१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाअभियोग प्रस्ताव पारित भएरै छोड्छ– योगेश भट्टराई

सिन्धुपाल्चोक- एमाले युवा नेता योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्कीसँग राजिनामा दिएर बाहिरिने बाहेक कुनै बिकल्प नरहेको बताएका छन्। अन्यथा संसदले दुई तिहाइ बहुमतबाट महाअभियोग प्रस्ताव पारित गर्दै कार्कीलाई बिदाइ गर्ने दाबीसमेत उनले गरे।

 ‘बिगतको राजनीतिक गल्ति सुधार्ने यो ऐतिहासिक अवसर कांग्रेसले पनि गुमाउने छैन,’ पार्टी जिल्ला कार्यकर्तालाई प्रशिक्षण दिन चौतारा आएका नेता भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘शतप्रतिशत महाअभियोग प्रस्ताव पारित भएरै छोड्छ।’ जनताबाट नांगिने भएकाले कांग्रेस प्रस्तावको पक्षमा आउनुको बिकल्प नरहेको तर्क उनले गरे।

                नैतिक आचरणमा नबसेर समानान्तर सरकार चलाउन खोज्ने लोकमानलाई एमालेले त्यतिकै नछोडिने प्रस्ट पार्दै नेता भट्टराईले आग्रह गरे, ‘राजनीतिक दलहरुले गरेको गल्ति स्वीकार्ने र सच्याउने अवसरमा सबै सहभागि बनौँ।’

                राजनीतिक प्रसंग उठाउँदै उनले अहिलेको सरकारले चुनावलाई अनिश्चित बनाइरहेको आरोप लगाए। एमालेले चुनावी कार्यतालिका सार्वजनिक गर्न आग्रह गर्दासमेत सरकारले यसबारे प्रमुख प्रतिपक्षी आफ्नो दलसँग कुरै गर्न नचाहेको दाबी गरे । ‘प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा मधेसवादी दललाई समेत अल्मल्याउन खोज्दै छन्,’ मधेशी दलसँग एमाले छलफल र सहकार्य गर्न चाहेको बताउँदै उनले भने।

                चुनाव गर्न नसकेर बर्तमान सरकार गठबन्धन तोडिने र एमाले नेतृत्वमा बन्ने सरकारले निर्वाचन गर्ने ठोकुवासमेत भट्टराईले गरे । एमाले राजनीतिमा कहिल्यै निषेधको नीति नलिएको जिकिर गर्दै उनले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न पार्टी तयार रहेको धारणा राखे । ‘सरकारका प्रधानमन्त्रीले संशोधनबारे एमालेसँग छलफल गर्नै आएका छैनन्,’ बिना औचित्य, प्रस्ताव र छलफल संशोधन हुन नसक्नेमा जोड दिँदै उनले थपे।

प्रकाशित: ५ कार्तिक २०७३ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App