१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा रासायनिक मलको चरम अभाव

ताप्लेजुङ– किसानलाई मल तथा बीउबिजनमा अधिकतम सहयोग गरेर कृषिक्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी लक्ष्य रहेको वर्ष नै ताप्लेजुङका किसानले रासायनिक मलको चरम अभाव खेपेका छन्।

सुन्दै अपत्यारिलो लाग्ने अभावको क्षण यस्तो छ कि, यहाँका किसानले करिब १ हजार मेट्रिकटन रासायनिक मलको माग गर्छन्, मल दिनेले ७ मेट्रिकटन मात्र दिन्छ। यो दयनीय अवस्था सुन्दा मलको अभावले यहाँका किसान कत्तिको जलिरहेका छन् भन्ने प्रस्ट हुन्छ। अलैंची जोन ताप्लेजुङका कार्यालय प्रमुख धीरेन्द्र मिश्रका अनुसार यहाँका किसानमा रासायनिक मलको सबैभन्दा बढी माग र आवश्यकता मकैबालीका लागि हो। त्यसपछि धानखेतीमा समेत मलको प्रयोग हुँदै आएको छ। तर, यहाँका अधिकतर किसानले एक गेडो पनि मल खरिद गर्न पाएका छैनन्। मल ढुवानीका लागि सरकारले अनुदानको व्यवस्था गरेको छ।

वार्षिक नवीकरणसहित सबै वैधानिक प्रक्रिया पूरा गरेका सहकारी संस्थामार्फत मल ढुवानी गरी किसानलाई आपूर्ति गर्ने व्यवस्था अनुरुप यहाँबाट १५ वटा सहकारी संस्थाले मल ढुवानी सिफारिस लगेका छन्। तर, ४ वटा संस्थाले मात्र मलको केही परिणाम पाएका छन्, अरु कहिले पाइएला र किसानमाझ पु¥याउँला भन्दै बाटो रुँघेर बसेका छन्। मिश्रका अनुसार ढुवानी सिफारिस लगेका मध्ये ३ वटा सहकारी संस्थालाई मंगलबार मात्र ३५ बोराका दरले मल उपलब्ध गराइएको छ। यो परिणाम ढुवानी गर्न एउटा मालबाहक ट्रकलाई समेत अपर्याप्त भएपछि अहिले ती संस्थाले आफूले पाएको मल बुझेका छैनन्। झापाको विर्तामोडस्थित कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले यो मलको परिणाम उपलब्ध गराउनुपर्ने हो।

चैत दोस्रो साता आएको ५–७ मेट्रिकटन जिल्लामा एक गेडो पनि मल नआएको अलैंची जोन कार्यान्वयन एकाइ ताप्लेजुङले जनाएको छ। अघिल्लो वर्ष साढे ४ सय मेट्रिकटन मल भित्रिएको यहाँका करिब ४० प्रतिशत किसानले त्यो परिणामको मलबाट सन्तुष्टि महसुस गरेका थिए। अहिले बढीमा ७ मेट्रिकटन मात्र भित्रिएको छ। यसले किसानको आवश्यकता सम्बोधन गर्न नसकेको छर्लंग बनाउँछ। मिश्रले यहाँका अधिकतर किसानले डिएपीभन्दा बढी युरिया मललाई प्राथमिकता दिँदै आएको तर युरियाको प्रयोगले मात्रै बाली सप्रिन नसक्ने बताएका छन्। उनले युरियाले बाली हलक्कै बढाउने तर उत्पादन वृद्धिमा डिएपी मलसमेतको प्रयोग मात्र अब्बल हुने सुझाएका छन्। मिश्रले यो सल्लाह दिए पनि किसानले युरिया र डिएपी दुवै प्रकृतिको मल पाएका छैनन्। जबकि पहाडी जिल्लामा मकैबालीमा दोहोरे लगाउने समय हो। यहीबेला किसानले मलको प्रयोग गर्दै कमै गोड्ने गर्छन्। बर्खेधान लगाएका किसानका लागि पनि मलको सबैभन्दा बढी आवश्यकता खड्किने समय पनि यही हो। मलको चरम अभावका बीच अधिकतम मूल्य लिएर किसानलाई मारमा पार्ने खतरा पनि बढ्दै गएको छ।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले तेस्रो बाटोबाट लुकाएर ल्याएको डिएपी मललाई बजार मूल्यभन्दा करिब ६ सय ५० रुपैयाँ प्रतिबोर सम्ममा बिक्री गर्दै गरेको सूचनाका आधारमा छापा मार्दा त्यस्तै देखिएको फुङ्लिङ बजारको एउटा विषादी पसल शिल गरिएको जानकारी दिए। उनले पसल सञ्चालकलाई कानुनी दाहेरामा ल्याइएको समेत जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७६ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App