१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नक्कली कागजात बनाएर मन्दिरको जग्गा हड्प्दै

ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित खड्का टोलमा भत्काउन लागिएको गणेश मन्दिर। तस्बिरः शिवहरि/काष्ठमण्डप

ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित खड्का टोलमा रहेको गणेश मन्दिरको जग्गा हडप्न खोजेको पाइएको छ। स्थानीय कृष्णमाया घतानी र संगीता घतानीले ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीलाई प्रयोग गरी नक्कली कागजात बनाएर सुटुक्क मन्दिर भत्काउन सुरू गरेका हुन्।

गएको शुक्रबार बिहान मन्दिर भत्काउन थालेपछि त्यसलाई तुरुन्तै रोक्न माग गर्दै स्थानीयवासी जिल्ला प्रशासन कार्यालयलाई गुहार्न पुगेका थिए। वडा अध्यक्ष केसीले साविकको नक्सालाई केर्दै नयाँ नक्सा बनाएर मन्दिर भत्काउनेलाई सहयोग गरेको स्थानीय रञ्जित सुनारको भनाई छ। उनले पटक पटक हारगुहार गर्दा पनि वडा अध्यक्षले जवर्जस्ती मन्दिरको जग्गा भत्काउन लगाएको बताए। ‘यो मन्दिर निकै पुरानो मन्दिर हो, बूढापाका बितेपछि केही स्थानीयले चलखेल गरेर नक्कली कागजात बनाई मन्दिरको जग्गा व्यक्तिको नाममा पास गर्न खोजिरहेका छन्, हामीले कुनै हालतमा मन्दिर भत्काउन दिन्नौं,’ उनले भने।

अर्का स्थानीय साइला घतानीले सदियौंदेखि पूजा गर्दै आइरहेको मन्दिर कुनै हालतमा पनि भत्काउन नहुने बताए। ‘हाम्रा पुर्खाले यही मन्दिरमा पूजाआजा गर्दै आए, टोलमा भगवान पुज्ने अरु ठाउँ छैन,’ उनले सुनाए, ‘भएको एउटा गणेश मन्दिर पनि भत्काउन चलखेल हुन थाल्यो, साह्रै नमज्जा लागेको छ।’

पुरानो नक्सा अनुसार मन्दिरको क्षेत्रफल करिब आधा आनामा फैलिएको छ। त्यसँगै स्थानीय संगीता घतानीको आगन जोडिएको छ। घतानीले आफ्नो अगाडिको कम्पाउन्ड फराकिलो पार्नलाई मन्दिर भत्काउन कामदार प्रयोग गरेकी हुन्। मन्दिरलाई आफ्नो आगनभन्दा बाहिरपट्टिको बाटोमा सार्न खाल्डो खन्न थालेपछि शुक्रबार स्थानीय जागेका थिए।

ललितपुरमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले एकाध व्यक्तिको जवर्जस्तीले २१ वर्षअघि बनेको मन्दिर भत्काउन नपाइनेले जानकारी दिए। उनले स्थानीय व्यक्तिको सहमति र सरकारी निकायको अनुमतिबिना मन्दिर भत्काउन नपाइने बताए। ‘मन्दिर भत्काउने थालेको थाहा पाएपछि हामीले तुरुन्तै रोक्न लगायौं,’ उनले भने, ‘त्यसरी नक्कली कागजात बनाएर मन्दिरको जग्गा खोस्न दिन्नौं।’

स्थानीय टोलवासी र सरकारी निकायका अधिकारीको सहभागितामा २०५६ सालमा मन्दिर निर्माण गरिएको थियो। हाल जबर्जस्ती मन्दिर भत्काउन लागिपरेका स्थानीय कृष्णमाया घतानी र संगीता घतानीले त्यतिबेला मन्दिर निर्माण समितिको नामावलीमा हस्ताक्षर समेत गरेका थिए।

स्थानीय टोलवासी र सरकारी निकायका अधिकारीको सहभागितामा २०५६ सालमा मन्दिर निर्माण गरिएको थियो। हाल जबर्जस्ती मन्दिर भत्काउन लागिपरेका स्थानीय कृष्णमाया घतानी र संगीता घतानीले त्यतिबेला मन्दिर निर्माण समितिको नामावलीमा हस्ताक्षर समेत गरेका थिए। उनीहरुले २०५५ सालमा मन्दिर निर्माणकै लागि भनेर तत्कालीन ललितपुर नगरपालिका (हाल महानगरपालिका)सँग ४४ हजार रूपैयाँ रकम पनि लिएका थिए। तर, विगतको जिम्मेवारी र निर्णयलाई उल्याउँदै अहिले त्यही मन्दिर भत्काउने खेलमा कृष्णमाया घतानी र संगीता घतानी लागिपरेका हुन्।

महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले कागजात पुगेको र लामो समयदेखि विवाद सिर्जना भएपछि आफूले मन्दिर भत्काउन निर्देशन दिएको बताए। उनले भने, ‘यो मन्दिरमा लामो समय विवाद सिर्जना भयो, मैले पनि स्थानीयको कुरालाई मध्यनजर गर्दै आएको थिएँ, अति नै झगडा हुन थालेपछि मन्दिर भत्काउनुस् भनेको हुँ।’

मन्दिर भत्काउने लागेका स्थानीय कृष्णमाया घतानी र संगीता घतानीले आफ्नो जग्गाभित्र मन्दिर परेकोले त्यसलाई भत्काउने लागेको दाबी गरे। उनीहरुले वडा कार्यालयबाट अनुमति लिएर भत्काउन लागेको बताए।

‘हामीले मन्दिरलाई बाहिरी बाटोको छेवैमा प्रतिस्थापन गर्छौं,’ संगीता घतानीले भनिन्, ‘सरकारी निकायले हामीलाई भत्काउन स्वीकृति दिएपछि भत्काउन सुरु भएको हो।’ 

 

प्रकाशित: ९ वैशाख २०७६ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App