१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चौतर्फी दबाबपछि सिमसार पुर्ने काम रोकियो

फेवातालको माटोले पुरिएको सिमसार क्षेत्र। तस्बिरः उमेश पुन/नागरिक

पोखरा– फेवातालको माथिल्लो भागमा रहेको सिमसार पुर्ने काम बन्द भएको छ। फेवातालको माटो हालेर सिमसार पुरिएको नागरिक दैनिकबाट समाचार प्रकाशित भएपछि सर्वत्र आलोचना भएसँगै सिमसार पुर्ने काम बन्द भएको हो।

पोखरा महानगरपालिकाकै मिलेमतोमा सिमसार पुरिएको भन्दै नागरिक दैनिकमा समाचार प्रकाशित भएको थियो। सिमसार पुरेको समाचार प्रकाशित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण भएको थियो। उनले सोमबार सिमसार क्षेत्रको अवलोकन गर्दै सिमसार बचाउनुपर्ने महानगरले सिमसार पुरेर उल्टो काम गरेको भन्दै तत्काल रोक्नुपर्ने बताएका थिए।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सिमसार पुर्ने काम पूर्ण रूपमा बन्द भइसकेको बताए। उनका अनुसार आइतबारदेखि नै सिमसार पुर्न बन्द भइसकेको छ। स्थानीयले खेती गर्नका लागि पुर्ने भनेकाले माटो दिए पनि सिमसार पुरिन थालेपछि त्यसलाई तत्काल रोकिएको उनले बताए।

प्रमुख जिसीले महानगरपालिकाले माटो बेचेको भन्ने कुरा भने सही नभएको बताए। ‘हामीले माटो बेचेका होइनौं,’ उनले भने, ‘हामीले फेवातालबाट निकालेको माटो फाल्नैपर्ने थियो, त्यही बेला समर्खुवासीले खेती गर्नका लागि माटो प्रयोग गर्छौं भने, हामीले त्यही विश्वासमा माटो दिएका हौं, तर पछि बेइमानी गरेपछि सिमसार पुर्न बन्द गरेका हौं।’

खेतीयोग्य बनाउनका लागि मात्र माटो दिइए पनि स्थानीयले फेवातालको माटोबाहेक अन्तबाट पनि माटो लगेर घडेरी बनाउन लागेको पत्ता लागेपछि रोक लगाइएको जिसीले बताए। उनले सिमसार क्षेत्रमा घडेरी बनाउन नदिने तर खेती गर्न दिने बताए।

महानगर प्रमुख जिसीले अब फेवातालको माटो उत्खनन पनि नहुने र सिमसार क्षेत्रमा माटो पनि नफालिने स्पष्ट पारे। ‘हामीले सिमसार क्षेत्रमा माटो फाल्ने अधिकारै दिएका छैनौं,’ उनले भने, ‘फेवातालको माटो उत्खनन गर्ने काम नै बन्द गरिसक्यौं, अब न फेवातालको माटो उत्खनन हुन्छ, न त सिमसार नै पुरिन्छ।’ उनले बर्खा लागेकाले फेवातालको माटो उत्खनन गर्ने काम रोकेको बताए। सिमसार क्षेत्रमा हालसम्म लगेर पुरिएको माटो के गर्ने भन्नेबारेमा भने महानगर मौन छ।

फेवाताल गहि-याउन पोखराको खपौंदी क्षेत्रबाट निकालिएको माटोले पामे नजिकैको समर्खु क्षेत्रमा रहेको सिमसार पुरिएको थियो।


गण्डकी प्रदेश सांसद रामजी बराल ‘जीवन’ले सिमसार पुर्ने काम बन्द भएकोप्रति खुसी व्यक्त गरे। तर, पुरिएको माटो पनि निकालेर पुरिएको ठाउँलाई पहिलेकै अवस्थामा फर्काइनुपर्ने उनले बताए। बरालले महानगरले जानाजान सिमसार पुर्ने काम गरेको बताए। उनले भने, ‘पुर्ने काम रोकियो त्यो स्वागतयोग्य छ, तर महानगरले पहिल्यै पुरिएको ठाउँ सिमसार क्षेत्र हो भनेर किन बुझेन? यस विषयमा महानगरले बुझेर पनि बुझ पचाएको देखिन्छ, यसबारे जनतालाई महानगरले प्रस्ट पार्नुपर्छ।’ उनले सिमसार पुर्दा चलखेल भएको हुन सक्ने आशंका गर्दै यसबारे महानगर प्रमुखले जवाफ दिनुपर्ने बताए।

महानगर प्रमुख जिसीले भने फेवातालको जलाधार क्षेत्र र त्यसमा पर्ने सिमसार क्षेत्रको सीमांकन गरिनुपर्ने बताए। ‘सिमसार क्षेत्र कहाँसम्मलाई मान्ने?’ उनले भने, ‘सिमसारको क्षेत्र कति हो? पहिले सीमांकन गर्नुप-यो।’ उनले सिमसार क्षेत्रमा व्यक्तिको जग्गा भएकाले त्यसबारे पनि निर्णय गर्नुपर्ने बताए। ‘सिमसार क्षेत्रमै व्यक्तिको जग्गा छ,’ उनले भने, ‘उनीहरूसँग लालपुर्जा छ, कि त राज्यले मुआब्जा दिनुप-यो, कि उनीहरूको जग्गाको भोगाधिकार दिनुप-यो, यसको टुंगो लगाउनुप-यो।’

यसअघि फेवाताल गहि-याउन पोखराको खपौंदी क्षेत्रबाट निकालिएको माटोले पामे नजिकैको समर्खु क्षेत्रमा रहेको सिमसार पुरिएको थियो। फेवातालको माटो निकाल्ने जिम्मा पाएको रिच पोखरा कन्स्ट्रक्सनले त्यहाँ हालसम्म चार सयभन्दा बढी टिप्पर माटो हालेर सिमसार पुरिइसकेको छ। सिमसार पुरिन थालेपछि प्रदेश सांसद रामजी बराल ‘जीवन’सहित नागरिक समाजले विरोध गरेका थिए।

प्रकाशित: २५ वैशाख २०७६ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App