१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिकौलीको ढाट हटाउन आगजनी

चितवन - पूर्व–पश्चिम राजमार्गअन्र्तगत भरतपुर महानगरपालिकाको गोन्द्राङमा राखिएको कर उठाउने ढाटमा शुक्रबार आगो लगाइएको छ। ढाटले स्थानीयसँग पनि शुल्क लिएको भन्दै विरोधमा उत्रिएको समूहले ढाटमा आगजनी गरेका हुन्। बिहान करिब १० जनाजतिको समूहले ढाटमा पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी बिट र ढाट नजिकै भएका कारण प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्। आगोले पोलेर घाइते भएकी खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हात, खुट्टा, शरीर र टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बताए।

सडक बोर्डले राखेको ढाट सञ्चालनका लागि ठेक्का लगाएर निजी कम्पनीलाई शुल्क उठाउन दिने गरेको छ। ढाट दुई जिल्लाको सीमामा हुनुपर्ने प्रावधान भए पनि भरतपुरको गोन्द्राङमा राखिएको भन्दै यसअघि पनि विरोध हुँदै आएको थियो। ढाट हटाउन माग गर्दै रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघले बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो।

शून्य दूरीमा पूर्व–पश्चिम राजमार्गको नारायणगढको पुल्चोक वा राप्ती नगरपालिकाको लोथरको पुलमा ढाट राख्नुपर्ने, दैनिक प्रशासनिक, उपभोग्य सामान, औषधि उपचार, कृषि सामग्री खरिद बिक्री गर्न आवतजावत गर्नेलाई शुल्क उठाउन बन्द गर्नुपर्ने, वन्यजन्तुको आवतजावत हुने (करिडोर) क्षेत्रमा वन्यजन्तुलाई असर पुग्ने कार्य गर्न नहुने माग राखेर उद्योगी–व्यवसायीले ध्यानाकर्षण पत्र बुझाएका थिए।

जेठ १ गतेबाट ढाट सञ्चालनका लागि नयाँ कम्पनीलाई सडक बोर्डले ठेक्का दिएको छ। गोन्द्राङको ढाटमा गत बुधबारदेखि नयाँ कम्पनी ब्रिटानिक मौला कालिका कन्सट्रक्सन एन्ड सप्लायर्सले ठेक्का पाएको छ। व्रिटानिक कन्सट्रक्सनले चालु आर्थिक वर्षमा यसअघिकै शुल्क लिने र आगामी आर्थिक वर्षमा शुल्कवृद्धि गर्ने तयारीसमेत गरेको छ। ढाटमा मोटरसाइकलको पाँच, जीप, भ्यानको २० र ठूला गाडीसँग ३० रुपैयाँ शुल्क उठाउने गरिएको छ। साउनदेखि लिने नयाँ दस्तुरमा बस, मिनीबस, ट्रक, मिनी ट्रकले सय रुपैयाँ, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरबाट ४० रुपैयाँ र तीन पाङ्ग्रे सवारीसाधन र मोटरसाइकलबाट दश रुपैयाँ दस्तुर लिने तयारी कम्पनीले गरेको छ।

नयाँ कम्पनीले दस्तुर उठाउन सुरु गरेपछि मात्र जानकारी पाएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत बताउँछन्। त्यसपछि नयाँ ठेकदारलाई बोलाएर यसअघिको ठेक्कामा स्थानीयसँग दस्तुर नलिने गरी व्यावहारिक सम्झौता गरिएको उनले जानकारी गराएका थिए। सहज ढंगले राजश्व संकलनका लागि स्थानीयसँग दस्तुर नलिन र लिएमा स्थानीयले विरोध र दबाब दिने बारेमा समेत उनले अवगत गराएका थिए।

ढाट चितवनको बीच भागमा भएकाले यसले पूर्वी चितवनवासीलाई भरतपुर आउजाउ गर्न दिनहुँ दस्तुर बुझाउनुपर्ने बाध्यता रहेको छ। स्वास्थ्य सेवा लिन, व्यापार–व्यवसाय गर्न र विविध कामका लागि दैनिक भरतपुर आउनुपर्ने मानिसलाई मर्का परेको भन्दै ढाट सार्नुपर्ने आवाज उठिरहेको प्रजिअ बस्नेतले बताए। ‘एउटै जिल्लाभित्र पनि पटकपटक दस्तुर तिर्नुपर्ने स्थिति सिर्जना भयो,’ उनले भने, ‘यो ठिक होइन भन्दै हामीले लिखित, मौखिक रूपमा सडक बोर्डलाई यसअघि धेरै पटक ध्यानाकर्षण गराइसकेको छौं।’

एउटै जिल्ला आउजाउमा असर परिरहेकाले ढाटलाई सारेर मकवानपुरसँग सीमा जोडिएको राप्ती नगरपालिकाको लोथरमा राख्नुपर्ने स्थानीयको माग रहेको उनले बताए। तथापि शुक्रबार अचानक ढाट जलाउने कार्य हुनुलाई उनले ‘कानुन हातमा लिने काम भएको,’ भएको बताए। सडकबाटै सबै विवाद समाधान गर्न खोज्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रजिअ बस्नेतले भने, ‘कानुन हातमा लिने, बल प्रयोग गर्ने कार्य राम्रो होइन। नीतिगत कुरालाई नीतिगत तहबाटै समाधान गरिनुपर्छ।’

प्रकाशित: ४ जेष्ठ २०७६ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App