१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छैराे गुम्बामा घ्यल्बोको पूजा खुला

बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङको सबैभन्दा पुरानो गुम्बामा यही साताबाट आम सर्वसाधारणका लागि पूजा खुला गरिएको छ। पूजा गर्न बौद्ध धर्मावलम्बीहरूको भीड लाग्न थालेको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो गाउँमा रहेको छैरो छहरा नामले चर्चित गुम्बा वैशाख २९ गतेदेखि आम सर्वसाधारणका लागि खुला गरिएको हो। गुम्बा खुला गरेपछि यहाँ धार्मिक पूजा चल्ने गरेको छ। सात सय वर्षभन्दा पुरानो यस गुम्बामा पूजाआजा गर्दा मनमा शान्ति हुने र आफूले चिताएको कुरा पूरा हुने जनविश्वाससमेत रहिआएको छ।
वर्षमा आठ महिना खुला हुने र चार महिना पूरै बन्द हुने यस गुम्बामा सबैभन्दा महत्वपूर्ण भगवान् घ्यल्बोको पूजापाठ मान्ने गरिएको छ। हिउँदको सिजनमा अत्यधिक चिसो बढ्ने र हिउँ पर्ने भएकाले पनि सबै पूजाआजाको कार्यक्रम बन्द गर्नुपर्ने गुम्बाका लामा राम थकाली बताउँछन्। ‘जाडो याममा यहाँ पूजा गर्न पनि सकिन्न। अधिक चिसोका कारण गतिविधि नै ठप्प हुन्छन्,’ थकालीले भने, ‘त्यसैले पनि बाह्रैमास यो गुम्बा खुला हुन सक्दैन।’

धार्मिक परम्पराअनुसार गरिँदै आएको पूजाआजा बाध्यताकै कारण चार महिनासम्म बन्द गर्नुपर्ने लामा थकालीको भनाइ छ। उनका अनुसार हिउँदमा अत्यधिक चिसो पनि हुन्छ र गाउँघरमा मान्छे पनि कमै मात्रामा भेटिन्छन्। अधिक चिसो हुने भएकाले गाउँलेहरू जाडो छल्न पोखरा तथा तलका सहरतिर झरेका हुन्छन्। त्यसैले गर्दा पनि पूजाआजाको काम बन्द गर्नुपर्ने बाध्यता रहेको उनले बताए। बेनी–कोराला सडकदेखि करिब ५–६ सय मिटर पारिपट्टि रहेको उक्त धार्मिक गुम्बामा यातायातका ठूला साधन सहजै जान सक्दैनन्। त्यहाँसम्म जानका लागि झोलुंगे पुल पार गर्नुपर्ने हुन्छ। करिब १० मिनेट पैदल यात्रा गरेपछि मात्र गुम्बामा पुग्न सकिन्छ।

‘उचित प्रचारप्रसारको कमीले गर्दा पनि गुम्बालाई बाह्रै महिना सञ्चालनमा ल्याउन सकिएको छैन,’ उनले भने। उनका अनुसार हिमाली जिल्ला मुस्ताङको यो नै सबैभन्दा महत्व बोकेको गुम्बा हो। घरपझोङ गाउँपालिका–५ ढुम्बमा रहेको कुछ्बु तेरङ गुम्बा र छैरो छहरा गुम्बाको महत्व अत्यधिक रहेको थकालीको भनाइ छ। धार्मिक महत्व र जनविश्वासकै कारण पनि आज उक्त गुम्बामा पूजा गर्नेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकोे लामा थकालीको ठम्याइ छ। ‘विशेषगरी गुम्बामा पूजापाठ गर्दा मनमा शान्ति हुने, आफूमा आत्मबल बढ्ने, समाज र छिमेकमा दिगो शान्ति हुने, गाउँघरलाई राम्रो हुने, परिवारमा शान्ति बढ्ने, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने र आफूले कुनै शुभ काम गरेको छ भने भाकल गर्दा शतप्रतिशत पूरा हुने जनविश्वास रहेको उनले बताए। यहाँ अष्टमी तिथि पारेर घ्यल्बो छेसिको पूजा सुरु गरिने र त्यही तिथि मिलाएर मंसिरमा बन्द गरिने चलन रहिआएको छ। त्यसैले पनि सबै मुस्ताङबासीलाई उनले एकपटक छैरो छहरा गुम्बामा आएर पूजाआजा गर्न आग्रह गरेका छन्।

धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको छैरो छहरा गुम्बामा अहिले स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढ्न सुरु भएको छ। करिब डेड महिनायता मुस्ताङमा अत्यधिक मात्रामा पर्यटक बढ्न थालेपछि ती स्थानमा समेत पर्यटकहरू देखिन थालेका हुन्। राजमार्गनजिक पर्ने भएकाले पनि जोमसोम जाने अधिकांश पयर्टक त्यो गुम्बामा पुग्नेगरेका छन्। यतिबेला गुम्बा अवलोकन गर्न आउने धार्मिक पर्यटक दैनिक रूपमा बढ्न थालेपछि विस्तारै गुम्बाको मुहार परिवर्तन भएको छ भने वसन्त ऋतु सुरु भएदेखि मुस्ताङको दैनिकीसमेत फेरिएको छ।

