१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिरासतमा आत्महत्याको सत्यतथ्य बुझ्न छानबिन समिति

चितवन - इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका आरोपितले आत्महत्या प्रयास गरेको घटनामा सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको छ। पीडित, प्रहरी र सरोकारवालासँग छलफल गरेर पाँच बुँदे सहमति भएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए। जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा १२ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन दिने गरी समिति गठन गरिएको उनी बताउँछन्। समितिमा राष्ट्रिय दलका प्रतिनिधि ३ जना, कालिका नगरपालिकाका २ वडा अध्यक्ष, पीडित पक्षबाट २ जना, राष्ट्रिय अनुसन्धान अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सहभागी छन्। कालिका नगरपालिका वडा नम्बर १ सूर्यपुरका २४ वर्षीय समिर घिसिङले बिहिबार दिउँसो हिरासत कक्षको शौचालयमा आत्महत्या प्रयास गरेका थिए। घिसिङको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ। कालिका नगरपालिका वडा नम्बर १ पदमपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा ल्यापटप र कम्युटर चोरी भएपछि पदमपुर प्रहरी चौकीले घिसिङ र कालिका नगरपालिका वडा नम्बर ७ का किसान तामाङलाई बुधबार पक्राउ गरेको थियो। पक्राउ गरेका दुवैलाई पदमपुर प्रहरीले इलाका प्रहरी टाँडीलाई बुझाएको थियो। दिउँसो तीन बजे थुनुवा कक्षमा हल्ला भएपछि प्रहरी भित्र पसेको थियो। इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवम् प्रहरी नायब निरीक्षक दयानिधि ज्ञवाली बताउँछन्। शौचालयमा सर्टको पासो लगाएर झुण्डिएका घिसिङलाई पासो खोलेर अस्पताल पठाइएको उनले बताए।

थुनुवा कक्षको छेउमै रहेको शौचालयको भेन्टिलेटरमा लगाइएको बाक्लो जालीमा अड्काएर सर्टको पासोमा घिसिङ झुण्डिएका थिए। समिरले शौचालयमा धेरै समय लगाएपछि साथी किसान शौचालय गएका थिए। शौचालयको ढोका खोल्दा झुण्डिएको देखेपछि समिरलाई उचालेर समातेको किसान बताउँछन्। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो। घटना सार्वजनिक भएपछि साँझपख आक्रोषित कालिका नगरपालिका स्थानीयले बिहीबार साँझ इलाका प्रहरी कार्यालय टाँडीमा ढुंगामुढा र आगजनीको प्रयास गरेका थिए। बिहीबार साँझ इलाका प्रहरी कार्यालय टाँडीमा गरिएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरी हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो।

टाँडीमा प्रदर्शन गरेपछि टोली पदमपुर प्रहरी कार्यालय पुगेको थियो। पदमपुरमा रहेको प्रहरी कार्यालयमा ढुंगामुढा गरेर तोडफोड गरेका थिए। तोडफोड गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ भने २९ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा गरिएको छलफलमा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षकलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउने, घिसिङको उपचारलाई प्रभावकारी बनाउन प्रयास गर्ने, पीडित पक्षलगायतले आन्दोलन, तोडफोड, प्रदर्शन नगर्ने र प्रहरी कार्यालय तोडफोडमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएका व्यक्तिलाई अभिलेख राखेर छाड्ने सहमति भएको प्रजिअ बस्नेतले बताए।

प्रकाशित: २८ वैशाख २०७६ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App