१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीपले सक्षम भुजेल समुदाय, बासको चिन्ता

पुख्र्यौली पेसा सिकेका नवलपुरको गैंडाकोटका भुजेल समुदायका महिला बाँसबाट डालो बनाउँदै। तस्बिर: सविता/नागरिक

चितवन - वन आडैको सानो बस्ती हो कबुलियती भुजेल टोल। टोलमा जम्मा आठ भुजेल घरधुरी छन्। नवलपुरको गंैडाकोट नगरपालिका–३ को ढोडेनी जाने बाटोनजिकै यो बस्ती रहेको छ। बस्ती पहिरोमा परेपछि उनीहरू तनहुँको तत्कालीन छिपछिपे गाविस–८ को झाँक्री टोलबाट करिब २२ वर्षअघि चार घरधुरी नवलपरासीको जेठी आँपभीरमा आएर बसेका थिए। त्यहाँ पनि पहिरोले दुःख दिएपछि फेरि बास सर्नुपरेको सुकबहादुर भुजेल बताउँछन्।

जेठी आँपभीरबाट अहिलेको भुजेल टोलमा आएको १३ वर्ष पुगिसक्यो। चार घरधुरीबाट छोराहरू छुट्टफुट्ट हुँदा आठ घरधुरी भए। बस्तीका सबैमा पुख्र्याैली सीप छ। त्यही सीप उनीहरूको जीविकोपार्जनको आधार बनेको छ। टोलका सबैजना बाँसबाट डालो, नाङ्लो, फुर्लुङ (माछा मार्ने) र सोली (कोसेली बोक्ने) बनाउँछन्। ३४ वर्षीया सुकमाया भुजेलका चारजनाको परिवार यही पेसाले चलेको छ।

पति कहिलेकाहीँ ज्याला, मजदुरीका लागि बाहिर गए पनि अरू समय सुकमायासँगै पुख्र्यौली सीपको काम गर्छन्। एक घना बाँसघारी १ सय ५० देखि २ सय रुपैयाँसम्म तिरेर किन्ने गरेका छन्। एउटा राम्रो बाँसबाट चारवटासम्म डालो बनाउँछन्। गाउँमा बेच्दा १ सय ५० देखि दुई सय रुपैयाँ पाउने गरे पनि पसलमा बेच्दा १ सय १० देखि १ सय २० रुपैयाँसम्म पाइने सुकमायाले बताइन्। सबैभन्दा धेरै सोलीको पाउँछन्। एउटाको चार सय रुपैयाँसम्म हात पर्ने उनी बताउँछिन्। उनी आफूले बनाएका सामग्री बिक्री गर्न नवलपुरको कावासोती र चितवनको ज्योतिनगरसम्म जाने गरेकी छिन्।

असोजदेखि फागुनसम्म नाङ्लो बनाउने उनीहरू वर्षभरि नै डालो बनाउँछन्। कुखुराको खोरमा डालोको प्रयोग बढी हुने भएकाले जुनसुकै समयमा बिक्री हुने २७ वर्षीय सपना भुजेल बताउँछिन्। यही पेसाले दुई छोरी र एक छोरासहित पाँचजनाको परिवार चलाएको उनले बताइन्। उनीहरू दुई÷तीन महिनाको अवधिमा ५० देखि सय थानसम्म बनाएपछि मात्र बजार लैजाने गर्छन्। बिक्री गर्न नारायणगढ लैजाने गरेका छन्। ‘वर्षैभर बनाइराख्ने हो।

यो नबनाई खानै पाइँदैन,’ उनी भन्छिन्। सपनासहित टोलका चारजना महिलाका पति रोजगारीको सिलसिलामा काठमाडौंमा छन्। घर आएका बेला पतिले पनि बाँसका सामान बनाउने काम गर्ने सपना बताउँछिन्। पुख्र्यौली पेसाले दैनिक छाक टरे पनि उनीहरूलाई बासको चिन्ता छ। कबुलियती वन फाँडेर बसोबास गरेका टोलवासीले फाँडेको जमिनमा मकै, कोदो लगाउने गरेका थिए। ‘वनले अब मकैकोदो लगाउन पाइँदैन, घर मात्र बनाएर बस भनेको छ,’ सुकमायाले भनिन्, ‘अब के गर्ने हो कता जाने हो भनेर जिल्ल परिरहेका छौं।’

बस्दै आएको ठाउँबाट बिस्तारै हिँड्नुपर्ने बाध्यता आउने भए पनि जाने ठाउँ नहुँदा भुजेल टोलवासी समस्यामा छन्। पुख्र्यौली पेसाले घर चले पनि बस्दै आएको ठाउँ छाडी अन्यन्त्र जाने ठाउँ नभएको उनले बताइन्। बसिरहेको बस्तीमा पनि केही सुविधा छैन। खानेपानी लिन डाँडा काटेर जानुपर्छ। बिजुली भए पनि बिग्रिएर बत्ती बाल्न नपाएको १ महिना भइसक्दा पनि नबनेको उनी बताउँछिन्। नजिक स्कुल नहुँदा ७ वर्षको भएपछि मात्र छोरालाई स्कुल पठाएकी थिइन्। ११ वर्षीय छोरा अहिले ४ कक्षामा पढ्छन्। ७ वर्ष पुगेकी छोरीलाई १ घन्टा हिँड्नुपर्ने भएकाले उनले स्कुल पठाएकी छैनन्। टोलका ७ वर्षभन्दा मुनिका बालबालिका अहिलेसम्म विद्यालय गएका छैनन्। ‘सक्ने जान्छन्, नसक्ने घरै बसिराखेका छन्,’ उनले भनिन्, ‘स्कुल जाने उमेर भए पनि अलि ठूलो नभएसम्म स्कुल पठाउँदैनौं। ’

नजिकैको भुजेल टोललाई समेत समेटिने गरी स्कुल भवन बनाइए पनि पढाइ सुरु भएको छैन। नजिक विद्यालय भए ५ वर्ष पुग्नलाग्दै छोराछोरीलाई स्कुल पठाउन हुने सुकमायाले बताइन्। कबुलियती वनको जग्गामा बस्न हुँदैन भनेर थाहा पाए पनि छाडेर जाने ठाउँ नै नभएको उनी बताउँछिन्। ‘जग्गा किनेर बसौं भने केही उपाय छैन,’ सपना भन्छिन्, ‘अन्त गएर जग्गा किनौं भने पासमा रुपैयाँ छैन। कसैले पत्याउँदैन हामी जस्तालाई।’

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:११ मंगलबार

सीप भुजेल_समुदाय मजदुरी