१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बागमतीद्वारा एक सय १७ लाई रोजगारी

सर्लाही - जिल्लास्थित बागमती नगरपालिका कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय १७ जनालाई एक महिने रोजगारी दिएको छ । बुधबार बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले उक्त कार्यक्रमको उद्घाटन गरिन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका एक सय १७ जनालाई एक महिने रोजगारी दिने कार्यक्रम सञ्चालन गरिएको बागमती नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निलम कुश्वाहले जानकारी दिए । चालू आर्थिक वर्षको अन्तिम समयमा मात्र कार्यक्रम सञ्चालन भएकाले एक महिनाका लागि मात्र रोजगारी दिइएको उनले बताए ।

आगामी आर्थिक वर्षमा सय दिन रोजगार उपलब्ध गराइने संयोजक कुश्वाहले बताए । उद्घाटन कार्यक्रममार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छानिएका जनशक्तिलाई ‘सेफ्टी’ हेलमेट, ज्याकेट तथा पन्जा वितरण गरिएको थियो ।

छनौट भएका ती कामदारलाई १२ वटा वडामा बराबर संख्यामा बाँडफाँड गरी वडाध्यक्षको मातहतमा काम लगाइने नगरपालिका कार्यालयले जनाएको छ । नगरभित्रका सार्वजनिक चोक–चौतारा, स्कुल, वडा कार्यालय स्वास्थ्य चौकी तथा सडक सरसफाइसँगै फल फल्ने, फूल फुल्ने र छहारी दिने खालका बिरुवा रोप्ने कार्यक्रममा ती जनशक्तिले काम गर्ने छन् ।

कामदारले दैनिक आठ घण्टा काम गरेबापत पाँच सय १७ रुपैयाँका दरले ३० दिनको ज्याला प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत यस आर्थिक वर्ष ०७५÷७६ का लागि २६ लाख मात्र प्राप्त भएकाले फारम भरेका सबैलाई समेट्न नसकिएको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिए । मेयर थापाले कार्यक्रममा सहभागी कामदारलाई कामको सम्मान गर्न आग्रह गरे ।

केन्द्रबाट प्राप्त कुल रकमको ७० प्रतिशत रकम छनौट भएका कामदारले तलब भत्तामा खर्च हुने छ । बाँकी ३० प्रतिशत रकमबाट उनीहरुको ज्याकेट, हेल्मेट, पन्जा खरिद गरिएको तथा सोही रकमबाट बिरुवालगायत सामग्री खरिद गरिने नगरपालिकाको भनाइ छ । बागमती नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भरेका नौ सय ९५ मध्ये एक सय १७ जना मात्रै छनौट भएका कार्यक्रम संयोजक कुश्वाहले बताए ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App