१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थी रोक्न घर दैलो अभियान

मुगु - हरेक वर्ष जेठ महिना सुरु हँदा विद्यालयहरुमा पनि विद्यार्थीको संख्या न्युन हुँदै जानु र जेठ मध्यदेखि असार अन्तिमसम्म विद्यालय विद्यार्थी वीहिन बन्नु जिल्लाको पुर्वी करानमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाको नियती नै बनेको छ। यसको कारण हो हिमाली पाटन क्षेत्रमा यार्सा संकलन गर्न यस क्षेत्रका स्थानीयवासी बालबालिकासहित हिमाली पाटन क्षेत्रमा जाने गर्दछन।

यार्साको समयमा विद्यार्थी पाटन क्षेत्रमा जाने र हिउँदको समयमा चिसोका कारण बसाइँ सर्ने हुँदा करान क्षेत्रको शैक्षिक गुणस्तर विग्रिदै जान थाले पछि यो वर्ष भने विद्यार्थीहरुलाई विद्यालयमा टिकाई राख्न र विद्यालय जाने उमेर समुहका बालबालिकालाई हिमालमा नलैजान अनुरोध गर्दै घर दैलो अभियान गर्न सम्बन्धित विद्यालयलाई परिपत्र गरिएको मुगुम कार्मारोङ गाउँपालिकाका शिक्षा शाखाका प्रमुख शुवास रावलले जानकारी दिए।

शिक्षा नियमावली अनुसार समाजको परिस्थिती र अवस्थाअनुसार घुम्ती विद्यालय सञ्चालन गर्नु पर्ने प्रावधान छ। तर सरकारले व्यवस्था गरेको सेवा सुविधा शर्त बाहेक थप व्ययभार नपर्ने गरि घुम्ती विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था भए पनि अति उच्च र हिमाली क्षेत्रमा यार्सा संकलनका लागि बालबालिकासहित करान क्षेत्रका स्थानीयवासी जाने हुँदा घुम्ती विद्यालय सञ्चालन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ।

आर्थिक अवस्था कमजोर रहेको तथा वर्षभरिको कमाई एक डेढ महिनाको यार्सा संकलनबाट जोहो गर्न सकिने भएकाले पनि यस क्षेत्रका स्थानीयवासीले एक डेढ महिनाको पढाई भन्दा वर्षभरिको आम्दानी ठुलो मानेर बालबालिकालाई हिमालमा लैजाने गरेको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर २ मुगु गाउँका स्थानीय आँग्याल लामाले बताए। यो वर्ष जेठ १० गते देखि १४ गते सम्म वन प्रवेश अनुमति पत्र दिने र जेठ १५ गते बन प्रवेश गराइने गाउँपालिकाले जनाएको छ। जिल्ला भित्रका संकलकलाई बन प्रवेश शुल्क दुई हजार र जिल्ला बाहिरका संकलकलाई पच्चिस सय वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँ पालिकाले जनाएको छ।
 

प्रकाशित: ४ जेष्ठ २०७६ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App