१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

'सहरमा मानवीयता हराउँदै गएको छ'

सीताराम हाछेंथु, पूर्वट्राफिक प्रहरी

तपाईंको विचारमा सहर भनेको के हो?
जनसंख्या बढी भएको सुविधायुक्त व्यवस्थित बस्ती नै सहर हो। सहरमा हरेक सुख सुविधा पाइन्छन्। त्यहाँको प्रशासनले आम जनताको आवश्यकतालाई केन्द्रमा राखेको हुन्छ। सहर यातायात र ट्राफिक व्यवस्था पनि अत्यन्तै चुस्त र व्यवस्थित हुन्छ। संसारका अरु मुलुकलाई हेर्ने हो भने पनि सहर विकास र समृद्धिको पहिलो शर्त भनेकै सडक र यातायात हो। सडक र यातायातबाटै सहरलाई समृद्धि बनाउने योजना मुख्य सहरको प्रशासनले राखेको हुन्छ।

हामीकहाँ सडक र सार्वजनिक यातायातको अवस्था कस्तो किसिमको छ?
सडक र सार्वजनिक यातायात अत्यन्तै बिग्रिएको उदारहण कहीँ र कसैलाई दिनुप-यो वा भन्नुप-यो भने सायद नेपालको नाम नै पहिलो नम्बरमा आउँछ होला। किनभने हाम्रा सहरको यातायात भद्रगोल अवस्थामा छ। सहर र सहरको सडकले थेग्नै नसक्ने सवारी संख्या काठमाडौंमा छ। हरेक वर्ष हजारौं गाडी थपिए पनि यहाँको प्रशासनले सडकलाई बनाउनुपर्छ भन्नेमा चासो दिएको छैन। संसारका अरु मुलुक प्रविधिको प्रयोग गरेर कति एडभान्स भइसके। तर, हामीकहाँ उही पुरानै किमिसको ट्राफिक व्यवस्था कायमै छ। एउटा सानो मेसिनले गर्न सक्ने काममा हामीले हजारौं ट्राफिक प्रहरी खटाएका छौं। सडक बत्ती बनाउनका कुनै ठूलो सपना बुन्न पर्दैन। आजको भोलिमा हुने काममा पनि यहाँको प्रशासन गैरजिम्मेवार छ। उपत्यकाभरका सडकमा १८ लाख रूपैयाँको ट्राफिक लाइट भयो भने काफी छ। तर, मन्त्री, सांसद र सरकारी उच्च पदस्थ व्यक्तिले सामान्य काम गर्न सकेका छैनन्।

तपाईंले लामो समय ट्राफिक प्रहरीका रूपमा काम गर्नुभयो, हालै मात्र अवकाश लिनुभयो, पदमा रहुन्जेल ट्राफिक लाइट जडानबारे किन आवाज उठाउन सक्नुभएन?
मैले आफूले सक्दो गरेको हुँ। मेरो अधिकारभित्रको क्षेत्रमा मैले धेरै परिवर्तन ल्याएको छ। उपत्यका अति नै जटिल ठाउँको जाम हटाउने प्रयास नै मेरो हो। जहाँसम्म ट्राफिक लाइटको कुरा छ यसबारे मैले माथिल्लो निकाय समक्ष पटक– पटक कुरा उठाउँदै आएको थिएँ। तर, माथिल्लो निकायले त्यसबारे चासो नदिएका कारण अहिलेसम्म पनि ट्राफिक लाइट बल्न नसकेको हो। यदि प्रशासन र माथिल्लो पदको व्यक्तिले चासो दिएको हुन्थ्यो भने यति झिनो समस्यामा पनि जनताले सास्ती खेप्नुपर्ने अवस्था आउने थिएन।

घुमेकामध्ये सबैभन्दा मनपर्ने सहर कुन हो?
केही वर्षअघि म जापान गएको थिएँ। त्यहाँ सहर मलाई ज्यादै सुन्दर लाग्यो। त्यहाँका मानिस इमान्दार र जिम्मेवार लाग्यो। जापानका हरेक सहरको ट्राफिक व्यवस्था पनि उत्तिकै व्यवस्थित रहेको पाएँ। मानिसकै कारण आज विश्वका अरु सहर चम्किएका छन्। हामीले प्रकृतिले यतिधेरै वरदान दिँदा पनि यहाँको महत्वलाई चिन्न सकेनौं। तिनलाई राम्ररी सजाउन सकेनौं। यस्तो अवस्था देख्दा साहै्र दुःख लाग्छ।

