१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

किन आवश्यक छ राष्ट्रिय सुरक्षा विश्वविद्यालय ?

काठमाडौं – सरकारले राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय सुरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) स्थापना गर्ने घोषणा गरेसँगै यसको चर्चा सुरु भएको छ। उक्त विश्वविद्यालयको स्थापना गर्ने अवधारणा अनुसार सम्भाव्यता अध्ययन भएर बजेट भाषणमा आएको सुरक्षाविद्हरुको भनाइ छ।

कलेज स्थापना भए पछि नेपाली मात्र नभए विदेशीको लागि समेत सुरक्षा सम्वन्धी उच्च शिक्षा दिन सकिने छ। राष्ट्रिय सुरक्षाबारे उच्च शिक्षा दिने कलेज नेपालमा नहुँदा वर्षेनी यसमा रुची राख्नेहरु विदेश जाने पर्ने बाध्यता छ। विश्वविद्यालयको स्थापना सँगै यो बाध्यता पनि हट्ने विश्वास छ। सुरक्षा निकायका अधिकारीहरु सुरक्षा सम्वन्धी कोर्ष गर्नको लागि विदेश जानु पर्ने बाध्यता समेत यसले हटाउने विश्वास गर्छन नेपाली सेनाका पूर्व जर्नेल सीवी गुरुङ। राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न सरकारले राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न ल्याएको कार्ययोजना समय सान्दर्भिक रहेको उनको बुझाई छ।

सेनामा बढुवाको लागि समेत यस्ता विश्वविद्यालयमा अध्ययनको आवश्यकता पर्छ। नेपाली सेनामा उपरथीमा बढुवाको लागि एनडिसी कोर्ष अनिवार्य छ। नेशनल डिफेन्स कोर्श (एनडिसी) गरेको सहायकरथीले मात्र उपरथी (मेजर जनरल) मा बढुवा पाउँछ।

राष्ट्रिय सुरक्षका विषयमा परराष्ट्र नीतिदेखि प्रतिरक्षा नीतिसम्म, आर्थिक नीतिदेखि खाद्य सुरक्षा नीतिसम्म पर्छन्। तर, यति महत्वपूर्ण नीतिका सम्बन्धमा शिक्षा दिने क्याम्पस–विश्वविद्यालय हालसम्म देशमा स्थापना भएको छैन। सरकारले बजेट भाषणमा उक्त विश्वविद्यालय स्थापना गर्नको लागि आवश्यक प्रक्रिया अघि बढाइने घोषणाले नेपाली सेना लगायत अन्य सुरक्षा नियकायलाई राष्ट्रिय सुरक्षाको विषयमा जानकारी लिन सजिलो हुने गुरुङको बुझाई छ।

पूर्व जर्नेल गुरुङ्गका अनुसार सबै प्रक्रिया पुर्‍याएर बजेट भाषण मार्फत सरकारले विश्वविद्यालय खोल्ने घोषणा गरेर राष्ट्रिय सुरक्षाको विषयमा ठूलो निर्णय गरेको छ। उनले राष्ट्रिय सुरक्षाको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका विशिष्ट श्रेणीका प्रहरी र मन्त्रालयका सह–सचिव वा सचिवलाई यो विषयमा जानकारी गराउनु पर्ने बताए।

उनले भने, ‘यी क्षेत्रमा रहेका विशिष्ट श्रेणीका अधिकारीहरुलाई एकै थलोमा जम्मा गराएर राष्ट्रिय सुरक्षाको विषयमा एक वर्षसम्म तालिम गराउँदा धेरै प्रभावकारी हुन्छ।

शिक्षाविद् मनप्रसाद वाग्लले अन्य विश्वविद्यालयमा पढाइ हुने विषय भन्दा यो विश्वविद्यालयमा फरक किसिमको पढाइ हुने बताए । उनले भने, रक्षा र सुरक्षासँग जोडिएर यो विश्वविद्यालयमा नेशनल डिफेन्स कोर्शको विषयमा पढाइ हुनेछ ।’
उनका अनुसार धेरै मुलुकमा नेशनल डिफेन्स कोर्शमा पढाइ हुने गरेकोले नेपालमा पनि त्यसको आश्यकता परेकोल ेविश्वविद्यालय खोल्ने प्रक्रिया आगाडि बढाइएको हो ।
उनले भने,‘ यस विश्वविद्यालयमा शान्ति सुरक्षा, हात हतियार, युद्ध,बम बारुद लगायतको विषयमा विद्यार्थीहरुलाई जानकारी गराइने छ ।’ उनका अनुसार यस प्रकारका विश्वविद्यालयले शान्ति सुरक्षाको लागि सुरक्षा गार्डदेखि उच्च तहका सुरक्षाकर्मी उत्पादन गर्ने गर्छन् ।
त्यस्तै अनुसन्धान तथा सरकारको उच्च तहको नेतृत्वलाई यस प्रकारका विश्वविद्यालयले राष्ट्रिय सुरक्षाको निम्ति तालिम दिने हुँदा सहयोग पुग्ने उनको वुझाई छ।

उच्च सैनिक अधिकारीहरुको करिअर विकासका लागि अनिवार्य बनेको एनडिसी कोर्श अध्ययनका लागि सैनिक अधिकारीहरु विदेश जाने गर्छन्। नेपाली सेनाले विभिन्न सात देशमा आफ्ना अधिकारीहरुलाई यो कोर्ष अध्ययनको लागि पठाउने गरेको छ।

चीन (४ जना), अमेरिका (२ जना), पाकिस्तान (२ जना), भारत, बेलायत, नाइजेरिया र बंगलादेश (१÷१ जना) छन्।

विश्वविद्यालय स्थापना सँगै विदेशीहरुलाई समेत डिफेन्स सम्बन्धी उच्चस्तरीय शिक्षा प्रदान गर्न सकिने पूर्व गुरुङ्गको भनाई छ।

त्रिभुवन विश्वविद्यालय लगायत अहिले नेपालमा ८ वटा विश्व विद्यालय छन्। रक्षा मन्त्रालयले अघि सारेको यो राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापनापछि ९ वटा विश्वविद्यालय हुनेछन्। यो नितान्त नयाँ सोचको विश्वविद्यालय हुने छ।  रक्षा मन्त्रालयले केही महिनाअघि ‘नेशनल डिफेन्स कलेज र नेशनल डिफेन्स विश्वविद्यालय स्थापनागर्ने उद्देश्यका साथ खाका तयार गरेर सरकारलाई बुझाएको थियो।

प्रकाशित: १६ जेष्ठ २०७६ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App