१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उपाधिभन्दा टोली निर्माण पहिलो प्राथमिकता

लन्डन– म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, गारेथ बेल र सर्जियो रामोसजस्ता विश्व चर्चित खेलाडी भित्र्याए पनि क्लबमा रहेको समस्या समाधान नहुने प्रतिक्रिया दिएका छन्।

हाल एमएलएस क्लब डिसी युनाइटेडबाट खेलिरहेका रुनीले युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले नयाँ सिजन टोली पुनर्निर्माणमा केन्द्रित हुन आवश्यक रहेको बताए।

‘अहिलेको आवश्यकता इङ्लिस प्रिमियर लिगको उपाधिमा केन्द्रित हुनुभन्दा पनि बलियो टोली निर्माण गर्ने हो र सोल्सजायरका लागि त्यसमै केन्द्रित हुनु फाइदाजनक छ,’ रुनीले भने,‘अहिले रोनाल्डो, मेसी, रामोस र बेलजस्ता विश्व चर्चित खेलाडीका लागि  करोडाैं खर्चेर भित्र्याउनुको कुनै अर्थ छैन। टोलीमा पनि क्षमतावान् खेलाडी भएकाले यो आर्थिक भार मात्र हुनेछ। नामले मात्र क्लबको समस्या समाधान हुँदैन। सोल्सजायरले विश्व चर्चित खेलाडी अनुबन्धनमा चर्को रकम खर्च गर्नुभन्दा पनि युवा र क्षमतावान् खेलाडी भित्र्याउनमा थोरै रकम खर्चिए पनि त्यो टोलीको हितमा हुनेछ।’

रुनीले क्लब अयाक्सका युवा डिफेन्डर माट्थेज डी लिज्ट्लाई भित्र्याउन सकिने सुझाव पनि दिएका छन्।

तत्कालीन प्रशिक्षक जोजे माउरिन्हो बाहिरिएपछि सोल्सजायरले अन्तरिम प्रशिक्षकका रूपमा डिसेम्बरमा युनाइटेडको प्रशिक्षण सम्हालेका थिए। हाल मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका सोल्सजायरले नयाँ सिजनका लागि यसअघि नै स्वान्सीका २१ वर्षे विंगर ड्यानियल जेम्सलाई अनुबन्धित गरिसकेका छन्।

‘युनाइटेडमा पनि युवा तथा क्षमतावान् खेलाडी छन्। त्यसैले अबको लक्ष्य टोलीको पुनर्निर्माण हुनुपर्छ,’ रुनीले भने, ‘समर्थकले पनि यस सिजन टोली प्रिमियर लिगको उपाधिको लक्ष्यमा भन्दा टोली पुनर्निर्माणमा लागेको छ भनेर बुझ्नेमा म विश्वस्त छु। सोल्सजायरलाई उल्लेख्य समय दिन आवश्यक छ। त्यो दुई वा तीन वर्ष पनि हुन सक्छ। त्यसपछि मात्र टोलीले प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि लक्ष्य लिनुपर्छ।’

‘युनाइटेडका साथै आर्सनल, टोटेनह्याम, चेल्सी र एभर्टनलाई लिग विजेता म्यानचेस्टर सिटी र च्याम्पियन्स लिग विजेता लिभरपुको स्तरमा पुग्न अझै केही समय लाग्नेछ,’ रुनीले थपे।

प्रकाशित: २७ जेष्ठ २०७६ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App