१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुडानमा नागरिक शासनको माग गर्दै प्रदर्शन

खार्तुम– देशमा सैन्य ‘कू’ भएको दुई दिनपछि सुडानका प्रदर्शनकारीले नागरिक शासनको माग गर्दै राजधानी खार्तुममा प्रदर्शन गरेका छन्।

प्रदर्शनको नेतृत्व गरिरहेका नेताहरुले पनि आफ्ना समर्थकलाई नागरिक शासनको लागि सहभागी हुन आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ।

दशकौं शासन गरेका राष्ट्रपति ओमार अल–बसिरलाई हिरासतमा राख्दै देशको सेनाले पदच्युत गरेपछि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले तत्काल नागरिक शासनतर्फ देशलाई लान माग गरिरहेको बताइएको छ। यद्यपि सेनाले भने दुई वर्ष देशको शासन सत्ता हातमा लिन चाहेको बताएको छ। उसले दुई वर्षपछि निर्वाचन गरेर शक्ति जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने इच्छा जाहेर गरेको बिबिसीले उल्लेख गरेको छ।

देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा ‘संक्रमणकालीन व्यवस्था’का लागि सुडानका विपक्षी नेताहरुले सैन्य नेतृत्वसँग शनिबार अबेर भेट गर्न लागेको निजीस्तरमा सञ्चालित सुडानको एउटा सञ्चारमाध्यम सुडान न्युज ३६५ लाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रदर्शनको नेतृत्व गरिरहेको सुडान प्रोफेसनल एसोसिएसनले पनि सेनासँग वार्ता गर्नका लागि आफ्नो समूहको सदस्यको नामावली फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ। सो समूहले यसअघि सेनालाई ‘संक्रमणकालीन नागरिक सरकारसमक्ष शक्ति हस्तान्तरणको सुनिश्चितता गर्न’ देशको सशस्त्र फोजलाई आग्रह गरेको थियो।

विपक्षी सुडान कंग्रेस पार्टीका नेता ओमार–एल–डिगेरले सेनाले मात्र देशको शक्ति हातमा लिन नहुने बताएका थिए।

सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट सुडानमा आन्दोलन सुरु भएको थियो। आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन्। महिनौंको आन्दोलनपछि सेनाले बिहीबार राष्ट्रपतिलाई पदच्युत गरेर शक्ति हातमा लिएको थियो।

प्रकाशित: १ वैशाख २०७६ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App