१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्ता लागेन काँप्ने रोग, न्युरो पठाइयो

उदयपुर– २० वर्ष कटेपछि शरीरै काँप्ने अज्ञात रोगबाट पीडित उदयपुरको समाल मगर परिवारका सबै बिरामीको थप उपचारार्थ न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ। दशकयता हात, गोडा काँप्ने, टाउको हल्लिरहने र केहिपछि पूरै शरिर काँपेर खान, बस्न, हिडडुल गर्न नसक्ने हुँदै बोली नै बन्द हुने रोगले थलिएका बिरामीहरुलाई जिल्ला अस्पताल उदयपुरले प्रारम्भिक उपचारपछि थप उपचारार्थ न्युरो पठाएको हो।

जिल्लाको रौतामाई गाउँपालिका ६ नामन्तका खड्गबहादुर समाल मगरको शाखा सन्तानमा देखा परेको यस्तो रोगबाट ३९ वर्षीय दुर्गबहादुर समाल मगरले गत चैत २९ गते मृत्यु भईसकेको छ। बिरामी ९ जनामध्ये ७ जनालाई आइतबार उपचारार्थ जिल्ला अस्पताल ल्याइएकोमा सोमबार विहान विराटनगर रिफर गरिएको हो। वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत रमेश खकुरेलले सबै विरामीलाई स्वास्थ्य कार्यालयको पहलमा घरमै गाडी पठाएर उद्धार गरी अस्पताल ल्याइएको बताए। नशा सम्बन्धी विशेषज्ञ उपचार सुविधा नभएको र रोग पनि पत्ता लाग्न नसक्ने हुनाले सामान्य उपचारपछि सबैलाई विराटनगर रlफर गरिएको खकुरेलले बताए।

‘वर्षौंदेखिको बिरामी छन् भन्ने सुनेर घरसम्मै गाडी पठाएर उद्धार गरी हिजो अस्पताल ल्याएका थियौं’ खकुरेलले भने ‘तर, यहाँ त्यस्तो रोगको उपचार संभव नभएको र रोग पनि पत्ता लगाउन नसकिने भएकाले विराटनगर पठायौं।’ उनका अनुसार ७० बर्षीय डम्बरबहादुर समाल, ६४ वर्षीय तुलबहादुर मगर र ६२ वर्षीया नानुमाया मगर निकै बिरामी छन्। एउटै बाउका छोराछोरी उनीहरुमध्ये डम्बरबहादुर बस्नै नसक्ने गरी काँप्ने र बोलीसमेत बन्द भईसकेर सिकिस्त छन् भने दुई दाजु बहिनीलाई पनि कम्पनले गाल्दै लगेको छ।

उनीहरुकै ४ भतिज/भतिजीहरु ४० वर्षीया हिरालाई पनि रोगले निक्कै च्यापिसकेको छ। २९ वर्षीय भलबहादुर मगरलाई ५ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलिामा रहँदा कतारमै त्यस्तो व्यथाले छोईसकेको छ। अर्का दाजुका छोरा २८ वर्षीय पुष्प र भतिजी ३१ वर्षीया ललितालाई भर्खर-भर्खर रोगले छोएको छ। हिरा र भलबहादुरको अवस्था खाना, पानी खान र कलम समाएर लेखपढ गर्न नमिल्ने भएपनि सामान्य हिडडुल गर्न र बोल्नसक्ने अवस्था छ। पुष्प र ललिताको घरीघरी हात काँप्न थालिसकेको छ।

१० वर्षयता रोगले पीडित भएपनि मगर परिवारले औषधि उपचारको नाममा भने धामी झाँक्री बोलाएर झारफुक गर्ने र मसान पन्छाउने मात्र गरेको बताएका छन्। बिरामीका भतिजा मोहन समालका अनुसार समाल परिवारमा मात्र देखा परेको रोग भएकाले धामी बोलाएर झारफुक गर्ने र कुलदेवता बिग्रेको भन्दै पितृ पुजा गर्ने काम मात्र गर्दै आएको बताए। ‘नामन्ता सबै खाले मगरै मगर समुदायको बसोबासको बस्ती हो’ उनले भने ‘तर, यस्तो व्यथा हाम्रा समाल परिवार त्यो पनि एउटै बाजेको हाँगामा मात्र देखिएकाले कुल बिग्रेको ठहर गरेर धामी लगाउँदै आएका छौ।’ यसपटक अस्पतालबाटै गाडी आएर उपचार गर्न जानुपर्छ भनेकाले अस्पताल आएको उनले बताए।

जिल्ला अस्पतालका डा. अरुण मण्डलले यो रोग नयाँ खालको देखिएको भन्दै पत्ता लगाउन सुविधासम्पन्न अस्पताल पठाउनुपर्ने बताए। खासगरी नशाका कारण हुने यसलाई स्वास्थ्य विज्ञानको भाषामा ‘न्युरोलोजिकल डीजेनेरोटिभ डिसअर्डर’ भनिने भन्दै उनले समयमै उपचार गर्न सके निको हुने संभावना बढी हुने बताए। ९ जनामध्ये डम्बरबहादुरको उपचार कठिन भएपनि अन्यको उपचार संभव हुने उनको भनाई छ।

दशकदेखि व्यथाले च्यापेर बोलिसमेत बन्द हुनेगरी थलिएका डम्बरबहादुर उमेरले पनि पाको भएकाले उपचार निकै कठिन हुने अनुमान अस्पतालले गरेको छ। अन्यको हकमा उपचार संभव भएको तर, पहिले रोग पत्ता लगाउनुपर्ने मण्डल बताउँछन्। नयाँ खालको विरामी र एउटै परिवारभित्र उब्जेको रोग हुनाले रोगीको उपचारमा प्रदेश सरकारले नै खर्चको चाँजोपाँजो मिलाउन निर्देशनालयले आवश्यक पहल र समन्वय गरिरहेको जनाइएको छ।

प्रदेशसभा सदस्य नारायण बुर्जामगरले केहिदिनअघिको प्रदेशसभा बैठकको शून्य समयमा ‘एउटै गाउँका दर्जन मगर परिवारका सदस्यलाई शरीर काँप्ने व्यथाले च्यापेको’ प्रसंग उठाउँदै रोग पत्ता लगाएर निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका थिए। उनको माग अनुसार  प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत बिरामीको उद्धार गरी रोग पत्ता लगाउन पहल थालेको हो। स्वास्थ्य चौकीको सुविधा भएपनि गाउँघरमा कतिपयलाई चेतना अभाव र रुढीग्रस्त समाजको प्रभावमा स्वास्थ्योपचारभन्दा धामी झाँक्रीको भर पर्दा समाल परिवारमा एकपछि अर्को बिरामी थपिदै गएको पाइएपछि उपचारको पहल गर्न माग गरेको सांसद मगरले बताए।

प्रकाशित: १६ वैशाख २०७६ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App