१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जीविकोपार्जनमा सघाउन गाईको बाच्छी वितरण

किसानलाई गाईको ब्याउने बाच्छी वितरण गर्दै रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी। तस्बिर : सविता/नागरिक

चितवन - रत्ननगर नगरपालिका–१२ ले जीविकोपार्जनमा सघाउन गाईका बाच्छी वितरण गरेको छ। गाईको बाच्छी तथा दूध उत्पादनमा अनुदान वितरण कार्यक्रमअन्तर्गत गाईका बाच्छी वितरण गरेको हो। पशुपालन गर्न सक्ने भए पनि पशुमा लगानी गर्न नसककेका पाँच परिवारलाई छनौट गरेर बाच्छी प्रदान गरिएको वडाध्यक्ष वीरबहादुर पाख्रिन बताउँछन्।

बाच्छी तथा दूध उत्पादनमा अनुदान उपभोक्ता समिति गठन गरेर पशुपालन गर्न इच्छुक र धेरै रकम हालेर गाई खरिद गर्न नसक्ने परिवार छनौट गरिएको उनले बताए। ‘गाई खरिद गरेर पाल्न नसक्ने परिवारलाई समेटेका छौं,’ उनले भने, ‘अहिले घरमा एउटा पनि बस्तुभाउ नभएका परिवारलाई पशुपालनमा ल्याउन लागिएको हो।’ एउटा गाईका लागि वडा कार्यालयले ३५ हजार लगानी गरेको छ। गाई प्राप्त गर्ने परिवारका तर्फबाट १० हजार गरी ४५ हजार रुपैयाँका बाच्छी वितरण गरिएको वडाध्यक्ष पाख्रिनले बताए।

परिवारका तर्फबाट रकम राख्न लगाउँदा उनीहरुको पनि लगानी पर्ने भएकाले किसानले गाईको राम्रो स्याहार गरेर आम्दानी लिने उनी बताउँछन्। पाँचवटै परिवारलाई ब्याउने बाच्छी वितरण गरिएको हो। वितरण गरिएका गाईको बिमासमेत गरिएको छ। गोकर्ण कार्की, मिरा विक, गोविन्द धिताल, संगिता बस्ताकोटी र भिमबहादुर तामाङका परिवारलाई गाई वितरण गरिएको छ।

चालु आर्थिक वर्षमा विनियोजित दुई लाख ५० हजार रुपैयाँ बजेटबाट गाई र केही किसानलाई दूध उत्पादनमा आधारित अनुदान वितरण गरिएको हो। आउने वर्ष यो भन्दा बढी बजेटको व्यवस्था गरेर धेरै किसान परिवारलाई बाच्छी वितरण गर्ने योजना रहेको उनले बताए। एउटा गाई पाल्दा हुने दूध उत्पादनले घर खर्च चलाउन सकिन्छ भनेर आर्थिक अवस्था कमजोर भएका परिवारलाई ब्याउने बाच्छी वितरण गरिएको वडाध्यक्ष पार्खिन बताउँछन्।

१७ किसानलाई दूध उत्पादनका आधारमा अनुदान वितरण गरिएको छ। एक वर्षमा २८ हजार पाँच सय लिटर दूध उत्पादन गरेका कृषक किशोर बगालेलाई नगद २५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ। पाँच हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने दुई कृषकलाई चार हजार दुई सय ५०, चार हजार लिटरभन्दा बढी उत्पादन गर्ने चार किसानलाई तीन हजार दुई सय ५० र तीन हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने १० किसानलाई दुई हजार दुई सय ५० रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान प्रदान गरिएको छ।

रत्ननगर नगरपालिका उपमेयर विमला दुवाडी पशुपालनमा नरहेका किसानलाई समेटेर गरिएको कार्यक्रम नगरका अरु वडाले पनि समावेश गर्नु उपयुक्त हुने बताउँछिन्। यसबाट किसान विस्तारै व्यावसायिक बन्न सक्ने उनले बताइन्। पूर्वाधार विकासमा मात्र जोड नदिई विकाससँगै कृषि र पशुपालनमा समेत लगानी गरेर नगर समृद्धितर्फ लैजान सकिने उनको धारणा छ। रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षमा ५८ लाख रुपैयाँ पशु विकास क्षेत्रमा बजेट विनियोजन गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख शालिकराम पौडेलले जानकारी दिए। त्यसमध्ये २८ लाख वडा कार्यालयमार्फत र ३० लाख रुपैयाँ नगरपालिकाको कार्यालयबाट पशुपालनका क्षेत्रमा खर्च गरिनेछ। नगरपालिकामा वृद्ध भएका पशु राख्न गौशाला निर्माण गर्न र पशुलाई सुत्केरी भत्ता दिनका लागि रकम प्रयोग गरिने उनले बताए। गौशाला निर्माणका लागि स्थान छनौट गरेर पूर्वाधार निर्माण गर्ने तयारी गरिएको छ। गाईभैंसीलाई दिने सुत्केरी भत्ता भने वितरण भइरहेको उनले बताए। एउटा पशुलाई पँच सय रुपैयाँका दरले सुत्केरी भत्ता वितरण गरिएको पौडेलले वताए।

प्रकाशित: १४ जेष्ठ २०७६ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App