदायिक विद्यालय निजी विद्यालयभन्दा कम छैनन्। सामुदायिक विद्यालयहरूमा पनि अंग्रेजी माध्यममा पढाउने गरेको सुनाउँदै उनले भनिन्, ‘हाम्रो विद्यालयको अगाडि निजी विद्यालय छ तर पनि हाम्रोमा विद्यार्थीको संख्या बर्सेनि बढेको छ।’

यी दुई आधारभूत विद्यालयमा मात्र नभई भक्तपुरको प्रख्यात बागेश्वरी माध्यमिक विद्यालयमा पनि सयजना विद्यार्थी बढेको सहायक प्रिन्सिपल ज्ञानसागर प्रजापतिले बताए। सो माविमा अहिले तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत छन्। ‘प्रतिस्पर्धाको समय छ,’ उनले भने, ‘अहिले सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नु भन्दा पनि आफूसँग भएका विद्यार्थीहरू नियमित गराइराख्नु नै ठूलो कुरा हो।’

सामुदायिक विद्यालयले प्रगति गर्दै गएको खण्डमा निजी विद्यालयका विद्यार्थीहरू पनि यहीं पढ्न आउने उनले बताए। सामुदायिक विद्यालयहरूमा राम्रो भौतिक पूर्वाधारहरू भएको खण्डमा अझै प्रगति हुने उनको बुझाइ छ। जिल्लाका माध्यमिक विद्यालयहरू समाज सुधार, गणेश, शान्ति निकेतन, बासु तथा आधारभूत विद्यालयहरू सिद्धि शारदा, भीम आदर्श, नवीन, चण्डेश्वरी, जनसेवामा गत वर्षभन्दा यो वर्ष विद्यार्थी संख्या उल्लेख्य वृद्धि भएको पाइएको छ।

प्रकाशित: ३ असार २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App