१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फोहोर सोझै वन र नदीमा

भरतपुर महानगरपालिकाको फोहोर विसर्जन गरिने नारायणी नदीसँगै रहेको नगरवनक्षेत्र । तस्बिरः सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहोर संकलन हुन्छ। महानगरपालिकाले दैनिक संकलन गर्ने फोहोर नारायणी नदी किनारमा विसर्जन गर्छ। वडा नम्बर ४ मा रहेको नारायणी नदी किनारमा भरतपुरको फोहोर डम्पिङ गर्न थालेको नौ वर्ष भयो। त्योभन्दा अघि भरतपुरको फोहोर बरन्डाभार क्षेत्रमा रहेको जलदेवी सामुदायिक वनमा विसर्जन गर्ने गरिन्थ्यो। फोहोर व्यवस्थापनका लाक्त पूर्वाधार तयार नभएको र वन क्षेत्रमा फोहोर फाल्न नहुने भन्दै विरोध भएपछि महानगरपालिका क्षेत्रको फोहोर नारायणी किनारमा थुपारिन थालिएको हो।

पहिले नारायणगढको पुल्चोकदेखि पश्चिमतर्फ नारायणी किनारमा रहेको जमिनमा फोहोर व्यवस्थापन गर्दै आइएको महानगरपालिकाका वातावरण शाखा प्रमुख इन्जिनियर विराट घिमिरे बताउँछन्। अहिले पनि भरतपुरको सबै फोहोर नारायणी नदीले बनाएको टापु क्षेत्रमा रहेको नगरवनको पश्चिम भागमा विर्सजन गर्ने गरिएको छ। दैनिक गरिने फोहोर विसर्जन त्यहाँ स–सानो थुम्को नै बनेको छ।

नदी किनार र वन क्षेत्रमा विसर्जन गरिने फोहोर सोझै नारायणी नदीमा मिसिने गरेको छ। वर्षात्को समयमा भने नगर वनको दुवै तर्फबाट नदी बग्ने भएकाले फोहोर संकलन गर्ने सवारीसाधन त्यहाँसम्म पुग्न सक्दैनन्। वर्षात्को समयमा नारायणी नदी किनारकै जमिनमा फोहोर व्यवस्थापन गर्ने गरिएको घिमिरेले बताए। महानगरमा संकलन हुने फोहोरमा आधाभन्दा बढी फोहोर कुहिने फोहोर हुन्छ। कुहिने फोहोरलाई घरमा नै व्यवस्थापन गर्न मल उत्पादन गर्ने कार्यक्रमहरु सञ्चालन भइरहे पनि महानगरले व्यवस्थापन गर्नुपर्ने कुहिने फोहोरको मात्रा घट्न सकेको छैन। नदी किनारमा फोहोर व्यवस्थापन गर्नु गलत भए पनि बाध्यता रहेको वातावरण शाखा प्रमुख घिमिरे बताउँछन्। ‘गलत गरिएको छ, नदी किनारमा फोहोर विसर्जन गर्नुु बेठिक हो,’ उनी भन्छन्, ‘तत्कालका लागि अरू विकल्प छैन।’

भरतपुरको फोहोर व्यवस्थापनका लागि जलदेवी वनमा ल्यान्डफिल साइट बनाउन २०६८ फागुनमा करिब १५ बिघा जग्गा दिने निर्णय भएको थियो। त्यही स्थानमा अहिले कोरियाको सुडोकोन ल्यान्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनसँग सम्झौता गरेर महानगरको फोहोर व्यवस्थापन परियोजना सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।
घिमिरेका अनुसार कर्पोरेसनले महानगरपालिकामा संकलन हुने फोहोरको अध्ययन गरेर गुरुयोजना तयार गर्नेछ। त्यसपछि मात्र फोहोर व्यवस्थापन पूर्वाधार निर्माण हुनेछ। त्यसका लागि केही वर्ष लाग्नेछ। फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदासम्म नारायणी नदी किनार नै फोहोर व्यवस्थापन गर्ने स्थान हुनेछ।