बेंसी झरेका मुस्ताङीहरू अहिले पर्यटकको व्यवस्थापन गर्नमै व्यस्त रहेको पाइन्छ भने उनीहरूको दैनिकीमा केही उतारचढाव आउन सुरु गरेको छ। पर्यटकको अत्यधिक चापले गर्दा व्यवसायीहरूलाई भ्याइनभ्याइ छ। तर, हिमालपारिको जिल्ला मुस्ताङ बौद्ध धर्मावलम्बीका लागि उपयुक्त गन्तव्य भए पनि जिल्लाबासी पूजाआजा गर्न अचेल कमैमात्रामा देखिने गरेको यथार्थ हो। यसैले पनि गाउँघरमा रहेका गुम्बाहरूलाई आवश्यक प्रचारप्रसार गर्न जरुरी रहेको छैरो छहरा गुम्बाका अध्यक्ष तथा छैटुङ सेशबहादुर गौचनले बताए।

उनले भने, ‘यहाँका धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरू कतिपय ओझेलमा परेका छन्। त्यसैले गुम्बा तथा मठमन्दिहरूलाई आवश्यक प्रचारप्रसार गर्नु जरुरी छ। सयौं वर्ष पुराना गुम्बाहरूलाई आवश्यक प्रचारप्रसार गरी देश विदेशबाट समेत पर्यटकलाई भिœयाउन सके मुस्ताङबासीलाई फाउदा हुने उनको विश्वास छ।

जिल्लास्थित सम्बन्धित सरोकारवाला निकायलाई धेरैपटक पुनर्निर्माणकार्यका लागि पहल गरे पनि सोचेजस्तो उपलब्धि हुन नसकेको गौचनले बताए। उनले भने, ‘यतिबेला हामीलाई गुम्बामा लामाको अति आवश्यक छ। गुम्बा लामाविहीन हुँदा टुहुरो भएको छ। विदेशी दातृ संस्थाहरूले जति आर्थिक सहयोग गरे पनि पारदर्शिता नहुँदा गुम्बाको पुनर्निर्माण हुनमा समय लागेको छ।’ करिब चार वर्षअघि गुम्बा पुनर्निर्माण गर्न पहल भए पनि अहिले बनाइएका संरचनाहरू उही पुरानो अवस्थामा आइपुगेको देख्दा दुःख लागेको उनले बताए। उनले भने, ‘अब छैरो गुम्बाको अत्यन्तै महत्व बोकेको घ्याल्बो छेसी पूजाको पनि चाँडोभन्दा चाँडो प्रचारप्रसार गर्न आवश्यक पहल गरिदिएमा पूरै छैरो गाउँबासीलाई सकारात्मक फाइदा पुग्ने उनले बताए। उनले भने, ‘हामीभन्दा ३–४ सय वर्षपछिका गुम्बाहरू अहिले कायापलट भइसकेका छन्। ढिला गरी प्रचारमा आएका धार्मिक गुम्बा प्रचारप्रसारकै कारण निकै नै परिचित भइसके,’ उनले भने, ‘तर हाम्रो सात सय वर्षभन्दा पुरानो गुम्बा ओझेलमा परेको देख्दा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण नभएको हो कि भन्ने लागेको छ।’

आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र रहेको बहुचर्चित धार्मिकस्थल मुक्तिनाथ यतिबेला सबैको नजरमा छ। तर हाम्रा गाउँगाउँमा लुकेर रहेका र शताब्दी पुराना र ऐतिहासिक गुम्बाहरू ओझेलमा रहेकोे देख्दा प्रचारप्रसारको कमीको महसुस गरेको वडा सदस्य आसबहादुर थकालीले बताए। उनले भने, ‘अब पुराना र महत्व बोकेका धार्मिकस्थलहरू पनि चाँडै नै प्रचारप्रसार हुनुपर्ने टड्कारो आवश्यकता रहेको छ।’ बाह्य देशहरूबाट आउने सहयोगको रकम पनि यस्तै सांस्कृतिक पूर्वाधारको पुनर्निर्माण र यिनै महत्व बोकेका संरचनामा खर्च गर्नुपर्ने उनले बताए। उनले भने, ‘छैरो गाउँ यसै पनि सानो छ तर यो गुम्बाको संरक्षणमा भने कोही अगाडि बढेको पाइँदैन।’ अब चाँडै नै यी र यस्ता सम्पदाको संरक्षणमा जुट्नुपर्ने उनी बताउँछन्।

छैरो गुम्बामा महत्वका साथ हेरिएको घेल्व छेसी पूजालाई जिल्लामा मात्र नभई सबै ठाउँमा प्रचारप्रसार गर्नुपर्ने बेला आएको समेत थकालीले बताए। यसको प्रचारप्रसार गर्न स्थानीय मात्र नभई सिंगो मुस्ताङ नै एकजुट हुनुपर्ने थकालीले बताए।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App