हिमाली जिल्लाको होमस्टे अन्याेलमा

सोमबार, ३० बैशाख २०७६, १४ : ३४ सुशील थकाली

पछिल्लो समय पर्यटकको बढ्दो चापलाई थेग्न नसक्ने मुस्ताङको होटल तथा रेस्टुरेन्टको विकल्पमा होमस्टेको अवधारणा अगाडि सारिएको थियो। त्यही अनुसार यहाँका केही गाउँले होमस्टे सञ्चालनको तयारी पनि थालेका थिए। तर, ती होमस्टे सञ्चालनको तरखरमा रहेका ती गाउँ यतिबेला निकै नै अन्योलमा छन्। कारण–होमस्टे सञ्चालन गरे पनि सोचेजति पाहुना आउने छाँटकाँट उनीहरूले देखेका छैनन्। त्यसले गर्दा पनि होमस्टे सञ्चालन गर्ने तरखरमा रहेका गाउँ के कसो गर्ने भन्ने दोधारमा छन्।

सीधा सवारीको सुविधाका कारण अहिले यहाँ पर्याप्त पर्यटक भित्रिए पनि ती पर्यटक सदरमुकाम जोमसोमभन्दा बाहिर पुग्न सकेका छैनन्। आएका पर्यटक सदरमुकाम जोमसोम आसपासमै जसोतसो अडिने गरेका छन्। सिजनका बेला सदरमुकामका होटलमा बास नपाउँदा पनि ती पाहुनाको होमस्टेसम्म पहुँच पुग्न सकेको छैन।

प्राकृतिक सौन्दर्यको दृश्यावलोकन सँगसँगै धार्मिक तथा ऐतिहासिक सम्पदाको गहिरो अनुसन्धान गर्न सकिने मुस्ताङका कतिपय स्थान अहिले भौतिक पूर्वाधारको कमीकै कारण ओझेलमै छन्। यस्तै मारमा होमस्टे पनि परेका छन्। जिल्लामा हालसम्म सञ्चालनमा रहेको एउटै मात्र होमस्टे गाउँ ठिनी हो। त्यसबाहेक अहिले होमस्टे सञ्चालनको थालनीको चरणमा रहेका कतिपय गाउँ होमस्टे सञ्चालन गरे पनि पाहुना पाइने हुन् वा नपाइने भन्ने दोधारमा छन्। त्यसले गर्दा ती गाउँ तत्कालै होमस्टे सञ्चालनको तयारीमा जुट्न सकेका छैनन्। चिरपरिचित र नाम कहलिएका कतिपय गाउँ पूर्वाधार अभावमा होमस्टे सञ्चालनको आँटसमेत गर्न सकेका छैनन्। सबै गाउँलाई एउटै चिन्ता छ होमस्टेले पाहुना पाउने हुन् वा होइनन् !

स्थानीय युवाहरूको अगुवाइमा गाउँबाट सिधै नीलगिरि हिमालको काखमा पुगेर त्यहाँको वस्तुस्थितिसँग रमाउन सकिने नयाँ पदमार्गको निर्माणकार्यसमेत अगाडि बढेको छ।

विशेषगरी ठिनी गाउँ पछिल्लो केही वर्षयता होमस्टेको माध्यमबाट चर्चामा आएको ठाउँ हो। ठिनी गाउँनजिकै रहेको चर्चित ढुम्बा तालले गर्दा पनि त्यहाँ आउजाउ गर्ने जो कोही पाहुनाले होमस्टेमा बसेर थकाली समुदायको स्वागत सत्कार र पस्केको खानाको स्वाद लिन पाएका छन्। मुस्ताङको हकमा अहिले ठिनी गाउँलाई होमस्टका लागि उचित गन्तव्यको रूपमा समेत मानिएको छ।

तर, एक वर्ष अघिमात्र होमस्टेको धारणा अगाडि ल्याइएका छैरो र चिमाङ गाउँका स्थानीय होमस्टे सञ्चालनबारे अलमलमा परेका छन्। करिब दुई साताभन्दा बढी समयको तालिम लिएर तत्कालै दुई गाउँमा होमस्टे सुरु गर्ने भनिएको थियो। तर, अहिले उक्त अभियान ओझेलमा परेको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो चिमाङका स्थानीहरूको सक्रियतामा उक्त अभियान सुरु गर्ने भनिए पनि अहिले उचित व्यवस्थापन हुन नसक्दा अभियान नै रोकिएको उनीहरूले बताए। विशेषगरी भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीकै कारण होमस्टे अभियान ओझेलमा परको स्थानीयहरू बताउँछन्।