चितवनमा सातवटा स्थानीय तह छन्। यहाँ उत्पादन हुने धेरैजसो फोहोर नदी र वन क्षेत्रमा विसर्जन हुँदै आएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिकाले वडा नम्बर ११ मंगलपुरनजिक रहेको पञ्चकन्या सामुदायिक वनमा फोहोर व्यवस्थापन गर्दै आएको छ। बजार क्षेत्रबाट दैनिक संकलन हुने १७ टन फोहोरमा ७० प्रतिशत जसो कुहिने फोहोर हुने गरेको नगरपालिकाका मेयर नारायण वन बताउँछन्। नगरपालिकाले कुहिने फोहोर छुट्याएर मल बनाउने मेसिन राखिसकेको भए पनि सञ्चालनमा आएको छैन। केही समयभित्रै कुहिने फोहोरलाई मल बनाउने र अरूलाई डम्पिङ गरिने उनले बताए। पूर्वी चितवन क्षेत्रमा रहेका चारवटै नगरपालिकासँग पनि सहकार्य गरेर काम गर्ने बारेमा छलफल अघि बढेको उनको भनाइ छ।

खैरहनी नगरपालिका मेयर लालमणि चौधरी नगर क्षेत्रमा डम्पिङ साइट स्थायी रूपमा नभएकाले फोहोर व्यवस्थापनमा समस्या भएको बताउँछन्। नगरपालिकामा दैनिक सात–आठ ट्याक्टर फोहोर उठ्ने गरेको छ। कुहिने फोहोरबाट ग्यास र कम्पोस्ट मल तयार गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा अघि बढाइएको छ। त्यसका लागि स्थान छनोट गरेर पूर्वाधार तयार गरिने मेयर चौधरी बताउँछन्। त्यो नबनुन्जेल केही वर्षलाई पुग्नेगरी वडा नम्बर ५ को गौचरणमा रहेको सार्वजनिक जग्गामा डम्पिङ साइट बनाइएको छ।

पूर्वी चितवनकै राप्ती नगरपालिकामा भने फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट छैन। डम्पिङ साइट बनाउन भनेर खोजी भएका स्थानमा स्थानीयबाट विरोध भएपछि नगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापन गर्न नसकेको मेयर प्रभा बराल बताउँछिन्। ‘बीचमा एक वर्ष जसो फोहोर संकलन ग-यौं, त्यो संकलन गरेर राख्ने डम्पिङ साइट भएन,’ उनले भनिन्, ‘अहिले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्नुस् भनेर छाडेका छौं।’ राप्ती नगरक्षेत्रमा दैनिक १२ ट्याक्टर जसो फोहोर उठ्ने गर्छ। अहिले स्थानीय टोल विकास संस्थाले बजार क्षेत्रका फोहोर आफैं संकलन गरेर ढुंग्रे खोला छेउछाउ लगेर गाड्ने गर्छन्। मेयर बरालका अनुसार नगरपालिकाले जापानी संस्थासँग मिलेर कुहिने फोहोरबाट मल बनाउने परियोजना सञ्चालन गर्ने भएको छ।

इच्छाकामना गाउँपालिकाले फोहोर व्यवस्थापन समिति गठन गरेर फोहोर संकलन गर्न गाडी किनेको छ। फोहोर संकलन केन्द्र पनि बनाएको छ। गाउँपालिकाले फोहोर संकलन गर्न भने सुरु गरेको छैन। गाउँपालिका क्षेत्रको मुग्लिन बजारको फोहोर व्यवस्थापनको काम भने स्थानीय क्लबलाई दिइएको गाउँपालिका अध्यक्ष गीता गुरुङले बताइन्। गाउँपालिकाले घरमा फोहोर छुट्याएर राख्न नियमित जनचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको छ। ‘मुग्लिनको फोहोर जथाभावी नफाल्न भनेका छौं,’ उनले भनिन्, ‘पहिले नदीमा फाल्थे, अहिले नदीमा नफाल्न र व्यवस्थापन गर्न भनेका छौं।’ बजार क्षेत्रमा संकलन गरिएको फोहोर डढाउने काम पनि हुँदै आएको उनले बताइन्। माडी नगरपालिकामा फोहोर संकलन गर्ने काम सुरु गरिएको छैन।

प्रकाशित: २० जेष्ठ २०७६ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App