१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कृषि, पशुपालन र पर्यटन सँगसँगै

तनहुँ– तनहुँमा पाँच करोड रुपैयाँको लगानीमा एग्रो फार्म सञ्चालन गरिएको छ। दुलेगौँडाका सफल व्यवसायी हरि खड्काले शुक्लागण्डकी नगरपालिका–१० गैराबारीमा युनिक मल्टी एग्रो प्रालि सञ्चालन गरेका छन्। फार्ममा दश जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

उनले एक दशकदेखि दुलेगौँडा बजारमा युनिक गुप्रअन्तर्गत पाँच वटा विभिन्न फार्म सञ्चालन गरिरहेका छन्। आत्मसन्तुष्टि खोज्दै कृषि र पशुपालनमा करोडौं रुपैयाँ लगानी गरेको उनले बताए। मुलुकको समृद्धिका लागि कृषि र पशुपालनको विकास तथा विस्तार आवश्यकता रहेको र सरकारले पनि यसलाई प्राथमिकता दिएकाले एग्रो फार्म सञ्चालन गरेको उनले बताए। ९५ रोपनी क्षेत्रफलमा एग्रो फार्म सञ्चालित छ। ‘जग्गा खरिद, भौतिक संरचना निर्माण र भारतदेखि उन्नत जातका भैंसी खरिद गरेर ल्याउँदा पाँच करोड खर्च भयो,’ उनले भने।

एक वर्षदेखि सञ्चालनमा आएको फार्ममा अहिले उन्नत जातका ६२ दुधालु भैंसी छन्। ‘दैनिक २ सय ५० लिटर दूध उत्पादन हुन्छ। तीन ठाउँबाट बिक्री गर्छौं,’ उनले भने, ‘मासिक आठ लाख रुपैयाँ आम्दानी हुने गरेको छ।’ दूध बिक्रीबाट आम्दानी राम्रै भएकाले उत्साह थपिएको उनी सुनाउँछन्।

फार्ममा एक सय दुधालु भैंसी पु¥याउने उनको लक्ष्य छ। ‘भारतबाट उन्नत जातका भैंसी ल्याएर सुरु गरियो। पछिल्लो समय केही भैंसी तराईबाट पनि ल्याइयो,’ उनले भने, ‘अब यहीँ प्रजनन गरेर उन्नत भैंसी उत्पादन गर्ने योजना छ। सधैंभरि भारत र तराईकोे भर परेर हँुदैन।’

युनिक मल्टी एग्रोले एग्रो टुरिजमलाई समेत जोड दिएको छ। कृषि र पशुपालनलाई पर्यटनसँग जोडेर होमस्टे सञ्चालन गर्न एग्रो फार्मको हातमा पूर्वाधार तयार छ। लोप हुने अवस्थाको घुमाउने घर यहाँको होमस्टेको आकर्षण हो।


आर्मी परिवारका खड्काले १२ वर्ष नेपाल आर्मीमा बिताए। ६ पटकसम्म अफिसर बन्ने प्रयास गरेका उनी सफल नभएपछि विदेश भासिए। ११ वर्ष आबुधाबी पुलिसमा बिताएका उनले नेपाल फिरेर युनिक डिपार्टमेन्टल स्टोर्सबाट व्यावसायिक यात्रा सुरु गरेका हुन्। विदेशमा रहँदा नै व्यवसाय सञ्चालन गर्ने सोच बनाएका हरिले हाल युनिक गुप्रअन्तर्गतका पाँच वटा फर्म सञ्चालन गरेका छन्। तर पनि मुलुुकको समृद्धिका लागि कृषि क्षेत्रमा लाग्नुपर्ने आवश्यक देखेर लगानी गरेको उनी बताउँछन्। ‘समृद्धिको कुरा गरिरहँदा विदेशबाट आयात गरेर सम्भव हँुदैन। स्वदेशमै उत्पादन गर्न जरुरी छ,’ उनको विचार छ। भारतीय बजारबाट भित्रिने कृषिजन्य सामग्रीको निर्यात विस्थापित गर्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय कृषिजन्य वस्तुको बजारमा माग उच्च छ। नेपालमा सम्भावना हुँदाहुँदै पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको लर्को छ। स्वदेशमै परिवारसँग बसेर कृषि पेसा अँगाल्न युवाहरूलाई उनको सुझाव छ। ‘विदेश जाँदा खर्चिने रकम कृषि र पशुपालनमा लगानी गर्ने हो भने त्यहाँ कमाउने जति रकम परिवारसँगै रमाएर यहीँ कमाउन सकिन्छ,’ खड्काले भने। विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने उनको बुझाइ छ।