गाउँपालिकाले होमस्ट सञ्चालनका लागि गाउँलेलाई दिने तालिमकै लागि भनेर विनियोजन गरेको ५ लाख रुपैयाँको अहिलेसम्म सही सदुपयोगसमेत हुन सकेको छैन। दुई गाउँका करिब २५ जना गाउँलेलाई होमस्टेको अघिल्लो वर्ष तालिम दिए पनि निरन्तर नहुँदा प्रभावकारी बन्न नसकेको वडा अध्यक्ष आइतप्रसाद थकालीले बताए। होमस्टे सञ्चालनको लागि प्रारम्भिक तहको तालिम दिए पनि पाहुना राख्ने कामको सुरुवात नहुँदा दोधार भएको उनले बताए।

‘हामी पनि यसबारेमा गम्भीर भइसकेका छौं। जुन रूपमा होमस्टे फस्टाउने आशा गरेका थियौं, त्यो अनुसार हुन सकेको छैन,’ थकालीले भने, ‘मैले यस विषयमा गम्भीर भएर सोचेको छु। गाउँपालिकाका प्रमुखलाई यस विषयमा ध्यानाकर्षण गराइसकेको छु।’ होमस्टे सञ्चालनमा नआउनुमा व्यवस्थापनमै चुनौती रहेको अध्यक्ष थकालीले बताए। प्रमुख कुरा होमस्टे सञ्चालन गर्नका लागि प्रचारप्रचार नै मुख्य रहेको थकालीले बताए। अहिले धेरैतिर होमस्टे खुल्ने लहर चलेको तर प्रचारप्रसार नहुँदा ती होमस्टेले पाहुना नपाएकाले मुस्ताङमा सञ्चालन हुने होमस्टेको अवस्था पनि त्यही हुने हो भने कि भन्ने चिन्ता उनलाइ छ।

होमस्टे सञ्चालनको सुरुवाती चरणमा रहेका कतिपय गाउँ होमस्टे सञ्चालन गरे पनि पाहुना पाइने हुन् वा नपाइने भन्ने दोधारमा छन्। त्यसले गर्दा ती गाउँ तत्कालै होमस्टे सञ्चालनको तयारीमा जुट्न सकेका छैनन्। चिरपरिचित र नाम कहलिएका कतिपय गाउँले पूर्वाधार अभावमा होमस्टे सञ्चालनको आँटसमेत गर्न सकेका छैनन्।

‘होमस्टे खोलेर मात्र भएन, पाहुना आएनन् भने लगानी र मिहिनेत खेर जान्छ,’ उनले भने, ‘त्यही भएर यसबारेमा निकै नै सोच्नुपर्ने बेला भएको छ।’ अहिले अन्य जिल्लामा खुलेका होमस्टेको अवस्था दयनीय रहेकाले जिल्लाका होमस्टेको अवस्था पनि त्यही गतिमा हुने डर उनीहरूलाई रहेको थकालीले बताए। त्यही भएर तत्काल आँट गर्न नसकेको उनले बताए।

होमस्टे सञ्चालनका लागि यसको मापदण्डअनुसार चल्नुपर्छ। छैरो र चिमाङ गाउँमा होमस्टे सञ्चालनमा ल्याउन सहज भए पनि आवश्यक पूर्वाधार नभएकाले केही ढिलाइ भएको उनले बताए। ‘होमस्टे सञ्चालनका लागि भनेर नयाँ कार्यविधि नै आएको छ तर कार्यविधिअनुसार काम गर्न नै सकिएको छैन,’ उनले भने। प्रक्रियागत रूपमा अगाडि बढ्न समय लाग्ने उनले बताए। होमस्टे सञ्चालनमा वडाको भूमिका प्रबल रहे पनि स्थानीयहरूको सुस्तताले गर्दा आवश्यक सहयोग गर्न नसकेको पनि उनले बताए। ‘हामीले गाउँपालिकालगायत सबै पक्षसँग आवश्यक सहयोगको अपेक्षा गरेका छौं। निकट भविष्यमै दुई गाउँमा होमस्टे सञ्चालन गर्न सबै स्थानीयहरूसँग बसेर छलफल नै गर्छौं,’ थकालीले भने।

