१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कतै घर बनिसके, कतै जग खनिँदै

सिन्धुपाल्चोक- बिहानीको खाना खाइवरी एकैछिन आराम गरेपछि बुद्धिबहादुर विक कोदालो र फलामे गल निकालेर टहरोबाहिर निस्के। सँगै पछि लागिन् पत्नी कल्पना पनि। बुद्धिबहादुरले जमिनमा कोदालो बजार्न थाले। खन्दै जाँदा सायद ढुंगा फेला पर्‍यो। पत्नीले फलामे गल दिइन्। उनले फुत्त ढुंगा निकाले। 'यस्तै खस्रो ढुंगा निक्लिए जगलाई काम दिन्थ्यो नि!' ढुंगा तह लगाउँदै कल्पनाले भनिन्। बुद्धिबहादुर खन्नमै व्यस्त रहे। कल्पना पनि कोदाली उठाएर माटो फाल्न कस्सिइन्।

कात्तिकको घमाइलो दिन। न गर्मी न जाडो। साँझ बिहान हल्का चिसो महसुस भए पनि जाडो छैन। दिउँसो काम गर्नलाई उपयूक्त मौसम भएर होला इर्खु–१ का विक दम्पतीले मौका छोपेका। 'घँडेरी खारेको नि, घर बनाउनुपरेन र?' मच्चिइसकेको कोदालो रोक्दै बुद्धिबहादुरले भने। भूकम्पपछिको पुनर्निर्माणमा जुटेको यो दम्पती सातादेखि घँडेरी खार्न व्यस्त छ।

आवास अनुदानको पहिलो किस्ता पाएपछि उत्साही उनीहरू जतिसक्दो छिटो नयाँ घर बनाउने ध्याउन्नमा छन्। 'उता बैंक खातामै पैसा थन्कने, यता टहरोमा बसिरहने कुरा त सुहाउँदो भएन नि,' भुइँमा कोदाली बिसाउँदै कल्पनाले थपिन्। दसैंअघि नै उनीहरूले पहिलो किस्ताको ५० हजार रुपैयाँ पाइसकेका छन्। चाडबाडमा मासिने डरले पतिपत्नी नै सदरमुकाम पुगेर अर्को बैंकमा खाता खोलेर सो रकम जम्मा गरेका थिए।

झ्याल, ढोकाका लागि आवश्यक काठपात जोहो भइसकेको बुद्धिबहादुरले सुनाए। वैशाखमै ढालेको रूख सुकेपछि चिर्न सिकर्मीसमेत खोजिसकेका छन् उनले। आर्थिक अवस्था कमजोर भएकाले सकेसम्म स्थानीय सामग्री प्रयोग गरेर घर बनाउन चाहन्छ विक परिवार। 'थोरै खर्चमा सानो तर बलियो घर बनाउँछौं,' उनीहरूले बेलिबिस्तार लगाए।

त्यसो त जलवीर–३ साईथोकका ६७ वर्षीय टंकबहादुर खड्काले घर ठड्याएकै चार महिना बितिसक्यो। ढुंगा, काठपातजस्ता स्थानीय सामग्री प्रयोग गरेर बनाइएको एकतले उनको घर सानो भए पनि आकर्षक छ। परम्परागत घर भुइँचालोले सजिलै ढालेको अनुभवका आधारमा उनले सकेसम्म प्रविधि अपनाएका छन्। 'तालिमप्राप्त डकर्मीले बनाएका हुन्,' गाह्रोको ठाउँ–ठाउँका कसुवा देखाउँदै उनले भने।

अस्थायी टहरोको बसाइ कष्टकर हुँदै गएपछि उनले गत चैतमा जग हालेर घर बनाउन थालेका थिए। जेठमा घर निर्माण सम्पन्न हुँदा पाँच लाख रुपैयाँ खर्च भएको उनले बताए। 'धन भएर होइन, आँटले बनाएको हुँ,' सबै ऋण खोजेर जुटाएको सुनाउँदै उनले थपे, 'घर नबनाइ सुखै थिएन। टन्टै सकियो।' सरकारले दिने आवास अनुदान एकमुष्ठ लिन प्राविधिक अध्ययनका लागि उनले इन्जिनियरलाई आग्रह गरिसकेका छन्।

