१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

फेरिएन सामुदायिक विद्यालयको अवस्था

महोत्तरी– जलेश्वर नगरपालिका–३ खैरास्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक नवलकिशोर साहलाई एक स्थानीयले विवाह जन्ती राख्नका लागि विद्यालयको कक्षा कोठा उपलब्ध गराइ दिन अनुरोध गरे। प्रअ साहले अहिले बिहानी कक्षा सञ्चालन भइरहेकोले विद्यालयको कक्षा  कोठा दिन नमिल्ने भने। प्रअ साहले कोठा दिन नमिल्ने भनेपछि ती स्थानीय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयनाथ कुँवरलाई विद्यालयको कोठा उपलब्ध गराइ दिन अनुरोध गरे।

सामाजिक परिबन्धका कारण अध्यक्ष कुँवरले उनलाई नकार्न सकेनन्। तर विद्यालयमा बिहानी कक्षा सञ्चालन भइरहेकोले विद्यालयमा कक्षा सुरु हुनुभन्दा अगावै विद्यालय खाली गरी दिने शर्तमा विद्यालयका कोठा जन्ती राख्न दिने भनेर अध्यक्ष कुँवरले भनेपछि प्रअ साहले विद्यालयको कोठा उपलब्ध गराए।

राति विवाहमा जन्ती आएकाहरू विद्यालयको कोठामा बसेर बिहानै फर्के पनि स्थानीयले विद्यालय सुरु हुनु विद्यालय परिसर र कक्षा कोठा सफा गरेनन्। 

प्रअ साह विद्यालयमा बिहान साढे ६ बजे पुग्दा परिसर र कक्षामा जताततै रक्सीका बोतल, पान, गुट्खा खाएर थुकेका, प्लास्टिक फालिएको, शौचालय पनि फोहोर रहेको पाए। त्यस समयसम्ममा विद्यार्थी विद्यालय आइपुगेका थिए। उनीहरुले विद्यालयको दुर्दशा देखेर अचम्म भए। विद्यालयमा जताततै फालिएका मदिरका बोतल, पान, गुट्खालगायत अन्य धुम्रपान जन्य पदार्थ र सबैतिर फोहोर देख्दा बाल मस्तिष्कमा नकारात्मक प्रभाव पक्कै प-यो होला।

कक्षा सञ्चालन गर्नुपर्ने भएकाले कार्यालय सहयोगी लगाएर विद्यालय परिसरका फोहोर फाले। तर, राति जडान गरिएको विद्युतीय सामग्रीलगायतका अन्य सामग्री राखेर जेनतेन विद्यालय सञ्चालन भयो।

राष्ट्रिय आधाभूत विद्यालयमा जन्ती राखेको यो पहिलो घटना भने होइन। विवाहको समयमा बर्सेनि विद्यालयले यस्तो समस्या भोग्नु परेको प्रअ साहले सुनाए। आफूले विद्यालयमा जन्ती राख्न र भोजभतेर आयोजना रोक्न नसक्ने स्थित भएको उनले बताए। बर्सेनि यस विद्यालयमा २० वटासम्म विवाहका कार्यक्रम हुने गरेको प्रअ साहले बताए।

सामुदायिक विद्यालय समुदायको हो, तर विद्यालयलाई समुदायले नै दुरूपयोग गरेपछि अरु कसको के लाग्छ ? प्रअ साहले प्रतिप्रश्न गर्दै भने, ‘समुदायले भनेपछि विवाहका लागि विद्यालय उपलब्ध गराउनु पर्ने बाध्यता हुन्छ। त्यसमाथि जन्ती राखेपछि हुने क्षतिको भपाइ पनि विद्यालयले नै व्यहोर्नु परेको छ।’ केहीदिन पहिले जन्ती राख्दा शौचालय तोडफोड भएपछि विद्यालय नै मर्मत गर्नु प-यो।

विद्यालयमा जन्ती राखे वापत स्थानीयले ५ सय रूपैयाँ दिनुपर्ने नियम भए पनि अधिकांशले दिँदैनन्। विद्यालयलाई राजनीतिक थलो नबनाउने, विवाह, भोजभतेर गरेर शैक्षिक वातावरण बिगार्न नपाइने नीति नियम भए पनि कार्यान्वयनमा समस्या रहेको छ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयनाथ कुँवरले भने, ‘हुने खानेले विवाह लज र होटल गरे पनि गरिब तथा विपन्नले विद्यालयकै भर पर्नुपर्ने बाध्यता रहेकोले चाहेर पनि यो परिपाटीको अन्त्य गर्न नसकेका हौं।’ ‘यहाँ कुनै सामुदायिक धर्मशाला छैन र अन्य कुनै वैकल्पिक व्यवस्था नहुँदा गाउँ समाजका गरिब तथा विपन्नका छोरी चेलीको विवाहमा विद्यालय नदिने भनेर नकार्न गाह्रो,’ अध्यक्ष कुँवरले भने।

