१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोपेली संघले शर्तसहित ब्रेक्जिटका लागि समय दिने

फ्रान्सको राजधानी पेरिसस्थित एलिसी दरबारमा ब्रेक्जिटबारे छलफल गरेपछि बाहिरिँदै गरेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री थेरेसा मे। तस्बिरः एजेन्सी

पेरिस – युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि युरोपेली संघका नेताहरुले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई दोस्रो पटक पनि समय दिने भएका छन्। ब्रेक्जिटबारे बेलायती संसद्मा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री मेले युरोपेली संघलाई थप समय दिन आग्रह गरेबमोजिम स्थानीय समयअनुसार बुधबार साँझ पेरिसमा हुने आपतकाली शिखर बैठकपछि थप समय दिनेबार सहमति हुने बताइएको छ।
बेलायती आग्रहलाई यसपटक भने युरोपेली संघले शर्तसहित मान्ने बताइएको छ। युरोपेली संघले बेलायती प्रधानमन्त्री मेसँग ब्रेक्जिटबारे कति समय र के के विषय हुन्छन् भनेर माग गर्ने बताइएको छ।

यसअघि बेलायतलाई युरोपेली संघले आउँदो शुक्रबारसम्मको समयसीमा दिएको थियो। समयसीमा सकिनै लाग्दा पनि ब्रेक्जिटबारे सहमति नजुटेपछि बेलायती प्रधानमन्त्री मेले दोस्रो पटक पनि केही समय ढिला गरिदिन युरोपेली संघसँग आग्रह गरेकी थिइन्। युरोपेली संघका नेताहरुले भने बेलायतसमक्ष आउँदो मे २३ देखि २६ सम्म हुने युरोपेली संसद्को निर्वाचनमा बेलायत सहभागी हुनुपर्ने शर्त राख्दै आएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले युरोपेली संसद्को निर्वाचनअघि कुनै पनि प्रतिबद्धता नगर्नेबारे धारणा बनाएको बताइएको छ। म्याक्रोंले समयसीमा थप्नेबारे असहमति प्रकट गरिरहेको बताइएको छ। तर उनले जर्मन चान्सलर एन्जेला मर्केलबाट भने विरोधको सामना गरिरहेको बताइन्छ। जर्मन चान्सलर मर्केलले भने ‘ब्रेक्जिटबारे बेलायतलाई केही महिना दिनुपर्ने’ धारणा सार्वजनिक गर्दै आइरहेकी छन्। यदि समय थपबारे बुधबार पेरिसमा हुने सम्मेलनमा सहमति नभए बेलायतले कुनै सम्झौताबिना वा स्पष्ट सन्धिबिना युरोपेली संघ छोड्ने छ र कतिपयले यस्तै नै चाहेको बताइन्छ।

युरोपेली संघका अन्य नेताहरुले पनि बेलायतलाई उसको चाहनामा कुनै दबाव नदिने स्पष्ट पार्दै आएका छन्। स्वदेशभित्रै पनि मेलाई ब्रेक्जिटबारे अनेकौं समस्या रहेका छन्। उनले देशभित्र कैयौं नेतालाई जुन ३० सम्मको समय दिन माग गरेकी छन्। युरोपेली संघ छोड्नेबारे उनको योजना पारित नभएपछि प्रधानमन्त्री मेले विपक्षी लेबर पार्टीसँग सहयोग मागेको र त्यसका लागि आफूलाई जुन ३० सम्मको समय चाहिने उनले बताउँदै आएकी छन्। ‘म सरल र सहज तरिकाले बेलायतले यथासक्य चाँडो युरोपेली संघ छोड्ने विषयको पक्षपाती हुँ र म यसैलाई ध्यानमा लिएर काम गर्दैछु,’ पेरिस पुगेपछि प्रधानमन्त्री मेले पत्रकारहरुसमक्ष बताइन्। ‘मैले जुन ३० सम्म म्याद थप्नका लागि युरोपेली संघका नेताहरुसमक्ष आग्रह गरेकी छु। तर त्यसबीचमै ब्रेक्जिटसम्बन्धी सम्झौतालाई हाम्रो देशको संसद्ले पारित ग¥यो भने हामी मे २२ कै दिन युरोपेली संघ छोड्ने छौं र हाम्रो सुनौलो भविष्य बनाउन सुरु गर्नेछौं,’ प्रधानमन्त्री मेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ब्रेक्जिट प्रक्रिया कसरी हुन्छ भन्ने विषय मेले कसरी आफ्नो देशको राजनीतिलाई सहमतिमा ल्याउछिन् भन्ने विषयसँग जोडिएको विश्लेषकहरुले बताएका छन्।

म्याद थपबारे प्रधानमन्त्री मेले बेलायतमा मे २३ का दिन युरोपेली संघको निर्वाचन गर्नेबारे पनि आफूलाई खुला राखेको स्रोतदलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। यदि बेलायतले युरोपेली संघका लागि मतदान नगर्ने हो भने उसले कुनै सहमति बेगर जुन १ का दिन युरोपेली संघ छोड्नु पर्ने बाध्यात्मक परिस्थिति रहेको बताइएको छ।

प्रकाशित: २८ चैत्र २०७५ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App