होमस्टे सञ्चालन गर्न भौतिक पूर्वाधार सँगसँगै पर्यटकलाई भुलाउन आवश्यक मात्रामा पर्यटकीय क्षेत्रहरू पनि हुन जरुरी छ। यसका लागि छैरो र चिमाङ गाउँका स्थानीयहरूले आफ्नो गाउँको प्राकृतिक सम्पदालाई उजागर गर्न पछि हट्न नहुने उनले बताए। छैरो गाउँमा प्राकृतिक सौन्दर्यको प्रचुर सम्भावना सँगसँगै सात सय वर्ष पुरानो गुम्बा छ। गुम्बाको लागि आवश्यक प्रचारप्रसार गर्न सके गाउँको मात्र नभई पुरै जिल्लाको पर्यटनलाई सिधै फाइदा पुग्ने उनले बताए। ‘गुम्बाभित्र सयौं वर्ष पुराना देवताहरूको बास रहेको छ। यिनै देवताहरूको प्रचारप्रसार मात्र गर्न सक्यौं भने पनि होमस्टे सञ्चालनलाई फाइदा पुग्छ तर यस विषयमा न त गाउँले नै जानकार छन् न त सरोकारवाला निकाय नै,’ थकालीले भने, ‘नयाँ पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको छैरो छहरा पनि यहीँ रहेको छ। यो छहरा पनि ओझेलमा परेको छ।’

उनका अनुसार चिमाङ गाउँका सय वर्षभन्दा पुराना घरहरू इतिहासको साक्षीका रूपमा रहेका छन्। ती घरलाई पनि होमस्टेमा पुगेका पाहुनाको घुम्ने ठाउँ बनाउन सकिने उनले बताए। पूर्वपट्टि रहेको सुन्दर निलगिरि हिमाल र पश्चिमपट्टि रहेको धौलागिरि हिमालको मनमोहक दृश्यले चिमाङ पुग्ने जो कसैको मन लोभ्याउँछ।

भर्खरै मात्र स्थानीय युवाहरूको अगुवाइमा गाउँबाट सिधै नीलगिरि हिमालको काखमा पुगेर त्यहाँको वस्तुस्थितिसँग रमाउन सकिने नयाँ पदमार्गको निर्माणकार्यसमेत अगाडि बढेको छ। साथै चिमाङ गाउँको सिरानमा भ्यु टावरको स्थापना गरिएको गाउँलेले बताएका छन्। ‘अहिले बनेका पूर्वाधारले निकट समयमै गाउँलाई प्रचुर फाइदा पु-याउन सक्छ,’ थकालीले भने, ‘यसका लागि पर्यटकलाई त्यहाँसम्म पुग्ने वातावरण मिलाउन जरुरी छ।’

होमस्टे सञ्चालनका लागि समेत उचित गन्तव्यको रूपमा रहेका गाउँ यहाँ पर्याप्त छन्। तर ती गाउँसम्म पहुँच पुगेको छैन। पहुँच पुगिहाले पनि प्रचारप्रसार नहुँदा त्यहाँका गन्तव्य र महत्वपूर्ण सम्पदा पाहुनामाझ चिनिन पाएका छैनन्। हिमाली जिल्लाका मार्फा, ठिनी, मुक्तिनाथ, कागबेनीधाम, छुसाङ र छैरो चिरपरिचित गाउँ हुन्। जसको नाम सुनेकै भरमा पनि पर्यटकहरू त्यहाँसम्म पुगेर आनन्द लिन चाहन्छन्। यी गाउँमा पनि होमस्टे सञ्चालनको पहल नभएको होइन, तर, पहुँच र पाहुनाको आगमन उतिसारो नहुने देखेपछि ती गाउँलेले पनि तत्काल होमस्टे सञ्चालनको आँट गर्न सकेका छैनन्।

मुस्ताङमा अहिले बाह्यभन्दा पनि आन्तरिक पर्यटकहरू बढी मात्रामा आउने गरेका छन्। उनीहरूलाई केही समय मात्र गाउँमा अड्याउन सकियो भने मात्र पनि केही सकारात्मक टेवा पुग्ने अवश्य फाइदा पुग्ने स्थानीयको भनाइ छ। तर होमस्टेको अवधारणा कागजमा मात्र सीमित रहँदा अहिले व्यावसायिक रूपमा होमस्टे सञ्चालनमा ल्याउँछु भन्नेहरूलाई समस्या परिरहेको थकालीको भनाइ छ।

