१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगजनीको आरोपमा रेवानका अध्यक्षसिहत तीन पक्राउ

चितवन - पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–१२, गोन्द्राङमा राखिएको सडक बोर्डको दस्तुर संकलन केन्द्र (ढाट)मा शुक्रबार पेट्रोल छर्केर आगजनी गरिएको थियो। सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले सोही दिन गोकर्ण गिरीलाई पक्राउ गरेको थियो भने आइतबार खिलराज घिमिरे र कुलप्रसाद लामिछानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमध्ये गिरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष हुन्।

पक्राउ परेका तीनैजनालाई अभद्र व्यवहारमा संलग्न शीर्षकमा मुद्दा दर्ता गरी म्याद थपेर हिरासतमा राखिएको छ। भिडियो फुटेजका आधारमा पक्राउ गरिएका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए। उनका अनुसार भिडियोमा देखिने १५÷२० जनाको खोजी कार्य भइरहेको छ। बिहान ११ बजे करीब ४० जनाको समूहले ढाटमा पेट्रोल छर्केर आगजनी गरेका थिए। आगजनीमा परी प्रहरी सहायक निरीक्षक कल्पना पौडेल घाइते भएकी छिन्। घाइते पौडेलको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हातखुट्टा र शरीरमा चोट लागेको छ। घटना भएको समयमा प्रदेश ३ का सांसद कृष्ण खनाल पनि उपस्थित थिए।

पक्राउ पर्नेमध्ये गोकर्ण गिरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष हुन्।आगजनीमा परी प्रहरी सहायक निरीक्षक कल्पना पौडेल घाइते भएकी छिन्।

आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वदलीय बैठकले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने निर्णय गरेको छ। दस्तुर संकलन केन्द्रमा दस्तुर लिने विषयलाई लिएर भएको विवाद र त्यसपछिको आगजनी तथा तोडफोडको घटनाप्रति निन्दा व्यक्त गर्दै बैठकले घटनाको अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी कारबाही गर्ने निर्णय गरेको हो। आगलागीमा परी सख्त घाइते भएकी पौडेलको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षले बेहोनुर्पे निर्णय बैठकबाट गरिएको छ।

यस्तै पूर्वी चितवनका सर्वसाधारणले पटकैपिच्छे दस्तुर बुझाउनुपर्दा एउटै जिल्लाभित्र सडक दस्तुरको भारले विभेद सिर्जना भएको, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित भएकाले सवारीसाधन रोकेर दस्तुर संकलन गर्दा वन्यजन्तुको आवागमनमा समेत अवरोध पुगेको र जिल्लाको मध्यभागमा अवस्थित हुँदा सधैं स्थानीय र ठेकेदार पक्षबीच दस्तुर संकलनका विषयलाई लिएर विवाद चर्किने भएकाले शान्ति सुरक्षामा समेत असर पर्न गएको निष्कर्ष बैठकले निकालेको छ।

दस्तुर संकलन केन्द्रलाई चितवनको पूर्वी सिमानाको जिरो माइल राप्ति नगरपालिका–४ को शिवपुर (लोथर)मा स्थानान्तरण गर्न गृह मन्त्रालयमार्फत सिफारिस गरी पठाउने निर्णय बैठकमा भएको छ। सो केन्द्रबाट स्थानीयसँग दस्तुर संकलन गर्ने सन्दर्भमा यसअघिको पुरानो ठेक्कामा भएको सहमतिका आधारमा व्यावहारिक रूपमा उपलब्ध गराइएको छूट सुविधालाई हालका संकलनकर्ताले समेत निरन्तरता प्रदान गर्ने निर्णय गरिएको छ।

सडक बोर्डले राखेको ढाट ठेक्का लगाएर निजी कम्पनीलाई दस्तुर संकलन गर्न दिइएको छ। ढाट दुई जिल्लाको सीमामा हुनुपर्ने प्रावधान भए पनि भरतपुरको गोन्द्राङमा राखिएको भन्दै यसअघि पनि समयसमयमा विरोध हुँदै आएको थियो। जेठ १ गतेदेखि ढाट सञ्चालनका लागि नयाँ कम्पनीलाई सडक बोर्डले ठेक्का दिएको थियो। ढाट सञ्चालनको जिम्मेवारी ब्रिटानिक मौलाकालिका कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले पाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App