गत वर्ष वैशाख १२ को भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको सिन्धुपाल्चोकमा पुनर्निर्माणको लहर सुरु भएको छ। भूकम्पपीडित ढलेको घर ठड्याउन उत्साहसाथ अग्रसर छन्। पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म पुनर्निर्माणको चटारो छ। बर्खाबाट उत्रिएर दसैंसमेत मानिसकेपछि पीडित घर बनाउन कस्सिएका हुन्। आवास अनुदानको पहिलो किस्तासमेत हात परेकाले उनीहरू पुनर्निर्माणलाई थप उत्साहित छन्। किस्ता लिएका ठूलो संख्याका पीडित निर्माणमा होमिइसकेका छन्। काठ काट्ने, चिराउने, ढुंगामाटो जोहो गर्ने र घँडेरी खार्ने चटारो गाउँगाउँमा देख्न सकिन्छ। 'अहिले घर नबनाए कहिले बनाउने?' घँडेरी खार्दै गर्दा भेटिएकी इर्खु गाविसकै माया तामाङले भनिन्। सिमेन्ट, इँटा जोडाइको घर बनाउने योजना सुनाउँदै उनले सबै निर्माण सामग्रीको अर्डर भइसकेको बताइन्। 'केही दिनमै जग हाल्छौं,' उनले भनिन्। पहिलो किस्ता पाएकाले निर्माणमा जुटन् हिम्मत आएको उनले बताइन्।

उसो त अनुदान नआउँदै पनि जिल्लामा थोरै संख्यामा भए पनि निर्माण सुरु भएको थियो। पहिलो किस्ता हातमा परेपछि पुनर्निर्माणको गति बढ्दै गएको छ। जिल्लामा भूकम्पपछि कति घर निर्माण भए, कति संरचना बन्दैछन् भन्ने यकिन तथ्यांक भने छैन। घँडेरी खन्ने व्यस्तता, खेतबारीमा ढालिएका रूख, इँटा, छड, बालुवा, सिमेन्ट ओसार्ने व्यस्तता देख्दा ठूलो संख्यामा घर बनिरहेको अनुमान लगाउन भने कठिन पर्दैन।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पुनर्निर्माणको अवस्थाबारे सर्भे थालेको छ। यसै साता मात्र डिभिजनले १० गाविसको सर्भे सकेको छ। ठूलोसिरुबारी, साँगाचोक, कर्थली, फुल्पिङडाँडा, बाह्रबिसे, स्याउले बतासे, मांखा, भोटेचौर र ज्यामिरे गाविसको सर्भे सक्दा डिभिजन उत्साही छ। 'ती गाउँमा पुनर्निर्माणको लहर पायौं,' डिभिजन प्रमुख इन्जिनियर डा. युवराज पौडेलले नागरिकसँग भने।

उनका अनुसार ती गाविसमा दुई सय ५० घर निर्माण भइसकेका छन्। थप दुई सय निर्माणाधीन छन्। उनले पीडितले आर्थिक हैसियतअनुसार ढुंगामाटा, सिमेन्ट, इँटाको घर बनाएको पाइएको बताए। हैबुङ, मानेस्वाँरा, कुबिन्डे, सानोसिरुबारीलगायतका गाविसमा सर्भेको काम भइरहेको उनले जानकारी दिए। 'पुनर्निर्माणको अवस्था रिपोर्टिङ गर्न सबै गाविस, नगरपालिकामा पत्राचार गरेका छौं। केही दिनमा यकिन तथ्यांक आउँछ,' उनले भने।

नयाँ घर बनाउन नगरपालिकामा नक्सा पास गर्नेको भीड लाग्न थालेको छ। दिनदिनै भीड बढ्दो छ। चौतारा नगरपालिकामा भूकम्पपछि ७९ नक्सा पास भई घर निर्माणाधीन रहेको इन्जिनियर बद्री भुजेलले बताए। पहिलो किस्ता अनुदान पाएपछि नक्सा पासका लागि पीडितको भीड बढ्न थालेको उनको अनुभव छ। उनका अनुसार त्यसयता दुईटा घर बनिसकेका छन्। पहिलो किस्ता वितरण थालेयता मेलम्ची नगरपालिकामा मात्र २२ वटा नक्सा पास भई घर बन्न थालेको इन्जिनियर राजेश घोरासैनी बताउँछन्।

पुनर्निर्माणलाई सघाउन सिन्धुपाल्चोकका गाउँमा यतिबेला दुई सय ५३ प्राविधिक खटिएका छन्। लाभग्राहीको सूचीअनुसार जिल्लामा झन्डै ८० हजार घरसंरचना बनाउनुपर्ने छ। तीमध्ये ७४ हजारसँग अनुदान सम्झौता गरी ७२ हजार पीडितलाई पहिलो किस्ता उपलब्ध गराइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख भुवनेश्वर लामिछानेले बताए। 'अनुदान सम्झौता लगभग सकियो भन्दा हुन्छ,' उनी भन्छन्, 'गाउँबाहिर रहनेसँग मात्रै सम्झौता गर्न बाँकी छ।'

प्रकाशित: ५ कार्तिक २०७३ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App