१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध

उदयपुर- उदयपुरमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बिहानैखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन्।

फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल र वर्ल्डलिङ्क सर्भरका इन्टरनेट सेवा पनि अवरुद्ध हुन पुगेपछि उपभोक्ता थप मारमा परेका छन्। फोन र मोबाइल अवरुद्ध हुँदा सूचना सम्पर्क टुट्नुका साथै इन्टरनेट अवरुद्ध हुँदा बैंकिङ सेवा र पत्रकारितामा समस्या परेको छ। बिहानैदेखि मोबाइल र टेलिफोन नचल्दा सूचना सम्पर्क टुटेका बेला इन्टरनेट नचलेर थप समस्यामा पारेको नेपाल पत्रकार महासंघ उदयपुरका सचिव भोटराज राईले बताए।

फोन र मोबाइल नचल्दा के कारणले नचलेको भन्ने बुझ्न पनि समस्या परेको छ। सचिव राईका अनुसार मोबाइल र नेट अवरुद्ध भएका कारण समाचार सम्प्रेषण गर्न नसकेर पत्रकारहरु समस्यामा परेका छन्। टेलिकमको समस्याका कारण एनसेल मोबाइलबाट उपभोक्ताले काम चलाउनु परेको छ।

त्यस्तै एडिएसएल र वर्ल्डलिङ्कको नेट अवरुद्ध भएका कारण एनसेल मोवाईलको हटस्पट सेवाबाट महँगो शूल्कमा नेट चलाएर समाचार सम्प्रेषण गर्न पत्रकारहरु बाध्य भएको राईले बताए।

त्यसैगरी बिहीबार बिहानैदेखि विद्युत पनि अवरुद्ध भएका कारण जिल्लाबासी समस्यामा परेका छन्। नेपाल विद्युत प्राधिकरण उदयपुर केन्द्रले गाईघाट-लाहान खण्डको हाइटेन्सन लाइन छेउछाउको रुखका हाँगा काट्न (बुस कटिङ) थालेका कारण विद्युत अवरुद्ध भएको हो। वर्षायाममा पलाएका रुखका हाँगाविगा काटेर झाडी सफा गर्नुपरेकाले दुई दिनसम्म विद्युत अवरुद्ध हुने प्राधिकरण केन्द्र गाईघाटले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७३ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App