२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खुल्यो पूर्वीपहाडको ढोका

भारतीय सीमा क्षेत्र पशुपतिनगरमा खुलेको अध्यागमन कार्यालय उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा। तस्बिर : भीम/नागरिक

इलाम - पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको छ। स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउ–जाउ सहज बनाएको हो।

गृहमन्त्री रामबहादुर थापाले आइतबार यहाँ आएर अध्यागमन कार्यालय औपचारिक उद्घाटन गरे। ‘पूर्वीपहाडको यो ढोका पर्यटकको मात्र होइन, मुलुककै विकास र समृद्धिको ढोका हो,’ मन्त्री थापाले भने, ‘अनि, स्थानीयले अत्यन्तै प्रतीक्षा गरेको यो नाकाबाट पूर्वीपहाडको मात्र नभई, सिंगो मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ।’ गृहमन्त्री थापाले कृषिमा समुन्नत जिल्ला इलामलाई ‘नेपालको स्विट्जरल्यान्ड’को उपमा दिए। ‘इलाम अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाएको चियासहित धेरै हिसाबले प्रसिद्ध छ,’ उनले भने, ‘यहाँ खुलेको अध्यागमनले दार्जिलिङ, सिक्किम आउने तेस्रो मुलुकका पर्यटक भित्र्याउन मात्र होइन, स्थानीय शान्ति–सुरक्षामा समेत सघाउँछ।’

यो कार्यालयले प्रवेश भिसा लिएर आएका विदेशीलाई आगमन अनुमति जारी गर्ने, यो नाका भइ प्रस्थान गर्ने विदेशीलाई प्रस्थान अनुमति दिने, विदेशीको आगमनसम्बन्धी विवरण अध्यावधिक राख्ने र अध्यागमनसम्बन्धी अभिलेख प्रत्येक साता विभागमा पठाउनेछ ।

पशुपतिनगरमा अध्यागमन खुलाउन स्थानीय उद्योग वाणिज्य संघ, सरकारी तथा गैरसरकारी संघ–संस्था, स्थानीय अगुवा र पर्यटनसँग सरोकारवालाले वर्षाैंदेखि प्रयास गरेका थिए। सूर्याेदय नगरपालिकासमेतको अगुवाईमा पटक–पटक संघीय सरकारको ध्यानाकर्षण गराउँदा मात्र यहाँ अध्यागमन खुलेपछि स्थानीयसमेत हर्षित छन्। पूर्वमा भारतसँग जोडिएका पाँचथर र ताप्लेजुङमा पशुपतिनगरजस्तो सहज भौगोलिक अवस्था छैन। त्यसैले पनि पशुपतिनगरको अध्यागमन पूर्वीपहाडकै पहिलो भएको छ। धेरै हिसाबले पहाडी क्षेत्रको उपयुक्त नाका मानिएपनि अध्यागमन कार्यालय नहुँदा यहाँबाट तेस्रो मुलुकका पर्यटक आउन–जान पाएका थिएनन्। पहाडकी रानी मानिने भारतको पर्यटकीय सहर यहाँबाट दार्जिलिङ करिब ५० किलोमिटरमा मात्रै छ। दार्जिलिङमा बर्सेनि आउने तेस्रो मुलुकका लाखौं पर्यटक पशुपतिनगरबाट नेपाल छिर्न नपाउँदा उतैबाट फर्किंदैथिए। पशुपतिनगरमा अध्यागमन खुलेपछि दार्जिलिङ आउने पर्यटकले नेपालका लागि यहींबाट प्रवेशाज्ञा (भिसा) पाउने भएका छन्।

यहाँको अध्यागमनले तेस्रो मुलुकका पर्यटकलाई १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा जारीसहितका काम गर्ने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। उनका अनुसार यो कार्यालयले प्रवेश भिसा लिएर आएका विदेशीलाई आगमन अनुमति जारी गर्ने, यो नाका भइ प्रस्थान गर्ने विदेशीलाई प्रस्थान अनुमति दिने, विदेशीको आगमनसम्बन्धी विवरण अध्यावधिक राख्ने र अध्यागमनसम्बन्धी अभिलेख प्रत्येक साता विभागमा पठाउनुपर्ने बताए।

‘अन्य नाकाको भन्दा यहाँको पूर्वाधार ज्यादै राम्रो भएकाले पनि पर्यटकलाई सहज हुन्छ,’ उनले भने, ‘विभागले सबै अध्यागमन कार्यालयलाई अत्याधुनिक र प्रविधिमैत्रीसमेत बनाउँदै लैजानेछ।’ उनले ‘भिजिट नेपाल–२०२०’ लाई पशुपतिनगर अध्यागमनले सघाउने बताए। ‘भिजिट नेपाल–२०२० मा सरकारले २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ,’ महानिर्देशक पौडेलले भने, ‘यो लक्ष्य हासिल गर्न विभागले पछिल्लो वर्ष करिब दर्जन स्थानमा अध्यागमन खोलिसकेको छ। पशुपतिनगर पनि एउटा महŒवपूर्ण स्थान भएकाले विभागको ध्यान यहाँ आकर्षित भएको हो।’ कार्यालयमा अध्यागमन अधिकृत, २ नायव सुब्बा, २ वरिष्ठ अध्यागमन सहायक, १ सहलेखापाल, १ अध्यागमन सहायक र २ कार्यालय सहयोगीको दरबन्दी छ।

