१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुलद्वारा बार्सिलोना स्तब्ध

लन्डन – उत्कृष्ट पुनरागमनमा बार्सिलोनालाई स्तब्ध पार्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीसँग ‘महारथी टोलीको मानसिकता’ भएको प्रतिक्रिया दिएका छन्।

लिभरपुल च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको यो लगतार दोस्रो पटक हो। गत साता बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेगमा लिभरपुल ३–० ले निरीह बनेको थियो। दोस्रो लेगमा मंगलबार घरेलु मैदान एन्फिल्डमा उत्रँदा लिभरपुल नियमित स्ट्राइकर मोहम्म सालाह र रोबेर्टो फिर्मिनोबिना प्रवेश गरेको थियो।

उनीहरूको स्थानमा टोलीमा मौका पाएका स्ट्राइकर डिभोक ओरिगी र वैकल्पिक खेलाडी जर्जिनो विज्नाल्डमले समान २ गोल गरेसँगै लिभरपुलले दोस्रो लेगमा ४–० को सनसनीपूर्ण जित हात पारेको हो। दोस्रो लेगमा हात पारेको जितपछि लिभरपुल समग्रमा ४–३ को जितका साथ फाइनल प्रवेश गरेको हो।

यसअघि लिभरपुलले २००५ मा एसी मिलानविरुद्ध ३–० ले पछि परेको स्थिति उल्ट्याउँदै अन्ततः पेनाल्टी सुटआउटमा च्याम्पियन्स लिगको उपाधि जितेको थियो। लिभरपुलले जुन १ मा मड्रिडमा हुने उपाधि भिडन्तमा अयाक्स र टोटेनह्यामबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। गत सिजन रियाल मड्रिडलाई उपाधि सुम्पिएको लिभरपुल यस पटक भने छैटाैं पटक च्याम्पिन्स लिगको उपाधि भित्र्याउन चाहन्छ।

यता बार्सिलोनाले भने यो लगातार दोस्रो सिजन प्रतियोगिताबाट बाहिरिएको हो। गत सिजन क्वार्टरफाइनल पहिलो लेगमा एएस रोमाविरुद्ध अग्रता बनाए पनि दोस्रो लेगमा सम्हालिन नसक्दा टोलीको यात्रा अन्तिम ८ मा सीमित बनेको थियो।
‘आजको प्रदर्शनको जति तारिफ गरे पनि त्यसका लागि कुनै शब्द छैन,’ क्लोपले भने, ‘खेल निकै रोमाञ्चक र सनसनीपूर्ण रह्यो। पक्कै पनि जित निकै कठिन थियो तर नतिजा स्पष्ट थियो। मलाई यो जित अझै सपनाजस्तो लागिरहेको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो। विश्वमा धेरै महत्वपूूर्ण पक्षहरू छन्। तर टोलीले कडा मिहिनेत र धैर्यताले आज एन्फिल्डमा भावनात्मक वातारण रचियो, त्यो अझ विशेष छ। यसको सम्पूर्ण श्रेय खेलाडीलाई जान्छ।’
‘यस नतिजाले फुटबलमा जे पनि सम्भव छ भन्ने पुनः प्रमाणित भएको छ,’क्लोपले थपे, ‘यो राम्रो हो।’

खेलको सातौं मिनेटमा ओरिगीले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो। यो अग्रतासँगै लिभरपुलले समग्रमा भने खेल ३–१ को अन्तरमा झारेको थियो। दोसो हाफमा विज्नाल्डमले २ मिनेटको अन्तरमा २ गोल गरेसँगै लिभरपुलले ३–० को अग्रताका साथ समग्रमा खेल ३–३ को बराबरीमा ल्याएको थियो।

५४औंं मिनेटमा विज्नाल्डमले बललाई जाली चुमाउँदै लिभरपुलको अग्रता दोब्बर पारेका थिए भने त्यसको २ मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरेसँगै लिभरपुलले समग्रमा खेल ३–३ को बराबरीमा ल्याएको थियो। खेल सकिन ११ मिनेट बाँकी हुँदा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको चलाखीपूर्ण कर्नर प्रहारलाई ओरिगीले पोस्टको दिशा दिएसँगै लिभरपुलले दोस्रो लेगमा ४–० को अग्रता बनाएको थियो। यस गोलसँगै लिभरपुल अन्ततः ४–३ को नतिजाका साथ उपाधि नजिक पुगेको हो।

‘यो नतिजाले मलाई कस्तो असर गर्छ थाहा छैन,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘तर प्रशिक्षकको नाताले म आजको स्तब्धपूर्ण नतिजाको सम्पूर्ण जिम्मेवारी लिन तयार छु।’

‘आजको प्रदर्शनको जति तारिफ गरे पनि त्यसका लागि कुनै शब्द छैन। खेल निकै रोमाञ्चक र सनसनीपूर्ण रह्यो। पक्कै पनि जित निकै कठिन थियो तर नतिजा स्पष्ट थियो। मलाई यो जित अझै सपनाजस्तो लागिरहेको छ ।’

प्रकाशित: २६ वैशाख २०७६ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App