१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्थानीय तहमा छैन दमकल

व्यास नगरपालिकामा सञ्चालित दमकल। तस्बिरः नागरिक

तनहुँ– गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ। जिल्लाका अधिकांश स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ।

निर्वाचित भएलगत्तै आफ्नो सुविधाका लागि तुरुन्त सवारी खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिहरू विपद् व्यवस्थापनमा उपायोगी दमकल किन्ने योजनामा छैनन्। डोजर किन्नसमेत पछाडि नहटेका स्थानीय तहसँग चालू वर्षमा दमकल किन्ने योजना नभएको स्थानीय तहका प्रमुखहरू बताउँछन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख छ। जिल्लाका १० स्थानीय तहमध्ये आठ वटामा दमकल छैन। व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकामा दमलको व्यवस्था छ। व्याससँग भएकोे दमकल प्रयोगमा आएको भए पनि बन्दीपुर गाउँपालिकामा रहेको दमकल जनशक्ति नहुँदा प्रयोगविहीन बनेको छ। दमकल उपलब्ध रहेता पनि बजेट अभावले जनशक्ति राख्न नसक्दा प्रयोगविहीन बनेको हो।

बन्दीपुर गाउँपालिकालाई नेपाल सरकारले उपलब्ध गराएको दमकल भए पनि जनशक्ति अभावले थन्किएर बसेको छ। दमकलमा आवश्यक कर्मचारी राख्न खर्चिलो भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा कार्यरत सवारी चालकलाई सामान्य तालिम दिएर आवश्यक परेको बेला दमकलको अभाव हुन नदिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले दाबी गरे।

उनी भन्छन्, ‘यो वर्षको बजेटमा दमकललाई आवश्यक कर्मचारीकोे व्यवस्थापन गर्न सकिएन। आगामी वर्षको बजेटबाट दक्ष कर्मचारीको व्यवस्थापन गरिन्छ।’ गाउँपालिका एक्लैले कर्मचारी राख्दा बढी खर्चिलो हुने कारण छिमेकी स्थानीय तह भानु नगरपालिकासँग सहकार्य गर्ने सहमति भएको उनले बताए।

यहाँका शुक्लागडकी नगरपालिका, भिमाद, भानुमा दमकल छैन। म्याग्दे गाउँपालिका, घिरिङ, ऋषिङ, आँबुखैरेनी र देवघाट पनि दमकल नभएका स्थानीय तह हुन्।

घिरिङ, ऋषिङ र देवाघाट गाउँपालिकाबाहेकका सातै स्थानीय तहमा सहरी क्षेत्र बढ्दो छ। चैत वैशाखको बेला विद्युतीय सामग्री, हावाहुरी र डढेलोले आगलागीको जोखिम बढी भए पनि आफू चढ्ने सवारी खरिदमा महत्व दिएका जनप्रतिनिधिले दमकल खरिदमा महत्व दिएको पाइँदैन।

शुक्लागण्डकीमा सहरीकरण र व्यापारिक केन्द्र बढेसँगै दमकलको आवश्यकता भए पनि सञ्चालन गर्न खर्चिलो भएको मेयर किसान गुरुङले बताए। उनले आगलागी भएको बेला दमकलको वैकल्पिक उपाय अपनाउने दाबी गरे। ‘क्षति हुन नदिन हामीले आगो निभाउने अरू उपायबारे सोचेका छौं,’ उनले थपे, ‘प्रभावकारिता हेरेर प्रयोगमा ल्याउनेछौं।’ उनले राजमार्गसँग जोडिएका स्थानीय तहसँग मिलेर सञ्चालन गर्न सकिने संकेत गरे।

घिरिङ गाउँपालिकाले हालसम्म दमकल किन्ने कुनै योजना बनाएको छैन। ऋषिङ गाउँपालिकासँग भौगोलिक दृष्टिले नजिक भएकाले सहकार्य गरेर खरिद गर्न छलफल गर्ने गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए।

हावाहुरीसँगै आगलागीको मौसम सुरु भएकाले आगलागी नियन्त्रणका लागि दमकलको अभावले आगलागीबाट बर्सेनि करोडौं मूल्यबराबरका सम्पत्ति नष्ट हुने गरेको छ। जिल्लामा बर्सेनि आगलागीका सयौं घटना हुने गरेका छन्।

जिल्लामा गत वर्षको फागुनदेखि एक वर्षको अवधिमा ८६ स्थानमा आगलागी हुँदा २९ वटा घर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँको तथ्यांकमा उल्लेख छ। आगलागीमा परेर दुई जनाको मृत्यु भयो भने पाँच जना घाइते भएका छन्। आगलागीको घटनाले करिब एक करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जननिवार्चित प्रतिनिधिहरू समेत आगलागीका सम्भावित घटना न्यूनीकरणतर्फ गम्भीर नदेखिएको जिल्लाबासीको गुनासो छ।

प्रकाशित: २७ वैशाख २०७६ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App