१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडकले जोडिँदै ललितपुरका गाउँ

ललितपुर - ललितपुरको दक्षिणी भेगमा पर्ने बाझँगाउँ–चमेरेगुफा जोड्ने सडक निर्माण कार्य अघि बढेको छ। मोटरबाटो नहुँदा आउजाउमा सकस खेपेका स्थानीयवासी सडक निर्माण कार्य अघि बढेपछि खुसी छन्।

निर्माण सम्पन्न भएपछि सो सडक गिम्दीको साहुँमाराको चमेरेगुफासम्म पुग्नेछ। सो स्थान पर्यटकीय स्थल हो। मगरगाउँ, बाँजगाँउ, हुलाक भन्ज्याङ्लाई सो सडकले जोड्नेछ। सडक सञ्जाल नहुँदा गाउँको पर्यटकीय र कृषि सम्भावना ओझेल परेको छ। ‘बाटो नहुँदा गाउँमा उत्पादन भएको कृषि सामग्री बजारसम्म लान कठीन छ। बाटो बनेपछि सजिलो होला,’ स्थानीय माया तामाङले भनिन्।

सडक निर्माणको लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ५० लाख बजेट विनियोजन गरेको छ। उपभोक्ता समितिले गाउँ र पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माणलाई जोड दिएको छ। प्रदेश सभा सांसद चेतनाथ सञ्जेल, बागमती गाउँपालिका–५ का वडाध्यक्ष साजन दर्लामी, ७ का वडाध्यक्ष नवराज सञ्जेल र समाजसेवी तथा युवा नेता कृष्ण बल र निशान दर्लामी मगरले सडक निर्माण कार्यको अनुगमन गरिरहेका छन्। युवा नेता कृष्ण बलले विकासको पहिलो खुड्किलो नै सडक भएको बताए। उनले सडक सञ्जाल जोडिएपछि ललितपुरका धेरै गाउँ बजारसँग जोडिने र गाउँका उत्पादनलाई सहरसम्म पु¥याउन सहज हुने बताए। ‘विकासको पहिलो सर्त सडक हो,’ उनले भने, ‘सडक बन्यो भने मानिसको दैनिकी पनि सहज बन्छ।’

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जयराम स्याङ्तानले निर्माण कार्यलाई तीव्रता दिइएको बताए। उनले गिम्दी पर्यटकीय केन्द्र बन्नसक्ने सम्भावना भए पनि सडकका कारण समस्या भएको बताए। ‘सडक निर्माण सकिएपछि यहाँको कृषि र पर्यटन क्षेत्रका सम्भावना खोज्छौं,’ उनले भने। सडक निर्माणको काम आधाभन्दा बढी सकिएको उनले बताए। बागमती गाउँपालिका–७ का वडाध्यक्ष नवराज सञ्जेलले पनि गिम्दीलाई हरेक क्षेत्रबाट विकास गर्नको लागि जनप्रतिनिधिले चासो दिएको बताए। ‘दक्षिण ललितपुरलाई हामीले विकट भनेर हेप्छौं, तर यहाँका सम्भावनाको खोजी गर्ने हो भने धेरै भेटिन्छन्,’ उनले बताए।
त्रिखण्डी माल्टा सडक स्तरोन्नति

यसबाहेक गाउँपालिकाको वडा नं २ माल्टास्थित त्रिखण्डी माल्टा सडक खण्ड स्तरोन्नतिको काम पनि भइरहेको छ। सडक निर्माणको लागि आलू आवमा प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको छ। ग्रामीण भेग जोड्ने यो सडकको चौडाइ ६ मिटरको हुनेछ। सांसद सञ्जेलले ग्रामीण भेगलाई लक्षित गरेर इस्टिमेट र मापदण्डअनुसार सडक निर्माणको काम गरिहरहेको जनाए। वडाध्यक्ष सञ्जेलले उपभोक्ता समितिमाफर्त काम भएकाले समयमै काम सक्न निर्देशन दिइरहेको बताए। ‘यहाँका ग्रामीण भेगका जनताले राज्यले दिने सेवा सुविधा पाएका छैनन्। सडक नबनेकै कारण विकास र पूर्वाधारका काम पनि आझेलमा छन्,’ उनले भने। उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजित रकममध्ये सबैभन्दा ठूलो र प्रमुख योजना नै दक्षिण ललितपुरलाई जोडन् सडक हुन्।

बगुवा, प्युटार, गिम्दी, ठूलादुर्लुङ्ग हुँदै कालेश्वरको ससिपाहा भन्ज्याङ जोड्ने घुम्ती सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य योजनामा समावेश छ। सडकका यी योजनाको लागि प्रदेश ३ अन्र्तगतको सरकारबाट ३७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। योजना अघि बढाउने क्रममा टेण्डर प्रक्रिया पनि सकिएको छ। त्यस्तै, सोही क्षेत्रकै १० किलोमिटर सडक कालोपत्रे गर्ने योजना पनि अघि सारिएको छ। ‘यो सडक साढे ८ मिटरको हुन्छ, त्यसमध्ये साढे ५ मिटर कालोपत्रे गरिन्छ,’ सांसद सञ्जेलले भने, ‘यससँगै आश्राङदेखि गिम्दी जोड्ने सडक स्तरोन्नतिको काम पनि अघि बढ्छ।’ उनले यो सडक स्तरोन्नतिको लागि प्रदेश सरकारबाट १ करोड २६ लाखको योजना स्वीकृत भइसकेको जानकारी दिए।

प्रकाशित: १ असार २०७६ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App