१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ब्रान्ड प्रवर्द्धनमा ‘कान्स’ माध्यम

गत वर्षको ‘कान्स फिल्म फेस्टिभल २०१८’मा बलिउड नायिका दीपिका पादुकोण। फाइल तस्बिर: एजेन्सी

मुम्बई – फ्रान्सको कान्समा मंगलबारबाट ७२ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१९’ शुरु भएको छ। यो फेस्टिभलमा विश्वका विभिन्न मुलुकका कलाकारसँगै भारतबाट पनि नाम चलेका सेलिब्रेटीहरूको उपस्थिति छ। यो फेस्टिभल सुरु हुनासाथ भारतीय अभिनेत्रीहरूको तस्बिर सामाजिक सन्जालमा निकै भाइरल हुन्छन्। कहिलेकाँही अभिनेत्रीहरू आफ्नो अनुहारका कारण पनि ट्रोलको शिकार बनेका छन्।

यो फेस्टिभल समापन नहुन्जेलसम्म अभिनेत्रीहरूको रेडकार्पेट वक र लुकका तस्बिर सामाजिक सन्जालमा आइरहन्छन्। भारतबाट कान्समा प्रतिनिधित्व गरेका अभिनेत्रीहरू आफ्नो फिल्म प्रदर्शनको लागि भने त्यहाँ पुगेका होइनन्। उनीहरू त्यहाँ गएर के गर्छन् भन्ने चासो उनीहरूका फ्यानमाझ निकै बढी छ।

भारतीय अभिनेत्रीहरू ऐश्वर्या राय बच्चन, सोनम कपूर, कंगना रनावतको उपस्थिति प्रत्येक वर्ष फेस्टिभलमा हुने गर्दछ। उनीहरूबाहेक भारतका केही अभिनेत्रीहरू चाहिँ छिटफुट रूपमा फेस्टिभलमा देखिन्छन्। अन्तर्राष्ट्रिय कस्मेटिक ब्रान्ड ‘लोरियल पेरिस’ले केही वर्षयता फेस्टिभलको ब्युटी पार्टनरका रूपमा सहकार्य गर्दै आएको छ। भारतमा ऐश्वर्या र सोनम यो ब्रान्डको ब्रान्ड एम्बासडर छन्। ऐश्वर्या, सोनम, दीपिकाजस्तै कंगना ‘ग्रे गोस भोड्का’को प्रतिनिधित्व गर्दै फेस्टिभलमा पुग्छिन्। यो भोड्का फेस्टिभलको प्रायोजक पनि हो।

यी अभिनेत्रीहरू कान्स आयोजकको निमन्त्रणामा त्यहाँ पुगेका होइनन्। उनीहरूलाई ब्रान्ड कम्पनीबाट निम्तो आएपछि त्यहाँ पुगेका हुन्। दीपिका पादुकोण र कटरीना कैफ पनि लोरियलकै प्रायोजनमा फेस्टिभलमा पुग्ने गर्दछन्। उनीहरूको काम नै त्यहाँ गएर ब्युटी प्रोडक्टको प्रवद्र्धन गर्नु हो। प्रत्येक वर्ष लोरियलले एक मोडलका रूपमा ब्रान्डको प्रवद्र्धन गर्न फेस्टिभलमा बोलाउने गर्दछ। अभिनेत्रीहरूको रेडकार्पेटवाला तस्बिरहरू फेस्टिभलको फिल्म वा प्रतिष्पर्धासँग कुनै सरोकार राख्दैन।

‘कान्स’मा पुगेका अभिनेत्रीहरूको त्यहाँ खासै ठुलो काम हुँदैन। उनीहरू त्यहाँ पुग्छन्। ब्रान्डको प्रोमोट गर्दै फोटो खिचाउँछन्। अनि रेडकार्पेटमा बिरालो चाल चाल्छन्। यो समयमा विश्वभरीका मिडियाले उनीहरूलाई समाचारमा कभर गर्छन्। उनीहरूलाई फिल्म निर्मातासँग अन्तरक्रिया गर्ने वातावरण पनि बनाइन्छ। साथै नयाँ फिल्म, निर्मातालाई आफ्ना योजना सुनाउने माहौल तयार पारिन्छ।

यो फेस्टिभलमा कैयौं पटक अभिनेत्रीहरूले ‘फेसन फर रिलिफ’को माध्यमबाट पर्यावरण र मानवीय कारणका लागि कोषमा रकम जम्मा गर्ने पनि गर्छन्। ‘फेसन फर रिलिफ’ लन्डनमा रहेको केयर नामक गैर नाफामूलक संस्थासँग सहकार्य गर्दै सञ्चालित कार्यक्रम हो। यो कार्यक्रममा जम्मा भएको रकम अन्तर्राष्ट्रिय च्यारिटेबल संगठनलाई दिइन्छ। संगठनले यो रकम कैयौं देशमा समस्या भोगिरहेका मानिसहरू समक्ष पु¥याउने काम गर्दछ।

‘कान्स फिल्म फेस्टिभल’लाई फिल्मको कुम्भ मेलाका रूपमा लिइन्छ। यो फेस्टिभलमा विश्वका अलग–अलग देश र भाषाका फिल्म तथा वृत्तचित्रलाई निमन्त्रणा गरिन्छ। त्यहाँ केही फिल्म प्रदर्शन पनि गरिन्छ। यो फेस्टिभलमा रेडकार्पेटसँगै कैयौं कार्यक्रमहरू पनि गरिन्छ। फेस्टिभलको समापनमा अलग–अलग निर्णायकले ‘बेस्ट फिल्म’को अवार्ड पनि दिन्छन्। यो फेस्टिभल ११ दिनसम्म चल्नेछ।

प्रकाशित: १ जेष्ठ २०७६ ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App