१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आप्रवासीको प्रवाह रोक्न मेक्सिको तयार, भन्सार नबढाउन अमेरिका सहमत

आप्रवासन र व्यापारका विषयमा अमेरिका र मेक्सिकोका अधिकारीबीच अमेरिकी विदेश मन्त्रालयमा भएको छलफलपछि बाहिरिँदै मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले। तस्बिरःएजेन्सी

वासिङ्टन–अमेरिकाले बढाउन सक्ने थप करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह रोक्न ‘अभूतपूर्व कदम’ उठाउन सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै अमेरिका र मेक्सिकोबीच एउटा सहमति भएको र मेक्सिकोमाथि अमेरिकाले लगाएको भन्सार शुल्क अनिश्चित कालका लागि स्थगित गरिएको बताएका छन्।

मेक्सिकोको भूमि हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह नरोके प्रत्येक महिना उसविरुद्ध पाँच प्रतिशतका दरले भन्सार शुल्क बढाउँदै जाने चेतावनी ट्रम्पले दिएका थिए। ट्रम्पले चेतावनी दिएअनुसारको कर वृद्धि सोमबारदेखि लागू हुँदै थियो।

अमेरिकासँग भएको सम्झौताबारे एउटा ट्विट गर्दै मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले पनि सहमति भएको पुष्टि गरेका छन्। दुई छिमेकी राष्ट्रबीच तीन दिनसम्म चलेको वार्तापछि सहमति जुटेको हो।

ट्रम्पले मेक्सिको हुँदै कैयौं आप्रवासी अमेरिका प्रवेश गरेको र त्यसलाई रोक्ने उसले कुनै कदम नचालेको आरोप लगाउँदै गत साता नयाँ भन्सार शुल्कबारे घोषणा गरेका थिए। मेक्सिकोविरुद्ध नयाँ भन्सार शुल्क लगाउने ट्रम्पले घोषणा गरे पनि घोषणा गर्दा सम्म उनको रिपब्लिकन दलका सदस्यहरुलाई त्यसबारे जानकारी नभएको स्रोतलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

सीमा पार गरेर हजारौंको संख्यामा अमेरिका आउने आप्रवासीलाई रोक्न आवश्यक भएको भन्दै गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा संकटकाल घोषणा गरेका थिए।

अमेरिका र मेक्सिकोबीच के के सहमति भयो ?
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको अमेरिका–मेक्सिकोबीचको संयुक्त घोषणापत्रमा मेक्सिकोले अवैध आप्रवासी र मानवतस्करी नियन्त्रण गर्न ‘अभूतपूर्व’ कदम चाल्ने उल्लेख गरिएको छ।

यद्यपि आप्रवासीमध्ये अमेरिकी देश पुगेर शरणार्थीको मान्यता प्राप्त गर्न पहिले मेक्सिकोमा निवेदन दिनुपर्ने भन्ने अमेरिकाको प्रमुख माग भने पूरा हुन नसकेको अनुमान गरिएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकासँग मेक्सिकोले गरेको सहमतिमा आफ्नो सुरक्षा निकायलाई देशभरि तैनाथ गर्ने विषय पनि रहेको छ। त्यसैगरी मेक्सिकोको दक्षिणी सीमामा छ हजार थप सुरक्षाकर्मी खटाउनेबारे पनि उसले वासिङ्टनसँग सहमति गरेको छ। उसले मानवतस्करको गिरोहसँग जुध्न ‘निर्णायक कदम’ चाल्ने विषयमा पनि सहमति गरेको छ।

उता, अमेरिकाले भने आप्रवासीको दाबीबारे समीक्षा भइरहँदा शरणार्थीको मान्यता खोज्नेलाई मेक्सिको पठाउने कार्यक्रम विस्तार गर्ने विषयमा सहमति गरेको छ र त्यसको बदलामा अमेरिकाले न्यायिक प्रक्रिया ‘द्रुत गतिमा अघि बढाउनका लागि कार्य गर्ने’ भन्ने विषय दुई देशबीचको सम्झौता उल्लेख गरिएको छ।

दुवै देशले सीमा सुरक्षाका विषयमा द्विपक्षीय सहकार्य थप बलियो बनाउनेबारे पनि प्रतिबद्धता जनाएको बिबिसीले उल्लेख गरेको छ। त्यसअन्तर्गत सूचना आदानप्रदान गर्ने र समन्वयात्मक रूपमा काम कारबाही अघि बढाउने उल्लेख गरिएको छ। दुई देशबीच भएको सहमितबारे जारी गरिएको घोषणापत्रमा छलफल जारी रहने र ९० दिनभित्र सहमतिका अन्तिम सर्त स्वीकार गरी घोषणा गरिने जनाइएको छ।

मेक्सिकोको भूमि हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह नरोके प्रत्येक महिना उसविरुद्ध पाँच प्रतिशतका दरले भन्सार शुल्क बढाउँदै जाने ट्रम्पले चेतावनी  दिएका थिए।

मेक्सिकोले अघि बढाउने कारबाहीले सोचेअनुरूप परिणाम नदिए थप उपाय अपनाउन सकिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ। तर के कस्ता उपाय अपनाउने भन्नेबारे भने खुलाइएको छैन।

अमेरिका र मेक्सिकोबीच भएको छलफल र त्यसमा भएका उपलब्धीबारे पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मेक्सिकोका विदेशमन्त्रीले सहमति उचित र सन्तुलित भएको बताएका छन्। अमेरिकी विदेशमन्त्री स्टिभन मनुचिनले एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सम्झौताबाट आफूहरु प्रसन्न रहेको प्रतिक्रिया दिएको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ।

‘अमेरिका–मेक्सिकोबीच शुक्रबार भएको सम्झौता निकै महत्त्वपूर्ण छ र आप्रवासीका विषयमा सहयोग गर्न मेक्सिकोले गरेको प्रतिबद्धताको हामी कदर गर्छौं,’ उनले भने।

कुन सामानमा भन्सार बढाउन लागिएको थियो ?
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेअनुरूप मेक्सिकोबाट अमेरिका पुग्ने चारपांग्रे सवारीसाधन, मदिरा, फलफूल र तरकारीमा आयात शुल्क बढाउन लागिएको थियो। प्रत्येक महिना पाँच प्रतिशतको दरले त्यो शुल्क बढ्दै जाने तयारी वासिङ्टनले गरेको थियो। अक्टोबर महिनामा २५ प्रतिशत पुग्दासम्म कर बढाइराख्ने ट्रम्पले चेतावनी दिएका थिए।

चीन र क्यानडापछि मेक्सिको अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। यद्यपि चीन र क्यानडाजस्ता ठूला व्यापार साझेदारसँग पनि अमेरिकाको विवादमा कायम नै रहेको छ।

चीन र अमेरिकाले एकअर्काका सामानमा कर वृद्धि गरिरहेका छन्। पटकपटक भएको दुई पक्षीय व्यापार वार्ता सफल नभएपछि वासिङ्टन र बेइजिङ कर वृद्धिमा लागिरहेका छन्, जसले गर्दा विश्व व्यापार नै धरासायी हुनसक्ने भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेका छन्। केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले यदि चीनले व्यापार सम्झौता नगरे थप तीन खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा थप कर वृद्धि गर्ने चेतावनी दिएका थिए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App