१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इलाम र कन्याम बगान खुलाउन ‘आनाकानी’

इलाम - श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि बन्द पूर्वका चिया उद्योग श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गर्ने प्रतिबद्धतापछि धमाधम चालू हुँदैछन्। तर, इलामका सरकारी २ बगानको विषयमा भने अझैसम्म व्यवस्थापन पक्ष श्रमिकको माग पूरा गर्न ‘आनकानी’ गरिरहेको छ।

दर्जनौं निजीसहित झापाका ३ सरकारी उद्योग–बगान श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गर्ने सहमतिपछि खुलेपनि उही व्यवस्थापक रहेका इलाम र कन्याम अन्योलमै छन्। बिहीबार भएको वार्ता पनि व्यवस्थापनले ‘हामी माग पूरा गर्ने सूचना निकाल्छौं’ भनेपनि ठोस निष्कर्षमा पुग्न सकेन। झापाको बिर्तामोडस्थित नेपाल चिया विकास निगमको कार्यालयमा करिब १ घण्टासम्म भएको श्रमिक–व्यवस्थापन पक्षबीचको वार्तामा कन्याम र इलाम चिया बगान खुलाउनेबारे छलफल भयो। तर, बिहीबार साँझसम्म व्यवस्थापनले माग पूरा गर्ने सूचना ननिकालेको श्रमिक नेता रमेश खड्काले बताए।

‘व्यवस्थापन पक्षले हाम्रा माग पूरा गर्ने सूचना निकालेपछि मात्रै हामी काममा फर्किन्छौं,’ वार्तामा समेत सहभागी उनले बिहीबार साँझ भने, ‘अहिलेसम्म सूचना टाँस नहुँदा भोलिदेखि नै हामी काममा फर्किने सम्भावना छैन।’ तर, उनले शुक्रबार बिहानसम्ममा आफूहरूका माग पूरा भएको सूचना व्यवस्थापनले निकाले काममा फर्किने बताए।

झापाका ३ र इलामका ४ सरकारी चिया बगान–उद्योग २०५७ सालमा सरकारले त्रिवेणी सांघाई समूहलाई लिजमा दिएको छ। समूहले झापाका ३ र इलामका २ बगान–उद्योग खुलाइसकेपनि कन्याम र इलाम बगान खुल्न सकेका छैनन्। चिया बगान व्यवस्थापन पक्षले यी २ बगानमा आफूलाई घाटा भएको बताउँदै आएको छ। ‘तर, झापाका टोकला, बर्ने र बारादसी बगानजस्तै इलामका सोक्तिम र चिलिमकोट पनि खुलिसकेकाले इलाम र कन्याम खुलाउनेमा आशावादी छौं,’ खड्काले भने, ‘हाम्रा माग पूरा भए काममा फर्किन्छौं।’ इलाम चिया बगानको विषयमा पनि कन्यामपछि छलफल गर्ने व्यवस्थापन पक्षले बताएको खड्काले जानकारी दिए।

बिहीबारको वार्तामा व्यवस्थापक पक्षबाट चिया बगान प्रशासन प्रमुख लोकनाथ दंगाल सहभागी थिए। श्रमिकको तर्फबाट खड्कासहित श्रमिक नेताहरू सहीकुमार राई, सीता सापकोटा, दीपक तामाङ, विष्णु भट्टराई, नर्मदा निरौलालगायत सहभागी थिए। ‘वार्ता सकारात्मक नै भएपनि इलाम र कन्याम बगान खुलाउन व्यवस्थापनले अलि आनाकानी गरेझैं देखिन्छ,’ श्रमिक नेता भट्टराईले भने, ‘श्रमिकका माग पूरा भए मात्र बगान र उद्योग खुल्छन्, हामी काममा फर्किन्छौं।’

श्रमिकका माग २ दिनभित्र पूरा गर्न उद्योगी–व्यवसायीलाई निर्देशन दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट चिया श्रमिकसँग छलफलका लागि शुक्रबार नै इलाम आउँदैछन्। उनकै निर्देशनपछि उद्योगीहरूले श्रमिकलाई वार्तामा बोलाएर उनीहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अधिकतर उद्योग चालू भइसकेका छन्। ‘शुक्रबारसम्म माग पूरा भएन भने मन्त्री विष्टलाई यहीं भेटेर हामी पुनः आफ्नो समस्या दोहो¥याउनेछौं,’ श्रमिक नेता खड्काले भने। सरकारी चिया बगान व्यवस्थापन पक्षले चाहिँ कन्याम र इलाम बगान पनि श्रमिकको माग पूरा गरेर क्रमसः खुलाउने बताएको छ।

चिया श्रमिकले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन माग गर्दै गत चैत १७ यता आन्दोलन गरेका थिए। आफू कार्यरत उद्योग र बगान बन्द गरेर दिनहुँ आन्दोलन गरिरहेका श्रमिकसँग करिब डेढ महिनापछि उद्योगीहरू सहमत भएर बगान र उद्योग खुल्नेक्रममा छन्। सरकारले गत साउनदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ।

चिया कारखानामा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ४ सय २७ रुपैयाँ छ। तर, दुवैखाले श्रमिक झापामा दैनिक २ सय ७८ र इलाममा २ सय ६५ रुपैयाँमा काम गर्न बाध्य भएपछि उनीहरूले आन्दोलन चर्काएका थिए। अहिले अधिकतर उद्योगीले तोकिएको मितिदेखिकै ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App