नेपालभित्र मनपर्ने सहर कुन हो?
मलाई केही हदसम्म काठमाडौं उपत्यका नै राम्र्रो लाग्छ। मेरो जन्म भक्तपुरमा भएको हो। सानैदेखि पनि यहाँको वातावरण र मौसमसँग घुलमिल भएको छु। उपत्यका आसपासका डाँडाकाँडा पनि मलाई सुन्दर लाग्छन्। मात्रै सहरभित्रको बस्ती भद्रगोल भएको हो।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ?
मैले त्यति धेरै देशका सहर घुमेको छैन। तालिमकै सिलसिलामा जापान जाने अवसर पाएको थिएँ। आफ्नो जागिरे कार्यकाल रहँदा म निमन्त्रणा आउँदा पनि विदेश गइनँ। विदाको दिन पनि जनताको सेवा गरेको अनुभव मसँग छ।

कस्तो रहेछ जापान?
त्यहाँका सहरैपिच्छे फरक–फरक विशेषता भेटाएँ। विदेशी सहर सुन्दर छन्। त्यहाँ विकास छ तर प्रकृति दोहन गरिएको छैन। हाम्रोमा सहरको विकासका नाममा हरियाली मासिन्छ। रूख–बिरुवा काटिन्छ। तर, विदेशमा एउटा बिरुवा काट्दा दुइटा बिरुवा रोपिन्छ। प्रकृतिलाई माथि राखेर विकासका काम गरिन्छ। हाम्रोमा सरासर प्राकृतिक विनास हुनेगरी विकासका काम भइरहेका छन्। यो राम्रो पक्ष होइन।

हाम्रा सहरलाई कसरी व्यवस्थित गर्न सकिएला?
मेरो विचारमा बनाउने हो भने हाम्रो देशका सहर विश्वमै नमुना बन्न सक्छन्। हामीले नगरेकै कारण सहरको विकास हुन नसकेको हो। सरकार र आम नागरिक सहरको विकासमा हातेमालो गरेको देखिन्न। सरकारी निकायका कर्मचारीले पनि कागजी विकासमा मात्रै चासो दिएका छन्। देशको विकास र योजनामाथि जिम्मेवार भएर काम गर्ने व्यक्तिको खडेरी नै लागेको छ।

सहरको विकास र व्यवस्थापनको निम्ति सरकारले कसरी काम गर्नुपर्ला?
मूलतः कानुनको परिपालना गर्नुप-यो। सामान्य काममा पनि जनतालाई सास्ती दिनु भएन। थोरै पैसा र थोरै समय खर्चिएर हुने विकासमा ढिलो गर्न भएन। विकास निर्माणका कामलाई तीव्रता दिनुप-यो। काठमाडौं कुरूप हुनुको मुख्य कारण अग्ला र अव्यवस्थित भवन निर्माण हो। सरकारले यसलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्न जरुरी छ। नयाँ योजना ल्याइए पनि तिनले पूर्णता पाएका छैनन्। उपत्यका प्राकृतिक रूपमा पनि रमणीय छ। हरिया डाँडाकाँडाले उपत्यकावासीलाई शीतल प्रदान गरिरहेका छन्। कागजी योजनालाई व्यवहारमा उतार्ने हो भने काठमाडौं विश्वकै नमुना बन्न सक्छ। सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाममा ध्यान दिए काठमाडौं अरु मुलुकका सहरभन्दा राम्रो बन्छ।

काठमाडौं कस्तो लाग्छ?
काठमाडौंलाई मैले बाल्यकालदेखि नै चिन्ने मौका पाएँ। यहाँको माटोसँग राम्ररी परिचित पनि भएको छु। म सानो छँदा उपत्यका अति नै व्यवस्थित थियो। जनसंख्या पनि ठिक्क थियो। अहिले उपत्यका कुरूप बनेको छ। त्यति सुन्दर सिंगो उपत्यकालाई प्लटिङ गरेर टुक्रा–टुक्रा पारिएको छ। पुराना मौलिकताहरू मेटिँदै छन्। यो अति नै दुःखको कुरा हो।