ठिनीलाई होमस्टेको राहत
मुस्ताङ जिल्लाकै एक मात्र होमस्टे हो ठिनी। गाउँमा दिनप्रतिदिन पर्यटकको चाप बढ्ने गरेको छ। सीधा सवारी आउजाउमा सहज भएपछि ठिनी गाउँमा पर्यटकको चहलपहल बढ्ने गरेको हो। प्राकृतिक छटाले भरिपूर्ण ठिनी गाउँ अहिले होमस्टेमा फड्को मारेको छ। ठिनी गाउँमा व्यावसायिक रूपमा होमस्टे सञ्चालन गर्ने घरको संख्या एक दर्जनभन्दा बढी नाघिसकेको छ। पाहुना पुगे पनि अहिले ठिनीका गाउँलेलाई भ्याइनभ्याइ छ। दैनिकजसो पर्यटकको स्वागत र सत्कारमा व्यस्त उनीहरू कसरी हुन्छ मीठो खुवाउने र आरामदायी बसाइमा ध्यान दिने भन्ने मै व्यस्त छन्। होमस्टेको मापदण्डअनुसार सञ्चालनमा आएको उक्त होमस्टेहरूमा कुनै पनि कुराको कमी भने छैन। स्थानीय युवा निरज थकालीका अनुसार अहिले सञ्चालनमा आएको होमस्टेहरूमा करिब एक सय जना मानिसहरू सहजै राख्न सकिन्छ। उनले भने, ‘अहिले हामीले १४ वटा घरधूरीमा होमस्टे सञ्चालनमा ल्याएका छौं। २०७२ साल भदौ १० गतेबाट यो होमस्टे सञ्चालनमा आएको हो।

चार वर्ष अवधिमा यहाँ पाहुनाको आगमन सन्तोषजनक थकालीले बताए। ‘होमस्टे सञ्चालनमा पर्याप्त मात्रामा सरसफाइ आवश्यक पर्ने रहेछ,’ उनले भने। ठिनी गाउँको होमस्टे फस्टाउनुमा नजिकै रहेको चर्चित ढुम्बा ताल र खुज्बुतेरङ गुम्बा नै प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको थकालीले बताए। उनले भने, ‘पहिलो कुरा त प्रचारप्रसार नै प्रमुख पाटो हो। हामीले चार वर्षको अन्तरालमा धैरै धनराशि प्रचारप्रसारमै खर्च गरेका छौं।’ देशका ठूलाठूला मिडियासँगको सहकार्यले पनि होमस्टेलाई फाइदा पुगेको उनले बताए।

उनले भने, ‘गत साल मात्र एक हजारभन्दा बढी पर्यटकलाई होमस्टेमा रोखेका थियौं भने यस वर्ष चार हजारसम्म पाहुना राख्ने योजना रहेको छ।’ सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा ठिनीमा सञ्चालित होमस्टेले आगन्तुक पाहुनालाई नयाँ–नयाँ स्वाद चखाउने र नजिक रहेको पर्यटकीय क्षेत्रहरूलाई उत्कृष्ट गन्तव्यको रूपमा परिचित गराउने लक्ष्य रहेको उनले बताए।

होमस्टे सञ्चालनको नयाँ मापदण्डअनुसार घरमा कम्तीमा दुई वटा कोठाको आवश्यकता पर्दछ। घरदेखि केही पर चर्पी र स्नानगृह हुनुपर्नेछ। प्रत्येक होमस्टेमा इन्टरनेटको व्यवस्था हुनुपर्ने पनि उल्लेख छ। स्वास्थ्यचौकी र यातायातको पहुँच सहज हुनुपर्ने साथै प्रहरी चौकी नजिकै रहेको हुनपर्नेसमेत उनले बताए। थकालीले भने, ‘सरसफाइमा अत्यन्तै ध्यान दिनुपर्छ, घरनजिक गोठहरू भएमा टाढा राख्नुपर्ने, पाहुनासँग राम्रोसँग बोल्नुपर्ने कुरामा ध्यान दिन अति जरुरी रहन्छ।







यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...