१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कच्चा पदार्थ नपाउँदा लक्ष्यअनुसार काम भएन

भैरहवा तौलिहवा धुलाम्य सडक। तस्बिर : नागरिक

भैरहवा - प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेको छ। २५६३औं बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि औपचरिक उद्घाटन समेत गरेकी छन्। प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा सबैभन्दा ठूलो चुनौतीका रुपमा निर्माणाधीन भैरहवा–तौलिहवा सडक रहेको छ। लुम्बिनी पुग्ने पर्यटकले सबैभन्दा बढी प्रयोग गर्ने यो बाटो अहिले धुलैधुलो भएको छ। धुलो र निर्माणाधीन बाटोका कारण लुम्बिनी जाने आन्तरिक तथा बाह्य पर्यटक सास्ती खेप्न बाध्य छन्।

भैरहवाबाट लुम्बिनीतर्फ लाग्ने बित्तिकै लुम्बिनी आउने पर्यटकलाई धुलोले स्वागत गरिरहेको हुन्छ। भैरहवाको लुम्बिनी गेटबाट सुरु हुने यो धुलो लुम्बिनीसम्म मात्र नभई गौतम बुद्धको गृहनगर तौलिहवासम्म उस्तै छ। खुला गाडी तथा मोटरसाइकलमा लुम्बिनी जाने सर्वसाधारण र पर्यटक लुम्बिनीसम्म पुग्दा चिन्नै नसक्ने अवस्थामा पुगेका हुन्छन्।

भैरहवा तौलिहवा जोडने सडकको स्तरोन्नति गर्ने कार्य लक्ष्यअनुसार हुन नसक्दा पर्यटकले सास्ती खेप्नु परेको छ। सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी– तौलिहवा सडक परियोजनाको प्रारम्भिक काम द्रुत गतिमा अगाडि बढेको भए पनि अहिले लक्ष्यअनुसार काम हुन सकेको छैन। सन् २०१७ जनवरीदेखि काम सुरु गरेको भए पनि हालसम्म लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन। सुरुमा तीव्र गतिमा काम भए पनि पछिल्लो समय आवश्यकता अनुसारको परिमाणमा नदीजन्य कच्चा पदार्थ नपाउँदा लक्ष्य अनुसारको काम हुन सकेको छैन।

जनवरी २०२० भित्र सम्पनन गर्ने लक्ष्यका साथ आयोजना लागे पनि हालसम्म ५० प्रतिशत कार्य हुनुपर्नेमा ३५ प्रतिशतमात्र सम्पन्न भएको छ। कूल ४१.१३० किलोमिटरको सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजना सक्न अब आठ महिना मात्र बाँकी छ तर आयोजना अहिलेको लक्ष्यभन्दा १५ प्रतिशतले पछि भएको हो।

भैरहवा बुद्ध चोकदेखि विमानस्थलसम्म ३.६८ किलोमिटर ६ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४.४२० किलोमिटर चार लेन र बाँकी पर्साचोकदेखि तौलिहवासम्मको २३.३० किलोमिटर दुई लेन निर्माण गर्नेगरी काम अगाडि बढाइएको भए पनि अहिलेसम्म अन्य ठाउँको सडकको बेस तयार हुने अन्तिम चरणमा छ भने पर्सा चोकदेखि पश्चिमतर्फ ६ किलोमिटरको सडकमा पहिलो चरणको कालोपत्रे सुरु भएको छ। त्यसैगरी सडक खण्डमा हालसम्म एक सय ११ साना–ठूला कल्भर्ट निर्माण भइसकेका छन् भने छेउको नाला बनाउन बेस बनाएर केही दिनमै नालाको काम सकिने आयोजनाका प्रमुख प्रदिप राज शाक्यले बताए।

साउथ एसियन सब रिजनल इकोनोमिक कोपरेसन (सासोक) अन्तर्गत एसियाली विकास बैंक (एडिबी)को आर्थिक ऋण सहयोग र नेपाल सरकारको लगानीमा भैरहवा तौलिहवा सडक योजनाअन्तर्गत निर्माण भइरहेको छ। एक अर्ब ९३ करोड ६ लाख ३६ हजार २ सय २७ रुपैयाँ ५५ पैसाको लागतमा निर्माणाधीन सडकमा ८५.५ प्रतिशत एडिबीको लगानी छ भने बाकी १५.५ प्रतिशत लगानी नेपाल सरकारले गरेको छ।

पहिला रहेको कालोपत्रलाई केन्द्रविन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँअनुसार दायाँ–बायाँ गरी सडक स्तरोन्नति गरिएको छ। डिबिएसटी स्तर अर्थात दुई तहमा कालोपत्रे गरी बन्ने यो सडकको काम भारत हरियाणको गावर कन्स्ट्रक्सनले गरिरहेको। चार लेनसम्मको सडक कन्स्ट्रक्सन कम्पनीले पुरानो पद्धतिबाट बनाए पनि भैरहवादेखि एयरपोर्टसम्मको ६ लेन सडक असफाल्ट मेसिनको प्रयोग गर्दै पिचको काम गर्ने आयोजनाले जानकारी दिएको छ। ६ लेन सडकमा दायाँ–बायाँ दुई–दुई लेनको सडक बीच भागमा ‘ग्रिन बेल्ट र दायाँ–बायाँ सर्भिसलेन र ‘फुटपाथ’ निर्माण गरिने छ। सडक खण्डमा ३६ यात्रु प्रतिक्षालय बनाउनुका साथै छेउछाउमा रुख रोपिने छ।

आयोजनाको वित्तीय प्रगति ३३ प्रतिशत र भौतिक प्रगति ३५ प्रतिशत रहेको छ। आयोजनालाई अवाश्यक नदीजन्य पदार्थ समयमै उपलब्ध भयो भने हामीले सहज रुपमै समयमै काम सम्पन्न गर्न सक्छौं, नभए निर्माण कार्यमा अवश्य ढिलाइ हुन्छ,’ आयोजनाका प्रमुख शाक्यले भने।  उनले आफूले जिल्ला समन्वय समितिदेखि सरोकारवाला निकायमा नदीजन्य पदार्थ उपलब्ध गराउन पटक पटक आग्रह गरेका छौं। नदीजन्य पदार्थ समयमै आपूर्ति भए र अन्य कुनै बाधा नआए उल्लेखित समयमै परियोजना पूरा हुने उनको दाबी छ।

गर्मीयाममा धुलो व्यवस्थापन चुनौतीपूर्ण भए पनि रुपन्देहीतर्फ ६ र कपिलवस्तुतर्फ चारवटा पानी टं्याकरले नियमित पानी हाले पनि गर्मीका कारण धुलो व्यवस्थापनमा समस्या भएको बताए। लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका दुई दर्जनभन्दा बढी उद्योगका लागि दैनिक सयौं ट्रक, ट्रिपरलगायत ठूला मालवाहक गाडीले बढी धुलो उडाउने गरेका छन्। धुलोले प्रदूषणका साथै सवारी दुर्घटना पनि बढाएको छ। धुलोकै कारण विगत दुई दुई वर्षमा यस सडक खण्डमा नौ जनाले ज्यान गुमाइसकेको जिल्ला ट्रफिक कार्यालयले जनाएको छ। गत वर्ष र यो वर्ष गरी यस सडकमा ४५ दुर्घटना भएकामा ४५ सर्वसाधारण घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रमुख वेद पौडलले बताए। 

प्रकाशित: २ असार २०७६ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App