१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘प्रहरी नेतृत्वले पूर्वप्रहरी चिनेन’

नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलनमा सहभागी अतिथिहरू। तस्बिरः नागरिक

पोखरा–नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँवरले प्रहरीको वर्तमान नेतृत्वले पूर्वप्रहरीलाई नचिनेको भन्दै दुःख व्यक्त गरेका छन्।

नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले प्रहरी नेतृत्वले पूर्व प्रहरीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नचिनेको भन्दै दुःख व्यक्त गरेका हुन्। उनले पूर्व प्रहरीलाई राज्यले प्रयोग गर्न नजानेको समेत टिप्पणी गरे।

राज्यले पूर्वप्रहरीलाई प्रयोग गर्न नजान्दा त्यसको मार देशले भोगिरहेको बताउँदै उनले भने, ‘सीमित स्रोत र साधनका कारण प्रहरीले सुरक्षा दिन सकेको छैन, बलात्कारी र अपराधीलाई पक्राउ गर्न सकेको छैन, कतिपय अपराधको राम्रोसँग अनुसन्धान गर्न सकेको छैन।’ उनले पूर्वप्रहरीको अनुभव र दक्षतालाई प्रयोग गर्ने हो भने अपराध नियन्त्रणमा गुणात्मक फड्को मार्न सकिने दाबी गरे। उनले अनुभवबाट खारिएर अहिले फुर्सदमा रहेका पूर्वप्रहरीलाई सदुपयोग गर्न प्रहरी नेतृत्वलाई आग्रह गरे।

अध्यक्ष कुँवरले देश र जनताको सुरक्षामा खटिएका बेला कति प्रहरीले ज्यान गुमाए भन्ने रेकर्डसमेत राज्यले नराखेकोप्रति आक्रोश पोखे। ‘देशका लागि ज्यान गुमाएका पूर्वप्रहरीको परिवारको अवस्थासमेत राज्यलाई थाहा छैन,’ उनले भने, ‘कम्तीमा देश र जनताको सुरक्षामा खटिँदाखटिँदै ज्यान गुमाउने प्रहरीको रेकर्ड त राख्नुपर्छ, उनीहरूको परिवारको अवस्था त थाहा पाउनुपर्छ, अनि दयनीय अवस्थामा रहेका ती पूर्वप्रहरी र तिनका परिवारको रेखदेख पनि त गर्नुपर्छ।’

अध्यक्ष कुँवरले प्रहरी कल्याणकारी कोषमा तीन सय करोड भन्दा बढी रकम रहेको र त्यसमा पूर्वप्रहरीको ३३ प्रतिशतभन्दा बढी योगदान रहेकाले हिस्सा अनुसारको वार्षिक रूपमा ब्याज दिन आग्रह गरे। सो ब्याजबाट प्राप्त रकम पूर्वप्रहरीको जीवनस्तर उकास्न र उनीहरूको हितमा खर्चिने उनको भनाइ छ। साथै उनले पूर्वप्रहरीका लागि प्रहरी कार्यालयभित्रै अफिस सञ्चालनका लागि आवश्यक कोठा वा जग्गा उपलब्ध गराइदिन आग्रहसमेत गरे।

प्रदेश सांसद विन्दुकुमार थापाले पूर्वप्रहरीको सीप, क्षमता, दक्षता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताए। उनले पूर्वप्रहरीलाई समृद्ध नेपाल सुखी नेपाली अभियानमा सघाउन पनि आग्रह गरे।

नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहोराले पूर्वप्रहरीको अनुभवलाई सदुपयोग गर्नेबारे आफूले पहल गर्ने आश्वासन दिए। उनले पूर्वप्रहरीको आर्थिक स्तर उकास्नका लागि गर्ने तालिममा प्रहरी कल्याणकारी कोषबाट सहयोग गर्न सकिने बताए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले राज्य र पूर्वप्रहरीबीच ग्याप रहेको भन्दै त्यो ग्याप पुर्न सुझाव दिए। उनले भने, ‘पूर्वप्रहरीसँग ज्ञान, सीप, क्षमता, दक्षता, अनुभव सबै छ, राज्यलाई तपाईंहरूसँग भएको ज्ञान, सीप, क्षमता, दक्षता, अनुभव सबै चाहिएको छ, तर तपाईंहरू बीच ग्याप भएकाले त्यसको उपयोग हुन सकेको छैन, त्यसैले ग्याप पुर्नुस् र सहकार्य गर्नुस्।’ उनले पूर्व प्रहरीहरूलाई गुनासो कम तर समृद्धिको यात्रामा भूमिका बढी खेल्न पनि सुझाव दिए।

नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेश तदर्थ समिति संयोजक एकनारायण शर्माले पूर्वप्रहरीको संगठनलाई संघीयताको मूल मर्मअनुसार अघि बढाइने जानकारी दिए।

सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका करिब तीन सय ५० पूर्वप्रहरी सहभागी छन्। सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित: २६ वैशाख २०७६ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App