१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हातेकागज खपतको उपाय खोजिँदै

प्रमुख जिल्ला अधिकारीलाई हातेकागज हस्तान्तरण गर्दै सांसद। तस्बिरः खगेन्द्र/नागरिक

ताप्लेजुङ– आफ्नो व्यवसाय प्रवद्र्धनमा सहयोग गरिदिन भन्दै ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुका हातेकागज उद्योगी पहलमान चोङ्वाङले गाउँमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउन पुगेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई एककोरी(२०० ताउ)हातेकागज उपहार दिए। कार्यक्रमस्थलबाट हतार–हतार बाहिरिने तरखर गर्दै गरेका सांसद भट्टराईले चोङ्वाङबाट उपहार त बुझे, तर त्यो साथमा लगेनन्। उनले कार्यक्रमस्थलमै रहेका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई एककोरी कागजको त्यो बिटो जिम्मा लगाएर भने, ‘सिडिओ साब ! अब प्रत्येक सरकारी कामकाजमा नेपाली हातेकागजको प्रयोग बढाएर आफैं आत्मनिर्भर बन्ने उपाय खोजी गर्नुप-यो।’ सांसद भट्टराईबाट हातेकागजको बिटो बुझ्दै प्रजिअ भण्डारीले पनि अत्यावश्यक सरकारी कामकाजमा हातेकागजलाई अनिवार्य बनाउने प्रयत्न गर्ने सुनाए।

सुन्दा र देख्दा रोचक लाग्ने त्यो दृश्य र सम्बादले नेपाली हातेकागजको उत्पादन र यसको बजार व्यवस्थापनका समस्या झल्काउँछ। करिब दुईदशक अघिबाट हातेकागज उद्योग सञ्चालन गर्दै आएका गोरुजुरे हातेकागज उद्योगका प्रोपाइटर चोङ्वाङ उत्पादनको ९० प्रतिशतभन्दा बढी हिस्सा बाहिरी जिल्ला निर्यात गर्दै आएको बताउँछन्। ‘बिक्री त भइरहेको छ, तर अन्तर जिल्ला पठाउनु पर्दा लागतको अनुपातमा आम्दानी लिन कठिन हुने रहेछ’ उनले भने। उनको उद्योगबाट उत्पादित हातेकागजको थोक बजार भनेको धरानको सुनसरीको हो। बिक्री गर्न पुग्ने परिमाणको कागज उत्पादन भएपछि चोङ्वाङ सवारी साधनमार्फत कागजलाई धरानतर्फ ढुवानी गर्छन्। साँघुबाट धरान पुग्दा लाग्ने ढुवानी खर्चले आम्दानीको दरमा नकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए। जिल्लाभित्र र आसपसामा उत्पादित कागजको खपत हुने हो भने कम लागतमा बढी आम्दानी लिन सकिने चोङ्वाङको तर्क छ। घरेलु तथा साना उद्योग विकास समितिको तथ्यांकअनुसार एउटै स्थलको उद्योगमार्फत जिल्लाभरमै सबैभन्दा बढी नेपाली हातेकागजको उत्पादन गर्नेमा चोङ्वाङ पहिलो नम्बरमा पर्छन्। उद्योग अधिकृत सुनिल आचार्यका अनुसार चोङ्वाङको उद्योगबाट जापानिज र नेपाली दुबै प्रविधिबाट हातेकागज उत्पादन हुदै आएको छ।

त्यसो त, हातेकागज उद्योगको आन्तरिक बजारको अभाव खेप्नेमा चोङ्वाङ मात्र एक्ला होइनन्। सदरमुकाम फुङ्लिङमा लामो समयदेखि हातेकागज उत्पादनमा सक्रिय नन्दकुमार तामाङका अनुसार सदरमुकाममै उत्पादित हातेकागज बिक्रीका अन्तर जिल्ला पु¥याउनु पर्छ। उनले सदरमुकामका केही पसलमा सामान्य परिमाणमा खपत हुने भए पनि उत्पादनको मोटो परिमाण अन्यत्रै बिक्री गर्नुपरेको सुनाए। जबकि, कागजको प्रयोग सबैभन्दा बढी गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको उपस्थिति सदरमुकाम क्षेत्रमै छ। प्रमुख जिल्ला अधिकारी भण्डारी नेपाली हातेकागजको प्रयोग गर्ने अदालतसहितका निकायहरुमा कागजको खपत बढाउनेबारे समन्वय गर्ने बताउँछन्। उनले जिल्लाभित्रै हातेकागजको खपत बढाउन घरेलु कार्यालयमार्फत सम्भाव्यता अध्ययन थाल्ने पनि बताए। उद्योग अधिकृत आचार्य सरकारी कामकाजमा बाहेक जिल्लाभित्र हातेकागजको कम मात्र प्रयोग हुने गरेको स्वीकार गर्दै यसको बजारीकरणका लागि कार्यालयको तर्फबाट पहल गरिरहेको बताउँछन्। कापीसहितका उद्योग जिल्लाभित्र नहुँदा समेत आन्तरिक  खपतमा समस्या आएको कार्यालयको बुझाइ छ।

प्रकाशित: २७ वैशाख २०७६ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App