१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड

तोडफोडपछि वीरगन्ज श्रीपुरस्थित एभिन्युज टेलिभिजनको प्रदेश २ ब्युरो कार्यालयको गेट। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज श्रीपुरस्थित एभिन्युज टेलिभिजनको प्रदेश २ ब्युरो कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेका केही युवाले कार्यालयमा तोडफोड गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। तोडफोडमा फ्लेक्स, साइनबोर्ड, झ्यालढोका र क्यामेरा पर्सन जाकिर हुसैनको क्यामरामा क्षति पुगेको छ।

समाजवादी पार्टीका स्थानीय कार्यकर्ताले उक्त तोडफोड गरेको एभिन्युज खबर, पर्साका संवाददाता हरिशंकर शर्माले बताएका छन्। ‘हामी भित्र बसेर काम गरिरहेका थियौं, अचानक गेटमा प्रहार भएको आवाज सुनियो, सिसा फुट्न थाल्यो,’ एभिन्युजकर्मी शर्माले भने, ‘हामी तीनजना थियौं, आत्तियौं, सिसा फुटेर सिसौको मोटो लौरो भित्र आयो, मैले निस्केर फलामे च्यानल गेट बन्द गरें।’ केही मिनेटपछि निस्केर हेर्दा आठ÷दशजना मानिस बाहिरतिर उभिएको देखेको र त्यसमध्ये समाजवादी पार्टीका केही कायकर्ता रहेको आफूले चिनेको शर्माले बताए।

एक दिनअगाडि एभिन्युज टेलिभिजनमा अन्तर्वार्ताको क्रममा प्रश्नकर्ता पत्रकार र अतिथि निम्त्याइएका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवबिच विवाद भएको घटनाको प्रतिक्रियास्वरूप यो घटना घटाइएको उनको बुझाइ छ। घटास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाललगायतले निरीक्षण गरेका छन्। पत्रकारितासम्बद्ध संघसंस्थाका अगुवाले विरोध जनाएका छन्। प्रहरी उपरीक्षक ढकालले संलग्नहरूको खोजिकार्य भइरहेको बताए।

प्रकाशित: ३१ वैशाख २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App