यहाँको अध्यागमनले इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह«थुम, संखुवासभालगायत पूर्वी जिल्ला घुम्न आउने पर्यटकलाई सेवा पुग्छ। पशुपतिनगरमा अध्यागमन खुल्दा ठूलो संख्यामा उतापट्टि (दार्जिलिङ, भारत) आएका पर्यटक पूर्वी पहाड भिœयाउन सकिने सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए। ‘सूर्याेदय (पशुपतिनगरसमेत रहेको) नगरलाई प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको छ,’ उनले भने, ‘अहिले अध्यागमन पनि यहीं खुल्नुले चाहिँ सूर्याेदय र इलामलाई मात्र होइन, पूर्वीपहाडका सबै जिल्लालाई सहयोग पुग्छ।’ यहाँ अध्यागमन कार्यालय नहुँदा भारत भएर आउने तेस्रो मुलुकका पर्यटकले झापाको काँकडभिट्टा नाका प्रयोग गर्दैथिए। त्यहाँबाट भित्रिने अधिकतर पर्यटक इलाम नघुमी काठमाडौं, चितवन वा पोखरातिर लाग्ने गरेका थिए।

नजिकैको दार्जिलिङसम्म पर्यटक घुमाउन ल्याउने त्यहाँका व्यवसायीले आधा घण्टाका लागि ‘नेपाल घुम्ने’ प्याकेजसमेत राखेका हुन्छन्। भारतीय पर्यटकलाई भिसा नलाग्ने भएकाले आधा घण्टाको समय पशुपतिगर आएर उनीहरू साधारण किनमेल गर्छन् र फर्किन्छन्। मुद्रा सस्तो हुने भएकाले भारतभन्दा कम खर्चमा इलामलगायत पहाडी जिल्लाका रमणीय स्थान घुम्ने रहर बोकेका तेस्रो मुलुकका पर्यटक चाहिँ सीमासम्म आएर फर्किने गरेका थिए। पशुपतिनगरमा अध्यागमन कार्यालय भएपछि हजारौं पर्यटकले इलामलाई गन्तव्य बनाउन सक्ने पशुपतिनगरका व्यवसायी मिलन क्षेत्री बताउँछन्। ‘धेरै पर्यटक त्यहीं पर्तिर (भारतको फाटक) आएर इलामको छेउ हेर्दै मुख मिठ्याएर फर्किरहेका हुन्छन्,’ उनले भने, ‘ती पर्यटकलाई यता भिœयाउन पाए इलामले अरू व्यवसाय गर्नैपर्दैन, पर्यटक पालेरै खान–लाउन पुग्छ।’

इलामको सबैभन्दा अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर) पनि पशुपतिनगरबाट नजिकै पर्छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने भारतको नेपालसँग जोडिएको एकमात्र द्वार सन्दकपुरमा भारतपट्टिबाट बर्सेनि हजारौं पर्यटक आउँछन्। त्यतिमात्र होइन, यहाँ बर्सेनि तेस्रो मुलुकका पर्यटन व्यवसायी संस्थाले पर्यटकका लागि ‘साइकल रेस कम्पिडिसन’समेत आयोजना गर्छन्। तर, त्यहाँसम्म आएका पर्यटक नेपाल छिर्न भने नपाएर उतै फर्किने गरेका थिए।

यहाँ अध्यागमन खुलेपछि सन्दकपुर आउने पर्यटक इलामका ग्रामीण पर्यटकीय क्षेत्र, माइमझुवा, माबु, जमुनाको दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षित क्षेत्र चोयाटार वन, विश्व सम्पदा सूचीमा सूचीकृत माइपोखरीलगायत घुम्न सक्ने भएका छन्। दार्जिलिङ आएका ५ प्रतिशत पर्यटकमात्र नेपाल छिराउन सके इलामको आर्थिक विकासमा ठूलो सहयोग हुने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली बताउँछन्।

करिब ४ वर्षअघि नै गृहमन्त्रालयबाट आएको टोलीले पशुपतिनगरमा अध्यागमन कार्यालय राख्नेबारे स्थलगत अवलोकनसमेत गरेको थियो। तर, लामो समय यसप्रति सरकारको ध्यान गएन। ‘अहिले नेपालपट्टि अध्यागमन खुलेपनि भारतपट्टि नखुलेकाले पर्यटकले केही समय सुविधा चाहिँ पाउँदैनन्,’ महानिर्देशक पौडेलले भने, ‘यतापट्टि खुलेपछि भारतपट्टि पनि छिटो अध्यागमन खुलाउन दबाब पर्छ।’ गृहमन्त्री थापाले परराष्ट्र मन्त्रालयसँग कुरा गरेर भारतपट्टि पनि चाँडो अध्यागमन खुलाउन पहल गर्ने आश्वास दिए। ‘भारतपट्टि अध्यागमन खुल्दा नेपाललाई मात्र होइन भारतलाई पनि फाइदा हुन्छ,’ उनले भने, ‘परराष्ट्रसँग कुरा गरेर कूटनीतिक पहल गर्नेछु।’ केही महिनाघि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पशुपतिनगरको स्थलगत निरीक्षण गरी भारतपट्टि अध्यागमन कार्यालय खुलाउन पहल गर्ने बताएर फर्केका थिए।

प्रकाशित: १६ वैशाख २०७६ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App