१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काबेली करिडोरः दोस्रो खण्डमा परीक्षण

काबेली करिडोरअन्तर्गत फिदिमको थापाटारमा रहेको सवस्टेसन। तस्बिरः गिरिराज/नागरिक

पाँचथर– इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि बनाइएको विद्युत् प्रसारणलाई काबेली करिडोरको दोस्रो खण्डको काम सकिएसँगै परीक्षणको काम भइरहेको छ। इलामको सोयाकदेखि पाँचथरको थापाटारसम्मको ४२ दशमलव ८८ किलोमिटरको दोस्रो खण्डको काम सकिएको हो। झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको प्रसारण लाइनमध्ये इलामसम्मको पहिलो खण्डको काम दुई वर्षअगाडि नै सकिएको थियो।

प्रसारण लाइनको काममा विभिन्न कारणले ढिलाइ भएको थियो। ९१ किलोमिटर प्रसारण लाइनमध्ये सबैभन्दा लामो दोस्रो खण्ड रहेको छ। विभिन्न चरणमा परीक्षणका कामहरू भइरहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए। थापाटारमा रहेको सवस्टेसनसम्मको प्रसारण लाइनको परीक्षण भइरहेको हो। ‘स्थानीयवासीको अवरोध, रुख कटान, ठेकेदारको कामलगायतले ढिलाइ भएको थियो। अहिले कम्युनिकेसनको तारको परीक्षणको काम बाँकी छ। आइतबार अबेरसम्ममा यो परीक्षण पनि सक्ने छौं’, उनले भने, ‘दोस्रो खण्डको काम सम्पन्न भएको हो। अब हाम्रो तेस्रो खण्ड चाँडै सक्ने छौं। परीक्षणमा खटिरहेका छौं। सफल भइरहेको छ। मंगलबारसम्मका सवस्टेसनसम्म चार्ज हुने छ।’

यहाँ विद्युत् उत्पादनका काम धमाधम भइरहेकाले १३२ केबिए विद्युत् प्रसारण लाइनको कामलाई प्राथमिकतामा राखिएको थियो। दोस्रो खण्डमा १ सय २६ वडा टावर राखिएको छ। यो खण्डमा फिदिमको पल्लोटार, इलामको सिद्धिथुम्कालगायतका ठाउँमा स्थानीयले अवरोध गरेका थिए। अवरोधले लामो समयसम्म काम अवरुद्ध भएको थियो। मुआब्जा, रुख कटानलगायतका समस्याहरू थिए। पल्लोटारमा प्रसारण लाइनको रुट परिवर्तन गरिएको थियो। ठेकेदारको काम पनि सन्तोषजनक हुन नसकेको बताइएको थियो। थापाटारको सवस्टेसनमा २२ मेगावाटको तल्लो हेवा जलविद्युत् आयोजना जोडिने छ। यसअघि ३३ केभिए प्रसारण लाइनमा जोडिएको १४ मेगावाटको हेवा‘ए’को विद्युत् पनि यहींबाट केन्द्रीय प्रसारणमा जडान हुने छ।

अब थापाटारदेखि अमरपुरसम्मको काम १३ दशमलव ३ किलोमिटर खण्डको काम बाँकी रहेको छ। यहाँ एउटा टावर राख्ने र ६ किलोमिटर तार टाँङ्ने काम बाँकी रहेको द्विवेदीले जानकारी दिए। उनका अनुसार असार १५ सम्ममा काम सक्ने योजना छ।  अमरपुरमा २५ मेगावाटको काबेली बी १, १० मेगावाटको इवाखोला जोडिने छ। यही क्षेत्रमा काबेली ए जलविद्युत् अयोाजनासमेत छ। आर्थिक वर्ष २०६६/०६७ बाट करिडोरको काम सुरु भएको थियो। आव २०७१/०७२ भित्र सक्ने सुरुआती योजना थियो। समयमा काम नसकिँदा पटक–पटक म्याद थपिएको थियो। प्रसारण लाइनको काम सम्पन्न नहुँदा विद्युत् उत्पादकहरू चिन्तित थिए।

भारतीय ज्वग्वार एण्ड एस्टर कम्पनीले ठेक्का लिएको थियो। प्रसारण लाइनअन्तर्गत झापाको लखनपुर, इलामको गोधक, पाँचथरको थापाटार र अमरपुरमा केही वर्षअगाडि नै सवस्टेसनको काम सकिएको थियो। १ अर्ब ३० करोडमा प्रसारण लाइन र १ अर्बमा सवस्टेसनको ठेक्का लागेको थियो।

प्रकाशित: २३ वैशाख २०७६ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App