१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टुक्रे योजना नियन्त्रण गर्छौं : मन्त्री ज्वाला

पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला।

मुगु - चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा प्रदेश सरकारले टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा टुक्रे योजनालाई नियन्त्रण गरिने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन्।

शनिबार मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग मन्त्री ज्वालाले भने, ‘चालु आर्थिक वर्षमा विविध समस्या र अडचनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए। आगामी आर्थिक वर्षमा सच्याउँदै १ करोडभन्दा मुनिका टुक्रे योजना दिने काम पूर्ण रुपमा बन्द गर्छौं।’

चालु आर्थिक वर्षमा विभिन्न कानुन, कार्यविधि तथा निर्देशिका बनाउनुपर्ने, कुन योजना कसले चलाउने भन्ने विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार अन्योल रहेकाले चालु आर्थिक वर्षमा विकास बजेट खर्चको अवस्था निराशाजनक देखिएको बताए।

आर्थिक वर्षको अन्त्यसम्म बजेट उत्साहजनक रुपमा खर्च हुने मन्त्री ज्वालाको भनाइ थियो। चालु आर्थिक वर्षभित्र परियोजना बैंक निर्माण गरी प्राथामिकताका आधारमा योजना सूचीकृत गर्ने र आगामी आर्थिक वर्षको सुरुवातदेखि नै बैंकको कार्यान्वयन गर्ने प्रदेश सरकारको लक्ष्य छ। योजना सूचीकृत गरी कुन योजना कसले चलाउने भन्ने विषयलाई टुंगो लगासकेपछि लगानी सम्मेलन आयोजना गर्ने बताए ।

साथै सेवा प्रवाह असहज हुने गरी बनाइएका कतिपय मन्त्रालयको जिल्ला कार्यालय स्थापना गर्ने उनले जानकारी दिए। कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा कार्यक्रममा आर्थिक घोटाला भएको भन्ने हल्लाको खण्डन गर्दै उनले लागत अनुमान गरी कार्यक्रम बनाइए पनि कतिपय प्रक्रियागत त्रुटिका कारण यस्तो भएको स्पष्टीकरण दिए।

 

प्रकाशित: १४ वैशाख २०७६ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App