अहिले भइरहेको काठमाडौंलाई कसरी सुधार्न सकिएला?
निकै चुनौती छ। तर, नसकिने चाहीँ होइन। सहरका हरेक प्रशासनले जिम्मेवार र पारदर्शी भएर कार्य सम्पादन गर्ने हो भने सहर बन्न बेर लाग्दैन। अर्को कुरा, सहरको विकासका लागि सबै जागरुक हुन जरुरी छ। सरकारी निकाय बलियो हुनुपर्छ। विकासका निम्ति ल्याएका योजना समयमै सक्नुपर्छ। जनतालाई सहर सफा राख्न निर्देशन दिनुपर्छ। सहरवासीको लापरवाहीले पनि सहर बिग्रिएको हो। त्यसकारण उनीहरूलाई चेतनशील बनाउने नीति ल्याएर विकास निर्माणका काम अघि बढाउँदा नेपाल नमुना बन्छ।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो?
यहाँको मठ–मन्दिर नै हो। यहाँ हाम्रो मौलिक पहिचान बोकेका अमूल्य सम्पदा छन्। मौसम पनि उत्तिकै राम्रो छ। यहाँका मौसम र हरियालीले गर्दा दिनहुँ विदेशी पर्यटक आइरहेका छन्। हाम्रो मुलुकका ढुंगाले पनि ठूलो विशेषता बोकेका छन्। नेपाल सानो र सुन्दर छ। मात्र यहाँको सरकार कमजोर भएको हो। सरकारी पक्ष बलियो हुने हो भने सहरको विकास चाँडै हुन सक्छ।

मननपर्ने पक्ष?
सहर अति नै अस्तव्यस्त भएको छ। सहरका हरेक पक्षमा नागरिकले सास्ती खेप्नुपर्ने अवस्था अहिले आएको छ। त्यसैले यहाँका मननपर्ने पक्ष धेरै छन्। प्रदूषण, ट्राफिक जाम र भीडभाडले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ। यी पक्ष सम्झँदा काठमाडौंमा दिक्कलाग्दो छ। सरकारी निकायले समन्वय गरेर काम गर्ने हो भने सहरको ट्राफिक र यातायात व्यवस्था सुध्रन सक्छ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
म बसेको सहरको यातायात व्यवस्थित होस्। सडकमा निस्किएपछि कसैले पनि कुनै किसिमको दुर्घटना व्यहोर्न नपरोस्। हरेक मानिसले समान ढंगले सहरी सेवा सुविधाको उपभोग गरुन्। अर्को कुरा, अहिले सहर रुखो बन्दै गएको छ। म यस्तो सहरको परिकल्पना गर्छु, जहाँ सहरवासी एउटै परिवारजस्तै मिलेको देख्न पाइयोस्। सबैले एकअर्काको वास्ता गरून् । सहरमा सबैखाले सुविधा लिन झन्झट नपरोस् । हरियाली देख्न पाइयोस्। दुःख पर्दा साथ दिने भेटियोस्। यति भयो भने सहर बैगुन लाग्दैन।

तपाईंंको विचारमा सहर कस्तो हुनुपर्छ?
गाउँका मानिस हृदय र मायाले चल्छन्, सहरका मानिस मस्तिष्क र हिसाबले। पछिल्लो समय सहर आत्मीयता लाग्दैन। यहाँका मानिस कठोर व्यवहार देखाउँछन्। सबैले आफूलाई मात्रै ठूलो हुँ भन्ने ठान्छन्। तर, कोही पनि अरुको बारेमा सोच्दैनन्। विकास छ, मानवीय सहयोग र सद्भाव राख्दैनन्।

सहरवासीको वानी व्यवहार कस्तो लाग्छ?
सहरमा माया हराएको छ। सहरवासी मानवता र मायाका भोका छन्। सहरवासी नै जिम्मेवार नभएकाले सहर फोहोर बनेको हो । मलाई सहरवासीको बानी राम्रो लाग्दैन। हामी नागरिक नियम मिच्छौँ, अनि सरकारलाई दोष थुपार्छौं। सहरमा बस्नेहरू आफ्नो गेटको फोहोर कुनामा लगेर लुकाउँछन्। एकले अर्कोको कुरा काट्छन। जिम्मेवार निकायसमक्ष आफ्ना समस्या राख्न सक्दैनन्। तर, आफ्नो धरातल बिर्सने बानी सहरवासीमा छ।

मन भएर पनि पुग्न नपाएको ठाउँ कुन हो?
घुम्छु नै भनेर त्यति धेरै कल्पिएको ठाउँ छैन। जागिर हुँदा बाहिरतिर त्यति घुम्न पाइनँ। अब अलि फुर्सदिलो भएको छु। नेपालकै केही भाग घुम्ने सोच बनाएको छु।

सहरको मनपर्ने खानेकुरा के हो?
काठमाडौंको मिठो लाग्ने खानेकुरा त मःमः नै हो।
 

प्रकाशित: १६ वैशाख २०७६ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App