पहिले जनप्रतिनिधि विहीन अवस्था रहेकोले केही गर्न सकिएन। तर, स्थानीय तहमा जनप्रतिनिधि आएपछि विद्यालयलाई पूर्णरूपमा पठनपाठन योग्य बनाउनु पर्ने र स्थानीयको समस्या समाधान गर्न सार्वजनिक धर्मशाला बनाउन आवश्यक रहेके अध्यक्ष कुँवरले भने। 

विद्यालयमा पूर्णरूपमा अध्ययन–अध्यापन गराउने वातावरण र नीति बनेको भए पनि अझसम्म महोत्तरीका अधिंकाश विद्यालयको चलन फेरिएको छैन। सरकारले विद्यालय शान्ति क्षेत्र हुनुपर्ने र कुनै पनि प्रकारको राजनीतिक सभा, गोष्ठी र पठन–पाठनमा प्रभाव पार्ने कार्य नगर्न नगराउन निर्देशित गरे पनि त्यस निर्देशनको पालन न समुदाय गम्भीर छन् न व्यवस्थापन समिति।

यस विद्यालयमा जन्ती राखिएको प्रतिनिधि घटना मात्र हुन्। जिल्लाको अधिकांश विद्यालयमा जन्ती राख्ने समस्या छ। कतिपय ठाउँमा विद्यालय नै बन्द गरेर जन्ती राख्ने र परिसरभित्र ठूला साउण्ड सिस्टम राखेर नाचगान र भोजभतेर गर्ने गरेको पाइन्छ।

खैरा विद्यालयमा देखिएको समस्या समाधानका लागि जलेश्वर नगरपालिका–३ का वडाध्यक्ष संजय पाण्डेले विद्यालयमा जन्ती राख्ने परिपाटी अन्त्य हुने र चाँडै आफ्ना वडाभित्र रहेका तीनवटै विद्यालयमा विवाहका कार्यमा रोक लगाइने बताए। आगामी आर्थिक वर्षमा वडाभित्र सार्वजनिक धर्मशाला निर्माण गरेर समस्याको समाधान गर्ने बताए।

राष्ट्रिय आधाभूत विद्यालयमा कक्षा कोठा र शिक्षकको अभाव रहेकोले पठनपाठन प्रभावित हुने गरेको प्रअ साहले बताए। विद्यालयमा दुईवटा शिक्षकको अभाव रहेको जिल्ला शिक्षा समन्वय समिति र जलेश्वर नगरपालिकामा जानकारी गराए समस्याको हल नभएको उनले बताए।

‘समस्यै समस्याबीच विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ प्रअ साहले भने, ‘सबैले निजी विद्यालयसँग सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर दाँजेर हेर्छन्। तर निजी र सामुदायिक विद्यालयले भोग्नु पर्ने समस्याको कसैले पनि तुलना गर्दैनन्।’

जसले पनि सामुदायिक विद्यालयका शिक्षकले नपढाएको गुनासो मात्रै गर्छन्। तर, विद्यालयमा भएका समस्या बुझ्ने र हल गर्ने काम कसैले गर्दैनन्। जबसम्म अभिभाव, व्यवस्थापन समिति र शिक्षक इमान्दार भएर विद्यालयलाई पूर्ण शैक्षिक वातावरण दिन सक्दैन तबसम्म सामुदायिक विद्यालयका शिक्षाको गुणस्तर सुधार हुन नसक्ने भएकोले सरोकारवाला पक्षलाई गम्भीर हुन उनले आग्रह गरे।

जलेश्वर नगरपालिका–३ खैरामा अर्को समस्या मदरसा शिक्षा पनि रहेको प्रअ साहले बताए। खैरामा मुस्लिम समुदायको बढी बसोबास रहेको र दुईवटा मदरसा सञ्चालनमा रहेको छ। जिल्ला शिक्षा समन्वय समितिले मदरसा शिक्षा र सामुदायिक विद्यालय समन्वय गरेर कक्षा सञ्चालनको माहोल बनाई दिन उनले आग्रह गरे।

प्रकाशित: २९ वैशाख २०७६ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App