१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिप्पर दुर्घटनामा २ को मृत्यु, चालक सकुशल

उदयपुर– उदयपुरमा आइतबार विहान भएको टिप्पर दुर्घटनामा परी सहचालकसहित दुईजनाको मृत्यु भएको छ। सिराहाको मिर्चयादेखि ओखलढुंगा जोड्ने सिद्धिचरचण लोकमार्गको कटारी–घुर्मी खण्डमा विहान भएको दुर्घटनामा सहचालक र अर्का एकजनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

लोकमार्गअन्तर्गत कटारी १४ को घुर्मी खण्डको घुर्मी लामीडाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटनामा पर्दा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ का २० वर्षीय लिलाबहादुर सार्की र टिप्परमा सवार कटारी नगरपालिका ५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको मृत्यु भएको हो। मृतकमध्ये सहचालक सार्की चालकका आफ्नै छोरा भएको बताइएको छ। 

४० वर्षीय चालक बाबु हर्कबहादुर सार्की भने सकुशल रहेका छन्। छोरा लिला र डिकबहादुरको शव सडकदेखि ५ सय मिटर तल भीर खोल्सामा मृत अवस्थामा अड्किएको अवस्थामा फेला परे पनि चालक बाबु भने सकुशल रहेको प्रहरीले जनाएको छ। लामीडाँडास्थित घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटना परेको टिप्पर सडकबाट झण्डै डेढ किलोमिटर तल बहादुरा खोलामा खसेको घटनास्थल पुगेको प्रहरी टोलीले जनाएको छ। 

मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ। सोलुखुम्बुस्थित सोलु हाइड्रोपावरका लागि मिर्चयाबाट सिमेन्ट लिएर जाँदै गरेको टिप्पर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। चालक सार्कीले उकालो सडकमा ब्याक गर्ने क्रममा सन्तुलन कायम गर्न नसक्दा दुर्घटना भएको प्रारम्भिक बयान दिएको बताइएको छ।  

इप्रका कटारीबाट खटेको असई कमाण्डको टोलीले घाइते चालकलाई उद्धार गरी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ। उनीसँग प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

लडेर बृद्धको मृत्यु

उदयपुरकै कटारी नगरपालिका १० थुम्कीमा अघिल्लो दिन एक बृद्धको भीरबाट लडेर मृत्यु भएको छ। खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ का ७९ वर्षीय नरबहादुर खड्काको शनिबार दिउँसो लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपालिका ९ स्थित छोरीको घरमा विहेमा सहभागी भएर घर फर्कने क्रममा लडेर ज्यान गएको हो। 

भीरबाट लडेका बृद्ध करिव २ सय मिटर तल मृत अवस्थामा स्थानीयले फेला पारेर प्रहरीमा खवर गरेका थिए। स्थानीयको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले मृतकको सर्जमिन मुचुल्का तयार गरी पोष्टर्माटमका लागि कटारी अस्पताल पठाएको थियो। शवको पोष्टमार्टम गरी आफन्तलाई जिम्मा दिइएको कटारी अस्पतालका डा. पवन साहले बताए।

प्रकाशित: ५ जेष्ठ २०७६ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App