कृषिमा आकर्षित गर्न सरकारले बजारीकरण र मूल्यको सुनिश्चितता गर्नु आवश्यक रहेको उनले बताए। ‘प्राविधिक ज्ञान, उन्तन बीउबिजनको व्यवस्था सरकारले गरिदिनुपर्छ,’ उनले भने। सरकारले झोले किसानलाई बढी प्राथमिकता दिने गरेकोमा खड्काले असन्तृष्टि जनाए। ‘वास्तविक किसानलाई आश्वासन दिन्छन्। झोले किसानहरूलाई अनुदान व्यवस्था हुन्छ,’ उनले भने, ‘सरकारको यस्तो प्रवृत्तिले किसानलाई निरुत्साहित बनाउँछ।’ अनुदानको सट्टा किसानलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। निर्वाहमुखी पेसा अँगाल्नेलाई भन्दा व्यावसायिक किसानलाई सरकारले प्राथमिकता दिन नसकेकोमा उनको गुनासो छ।

‘होमस्टेमा बास बस्न आउने पर्यटकलाई आफ्नै फार्ममा उत्पादन भएको अर्गानिक परिकारको स्वाद चखाइन्छ,’ व्यवसायी हरि खड्का भन्छन्।


भैंसी पालन गर्दा घाँस, चोकर र दानापानीको उचित व्यवस्थापन गर्न सक्नुपर्ने उनले अनुभव लिएका छन्। ‘पराल खरिद गर्दा लागत बढी महँगो पर्न जान्छ। नाफा लिन सकिँदैन,’ उनले भने भने, ‘एक वर्षमा यही अनुभव बटुलें। लागत घटाउन अहिले ५० रोपनी जग्गा भाडामा लिएर उन्नत जातको घाँस लगाएको छु।’

फार्मले अर्गानिक तरकारी उत्पादन गर्ने अवधाराणा अघि सारेको छ। यसका अलावा युनिक मल्टी एग्रोले आधुनिक प्रविधिमा १० हजार बढी लेज कुखरा पाल्ने उनले सुनाए। ‘भैंसी र कुखराको मलबाट वायोग्यास निकाल्न डिपिआर तयार हुँदै छ,’ उनले भने, ‘राज्यको साथ पाएँ भने बायो ग्यास निकाल्न सम्भव देखिएको छ।’

युनिक मल्टी एग्रोले एग्रो टुरिजमलाई समेत जोड दिएको छ। कृषि र पशुपालनलाई पर्यटनसँग जोडेर होमस्टे सञ्चालन गर्न एग्रो फार्मको हातमा पूर्वाधार तयार छ। लोप हुने अवस्थाको घुमाउने घर यहाँको होमस्टेको आकर्षण हो। नयाँ पुस्तालाई जानकारी गराउन कलात्मक शैलीमा घुमाउने घर बनाइएको छ। सञ्चालक खड्काले भने, ‘लोप हुने अवस्थामा पुगेका पुराना कृषि सामग्रीको संग्रहालय घुमाउने घरमा राखिन्छ।’ ढिकी, जाँतो, कुटो, कोदालो, हँसियालगायतका सामग्री संकलन भइरहेको उनले जानकारी दिए। ‘होमस्टेमा बास बस्न आउने पर्यटकलाई आफ्नै फार्ममा उत्पादन भएको अर्गानिक परिकारको स्वाद चखाइन्छ,’ उनले भने।

कृषि र पशुपालनको प्रशिक्षणमा यहाँको होमस्टे सहयोगी हुने उनको जिकिर छ। ‘फिल्डमै लगेर कृषि र पशुपालनको तालिम दिइएको पाइँदैन। एउटा बन्द कोठामा सैद्धान्तिक तालिम सञ्चालन हुन्छ। यसरी लिएको तालिम प्रभावकारी कसरी होला र ?’ उनले परम्परागत प्रशिक्षण पद्धतिप्रति असहमति जनाउँदै भने, ‘हामीकहाँ होमस्टेमा अर्गानिक स्वाद चाख्दै तरकारी बारीमा र भैंसीको गोठमा पुगेर प्रयोग गर्दै तालिम प्रदान गर्ने व्यवस्था हुन्छ।’ युनिक मल्टी एग्रोले आगामी वर्षदेखि आफ्नै डेरी सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App