१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोबाइल फोन राम्रो नलाग्ने गाउँमा सडक कालोपत्रे

मिक्लाजुङको कन्याटार । तस्बिर: गिरिराज/नागरिक

कन्याटार (पाँचथर)– जिल्लाको दक्षिणी मिक्लाजुङ गाँउपालिका–६ को कन्याटारका बासिन्दा शुक्रबार विहानको चिसोमा चियाको चुस्कि लिदैं बाटो कालोपत्रे भएपछि यो ठाँउ स्वर्ग बन्ने धारण सुनाउँदै थिए। राँके– भेडेटार सडक खण्डमा पर्ने उक्त चिटिक्क सानो ग्रामिण बजारमा बासिन्दाहरु यो क्षेत्रका विकास अनेकन अपेक्षाहरु सुनाउँछन्।

सदरमुकामदेखि निक्कै टाढा पर्ने यो ठाँउ प्राकृतिक रुपमा सुन्दर छ। तर विकासका पूर्वाधारको अभावले समस्या पारेको थियो। संघीयता कार्यान्वयसँगै प्रदेश र स्थानीय सरकारको सक्रियता, प्राविधिक फड्को तथा ठुलो योजनाले यहाँका बासिन्दा विकास केहि योगदान पुगिहाल्छ कि भन्ने अपेक्षा राखिरहेका छन्। यहाँ राम्रोसँग मोबाइल फाेन टिप्दैन। तर यहाँका घर-घरमा इन्टरनेट जोडिएको छ। सोलारको माध्यमबाट यहाँका बासिन्दा इन्टरनेटको सहयोगले देशविदेश सम्पर्क राख्ने र नयाँ जानकारी लिइरहेका छन्।  कन्याटार आसपासका ग्रामिण क्षेत्रमा नीजि इन्टरनेट प्रदायक कम्पनीले सुविधा दिएको छ। सामुदायिक भवन, खानेपानी, सडकलगायतका पूर्वाधार विकासका कारणले गर्दा यहाँका बासिन्दाहरु केहि हौसिएको देखिन्छ।

कन्याटारसँगै रहेका लेकगाँउ, कम्फूटार, खान्दु्रङ, सिक्देम्बालगायतका क्षेत्रका बासिन्दाहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा प्रविधिको विकास ह्वातै बढ्ने अपेक्षा राखिरहेका छन्। यी ठाँउहरु पर्यटन विकास गर्न सकिने भएको भन्दै पोखरीलगायतका विभिन्न पूर्वाधारहरु बन्दैछ। ‘विकासका केहि काम अघि बढेका छन्। दिर्घकालीन महोत्सवका योजनाहरु अघि सार्न पाए ग्रामिण क्षेत्रमा ठुलो राहत पुग्ने थियो’ स्थानीय श्री राईले भने ‘ग्रामिण क्षेत्रका बासिन्दा अडिने किसिमको कार्यक्रमहरु थपिन आवश्यक छ ।’

राँके–भेडेटार सडकले यहाँका धेरै ग्रामिण क्षेत्र भेट्छ। यहि सडकलाई आधार बनाएर गाँउ गाँउमा शाखा सडकहरु लगिएको छ। कालोपत्रको ठेक्का लागेर काम भइरहेकाले स्थानिय स्तरमा उत्साहमा वृद्धि भएको छ। तराई तथा सदरमुकामलगायत पुग्न सजिलो हुने अपेक्षा छ। अहिले पनि यहाँका बासिन्दा वर्र्षा याममा सदरमुकाम फिदिम जानलाई चार जिल्ला घुम्न बाध्य छन्। झरीले बाटो बिगारेपछि ६ नम्बर बुधवारेबाट धनकुटा, मोरङ, झापा, इलाम हुँदै फिदिम पुग्नेपर्ने हुन्छ। हिउँदमा यो क्षेत्रमा धरान–रवि बस चल्छ। गाँउ–गाँउमा जिप सञ्चालनमा छन्।
केन्द्रीय प्रसारण लाइनको विद्युत आवश्यक रहेको कन्याटारबासि भविन्द्र बन्जरा बताउँछन्। केन्द्रीय प्रसारणको विद्युतको काम अघि बढेपनि ढिलाई भएको छ। भवन, सडक, पर्यटकिय पूर्वाधार लगायतको विकास चाँडै हुने आशा यहाँका बासिन्दाको छ।

तराईका विभिन्न जिल्लामा यहाँका मानिसहरु बसाई सरेर गएका छन्। यहाँका धेरैजसो मान्छेको तराइमा घर भएको पाइन्छ। सडक कालोपत्रे भएपछि यहाँका अनेकन पर्यटकिय क्षेत्रमा घुम्न आउनेको संख्या बढ्ने अपेक्षा यहाँका बासिन्दा सुनाउँछन्। मिक्लाजुङ डाँडा, लेकगाँउ, कन्याटरलगायका रमणिय क्षेत्रमा पर्यटक आउने सपना यहाँका बासिन्दा देखिरहेका छन्। तालको निर्माण, होमस्टे तथा अन्य पर्यटकिय पूर्वाधारका कामहरु भइरहेको लेकगाँउका सञ्जय राई बताउँछन्। राज्यले पर्यटनको क्षेत्रमा विशेष ध्यान दिएर अघि बढ्नु पर्ने उनको भनाई छ।

यो क्षेत्रमा उत्पादन हुने कृषि उपचलाइ विक्रि वितरणका लागि सहजत छ। तराइका बजार लैजान सहज छ। पहाडको लेकाली क्षेत्रमा भएको उत्पादनलाई तराई तथा सहर क्षेत्र विशेष मन पराइने गरिन्छ। तरकारी, फलफुल तथा अन्य खाद्यान्नको उत्पादन हुने गर्छ। कृषि क्षेत्रमा वृहत्तर लगानीको अवाश्यकता रहेको स्थानीय शिक्षक घनश्याम घिमिरले बताउँछन्। गाँउमा युवाहरुलाई अड्याउने कार्यक्रम आउन सके गाँउमा विकासका विभिन्न आयामहरु सृजना हुने उनको भनाई छ।

थम्किला डाँडाहरु, वन क्षेत्र, तालपोखरीले भिरिएको यी ग्रामिण क्षेत्रका बासिन्दाहरु कृषि, व्यापार तथा घरेलु उद्यममा सक्रिय छन्। स्थानीय तथा प्रदेश सरकारले स्थानीय आवश्यकतालाई बुझेर राम्रो कार्यक्रम ल्याउनुपर्ने उनीहरुको भनाई छ। सडक, प्रविधि तथा अन्य विकासले यो क्षेत्रमा राम्रै प्रगती हुने स्थानीयको आशा छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App