१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

उखुका सवारी साधन नआएर खाली देखिएको ईन्दुशंकर चिनी उद्योगको यार्ड। तस्बिर : टंक

सर्लाही- जिल्ला स्थित दुईवटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ।  

जिल्लाको दक्षिणी क्षेत्र बगदह स्थित महालक्ष्मी सुगर मिल र पश्चिम धनकौल स्थित अन्नपूर्ण सुगर मिलले चालू सिजनका लागि उखु क्रसिङ्ग बन्द गरेका हुन्।  यसै वर्षबाट क्रसिङ्ग सूरु गरेको महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्वीन्टल उखु पेलेको छ।  आफ्नो क्षेत्रको उखु सकिएकाले यस सिजनका लागि उद्योग बन्द गरिएको महालक्ष्मीका महाप्रबन्धक राजेश पाण्डेले जानकारी दिए।

त्यस्तै पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले ९ लाख ७ हजार ६९२ क्वीन्टल उखु क्रसिङ्ग गरेको छ।  सर्भे गरिएको किसानको सम्पूर्ण उखु सकिएकाले यस सिजनको लागि क्रसिङ्ग बन्द गरिएको अन्नपूर्णका उखु प्रबन्धक अजितकुमार सिंहले जानकारी दिए।  अन्नपूर्णले गतवर्ष १२ लाख ८४ हजार ५६२ क्वीन्टल उखु क्रसिङ्ग गरेको थियो।  यसवर्षदेखि दक्षिणी क्षेत्रकै बगदहमा महालक्ष्मी सुगर मिल सञ्चालनमा आएपछि अन्नपूर्णको क्रसिङ्ग घटेको छ।

यता हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले भने आगामी शनिबारसम्म उखु क्रसिङ्ग गर्ने उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।  ‘हामीले आज साँझ ५ बजे सम्म उद्योगमा उखु ढुवानी गरिसक्न किसानलाई अन्तिम अर्थात तेस्रो पटक सूचना प्रकाशित गरिसकेका छौं’, रजकले विहिबार नागरिकसँग भने, ‘एकसाता देखि नो क्यान भईरहेकाले पटक–पटक बन्द गर्दै चलाउँदै गर्नु परिरहेको छ, सर्भे गरिएको किसानको उखु सकेर नै बन्द गर्छौं। ’

केही दिन अघिदेखि नै बाहिरका संकलन केन्द्रबाट उखु ल्याउन बन्द गरिसकिएको र मिलगेट क्षेत्रको उखु पनि वैशाख १५ गतेसम्म सकिने अनुमान राजकले गरे।  हाल किसानले ल्याउने उखु थुपार्दै घान पुगेपछि उद्योग चलाउने गरिएको रजकले बताए।  

ईन्दुशंकरले हालसम्म ३४ लाख ७० हजार क्यून्टल उखु क्रसिङ गरेको छ।   गतवर्ष ३९ लाख ९९ हजार १२२ क्वीन्टल उखु क्रसिङ्ग गरेको ईन्दुशंकरले यसवर्ष भने ३५ लाख क्वीन्टल उखु पेल्ने लक्ष्य राखेको थियो।  यसवर्ष उद्योग एक महिना ढिला चलेका कारण किसानलाई उखु कटाई र ढुवानीमा निकै समस्या परेको उखु प्रबन्ध रजकको भनाई छ।

 

प्रकाशित: १२ वैशाख २०७६ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App