१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अण्डाको मूल्य घट्दा दैनिक दुई करोड घाटा

चितवन - रत्ननगर नगरपालिका–१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि पछिल्लो एक वर्षदेखि उनले चल्ला राखेका छैनन्। यसअघि उनले खोर खाली राखेका थिएनन्। पछिल्लोपटक गरेको कुखुरापालनबाट भएको अण्डा उत्पादनको दर लागत मूल्यभन्दा कम पर्न थालेपछि खोर खाली राखेको उनी बताउँछन्।

‘दाना, औषधिको मूल्य बढेका छन्। रोगहरु बढी लागेका छन्,’ उनी भन्छन्, ‘अहिले पोल्ट्री बजार अत्यन्त कमजोर भएको छ, लागतअनुसार उत्पादन मूल्य पाइराखेका छैनन्।’ उत्पादनअनुसार लागत मूल्य पाउने वातावरण बने चल्ला राख्ने सोच रहेको उनी बताउँछन्। अहिले पनि अण्डाको मूल्य ज्यादै न्यून भएकाले लागतअनुसार मूल्य पाउने वातावरण बन्नेमा उनी ढुक्क हुन सकेका छैनन्। 

‘कुखुरापालन गर्दा सधैं तनाव भइराख्छ, तैपनि वातावरण सुध्रियो राख्नुपर्ला भनेको उस्तै नै छ,’ उनी भन्छन्, ‘नेपालमा आत्मनिर्भर बन्न लागेको यो व्यवसाय धरापमा छ। सुध्रिन्छ भन्ने गाह्रो अवस्थामा पुगेको छ।’ बजार सुध्रिएला र चल्ला राखुँला भन्ने रघुनाथ मात्र अहिलेको बजार अवस्थाले चिन्तित छैनन्, खोरमा कुखुरा भएका र अण्डा उत्पादन गरिरहेका किसानलाई पनि चिन्तित बनाएको छ। नेपाल अण्डा उत्पादक संघले वैशाख २ गते एक क्रेटको दुई सय रुपैयाँ मूल्य कायम गरेको छ।

अहिले पनि सोही मूल्यमा किसानले उत्पादन गरेको अण्डा बिक्री गरिरहेका छन्। संघले तोकेको मूल्यअनुसार एउटा अण्डाको किसानले ६ रुपैयाँ ६६ पैसा पाउँछन्। उपभोग घटेको र उत्पादन धेरै रहेकाले अण्डाको मूल्य लागतको तुलनामा न्यून तोक्नुपरेको अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल बताउँछन्। अघिल्लो वर्षभन्दा यो वर्ष अण्डा उत्पादन ४० प्रतिशत वृद्धि भएको उनले बताए। अण्डा खपत दर भनेको वार्षिक आठदेखि १० प्रतिशत मात्र बढ्ने भएकाले खपत एकैपटक बढाउन समभव नरहेको उनी बताउँछन्।

हेटौंडा र काठमाडौंमा बर्ड फ्लू भेटिएपछि अण्डाको खपत दर केही घटेकाले बजारमा अण्डा स्टक बसेको उनको भनाइ छ। अण्डा उत्पादनको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा हुने गरेको छ। उपत्यकामा हुने खपत घटेकाले अण्डाको मूल्य घटेको उनले बताए। एउटा अण्डा उत्पादन गर्न अहिले किसानको १० रुपैयाँ ५० पैसा खर्च हुने गरेको छ। नेपालमा दैनिक ५० लाख गोटा अण्डा उत्पादन भइरहेको छ। किसानले लागतभन्दा तीन रुपैयाँ ८४ पैसा घाटामा अण्डा बेचिरहेका छन्। यसले किसानलाई दैनिक एक करोड ९२ लाख रुपैयाँ घाटा भइराखेको छ।

अहिलेको मूल्य बढ्न करिब दुई साता लाग्ने उनी बताउँछन्। ‘बजार सुधारोन्मुख छ, अहिले बजारको अवस्था बुझ्ने र सप्लायर्स, किसानसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने, ‘दानाको मूल्य केही घट्यो भने लागत मूल्य केही घटाउन सकिन्छ, अण्डाको मूल्यमा केही वृद्धि गर्न सके किसानलाई नाफा नभए पनि घाटा हुने थिएन।’

दीर्घकालीन रुपमा ह्याचरी संघसँग सहकार्य गरेर नेपालमा आवश्यकताभन्दा बढी प्यारेन्ट चल्ला नल्याउन पहल गर्ने तयारी संघको छ। सातामा एक लाख २५ हजार चल्ला उत्पादन भए नेपालको माग पूरा गर्न सकिने उनी बताउँछन्। अहिलेको समयमा दुई लाख ५० हजार भन्दा बढी चल्ला उत्पादन भइराखेको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App