१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्षमताभन्दा बढी भार बाेक्ने सवारीमाथि कारवाही

क्षमताभन्दा भार बोक्ने गरेका कारण ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन

सर्लाही - राजमार्गमा गुड्ने लहरी, ट्रक जस्ता ठूला मालबाहक सवारी साधनले क्षमताभन्दा अत्यधिक बढी भारवहन गरी गुड्ने गरेको पाइएको छ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाको विशेष टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नयाँरोडस्थित सर्लाही ट्रक व्यवसायी संघको धर्मकाँटामा तौल चेकजाँच गर्दा सवारी साधनले त्यति धेरै भारबहन गर्ने गरेको फेला परेको हो। दुई दिनदेखि जाँच गरिरहेको ट्राफिक टोलीले ना७ख ७०१८ नम्बरको लहरीले ५६ मेट्रिक टन कोइला बोकेको अवस्थामा नियन्त्रणमा लिएको छ। १४ चक्के लहरीको ४० टन २०० किलो क्षमता भए पनि १६ मेट्रिक टन बढी भार फेला परेपछि ट्राफिकले आवश्यक कारबाही प्रकृया अगाडि बढाएको छ।

त्यस्तै ना७ख १३५२ नम्बरको १२ चक्के ट्रक ३१ मेट्रिक टन सिमेन्ट बोकेको अवस्थामा नियन्त्रणमा लिइएको छ। उक्त ट्रकले क्षमताभन्दा १० मेट्रिक टन बढी भार बोकेको ट्राफिक प्रहरीले जनाएको छ। यो त आकस्मिक चेकजाँचका क्रममा देखिएको मात्र हो।

आकस्मिक चेकजाँचका क्रममा त्यस्ता ८५ वटा सवारीसाधनलाई कार्बाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।  ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी सहायक निरीक्षक इन्द्रभूषण मिश्र नेतृत्वको ४ सदस्यीय चेकजाँच टोलीले गरेको कार्बाही अभियानका क्रममा ७ मेट्रिक टन बढी भारबहन गरेका १६ वटा सवारीसाधनलाई भने नियन्त्रणमा लिएर राखिएको छ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक दीपेन्द्रकुमार सिंहले क्षमता भन्दा २ मेट्रिक टनसम्म बढी भारबहन गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले नै ५०० देखि १ हजार ५०० रुपैंयासम्म जरिवाना गर्ने र त्यो भन्दा बढी भारबहन गरेकालाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइने जानकारी दिए।

‘२ मेट्रिक टन बढी भारबहन गरेका सवारी साधनलाई जरिवानासहित सामान झारेर पठाउँछौं’, ट्राफिक प्रहरी निरीक्षक सिंहले भने, ‘त्योभन्दा बढी नै भारबहन गरेकालाई भने आवश्यक कार्बाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने तयारी गरिरहेका छौं।’

मालबाहक सवारी साधनले नियमविपरीत अत्यधिक भारबहन गर्ने गरेको गुनासो आएपछि आकस्मिक रुपमा चेकजाँच सहित कार्बाही प्रकृया अगाडी बढाईएको ट्राफिक प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

प्रकाशित: १४ वैशाख २०७६ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App