१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

२५ करोड लगानीमा फनपार्क

भरतपुरमा निर्माण गरिएको जेम्स वल्र्ड फनपार्क।

चितवन - भरतपुर महानगरपालिका–४ लंकुको अद्वैत चोकमा जेम्स वल्र्ड फनपार्क निर्माण गरिएको छ। २५ करोड रुपैयाँ लागतमा तयार गरिएको फनपार्क वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको फनपार्कका अध्यक्ष महेश तिवारी बताउँछन्। तीन बिघा क्षेत्रफलमा रहेको फनपार्कमा एकैपटकमा चार हजार पाँच सय मानिसले मनोरञ्जन लिन सक्ने उनले बताए।

फनपार्कमा एक वर्षभन्दा बढी समय लगाएर पूर्वाधार तयार गरिएको छ। फनपार्कमा उपलब्ध मनोरञ्जनात्मक खेलको पनि केही महिनादेखि परीक्षण भइरहेको उनले बताए। स्थायी संरचना बनाइएकाले फनपार्कमा राखिएका खेल सुरक्षित रहेको दाबी उनको छ। फनपार्कमा छुट्टाछुट्टै चारवटा जोन छन्। किड्स, डाइनोसोर, ड्राई र वाटर जोन निर्माण गरिएका छन्। किड्स जोनमा स्कुटर राइड, ट्युब स्लाइड, माउन्टेन क्लाइम्बिङलगायत खेल छन्। ड्राई जोनमा फ्लाइङ चियर, मोन्सटर राइड, बम्पर कार, फेमिली कारलगायत खेल छन्। वाटर जोनमा साहसिक खेलको रुपमा वाटर स्लाइड निर्माण गरिएको छ। एक सय ६५ फिट लामो टनेलमा वाटर स्लाइड गर्न रमाइलो र आनन्द अनुभूति हुने फनपार्कका प्रबन्ध निर्देशक ईश्वर विकल सापकोटा बताउँछन्। रेडिएसन इफेक्टसहितको टनेल बनाइएकाले टनेलमा अँध्यारो नहुने उनले बताए।

फनपार्कमा छुट्टाछुट्टै किड्स, डाइनोसोर, ड्राई र वाटर गरी चारवटा जोन निर्माण गरिएका छन्।

‘ट्युबमा बसेर ४३ फिटको हाइटबाट स्लाइड गर्दै तल आइपुगिन्छ,’ उनी भन्छन्, ‘रमाइलो अनुभूति हुन्छ।’ प्लेइङ स्टेसन पनि यो जोनमा राखिएको छ। वाटर जोनमा उमेरअनुसार मिल्ने गहिराइका चारवटा स्विमिङ पुल, अम्ब्रेला वाटरफल निर्माण गरिएको छ। डाइनोसोर जोन डाइनोसोरको जीवन प्रक्रियासँग मिल्ने जानकारी दिने गरी निर्माण गरिएको छ। जोनमा एङ्ग्री गुरिल्ला र टकिङ ट्री पनि निर्माण गरिएको छ। फनपार्कमा उड्ने बुल राइड, वाइपआउट, मसाज चेयर, छुकछुके रेललगायत एक सय प्रकारका खेल खेल्न सकिने अध्यक्ष तिवारीले बताए। फनपार्कमा दुई सय, रुपैयाँदेखि सात सय ५० रुपैयाँसम्मको टिकट लाग्छ। सात सय ५० रुपैयाँको टिकटबाट फनपार्क पूरै घुम्न र खेल खेल्न सकिने बताइएको छ। फनपार्कमा बालबालिकादेखि ठूला मानिसले पनि मनोरञ्जन गर्न सक्ने सुविधा रहेको अध्यक्ष तिवारी बताउँछन्। पार्कमा ६८ जनाले लगानी गरेका छन्। भेटघाट रेस्टुरेन्टको मात्रै ५१ प्रतिशत लगानी छ। फनपार्क भरतपुरको चौबिसकोठीबाट २.५ किलोमिटर र नारायणगढको पुल्चोकबाट ३.३ किमि दूरीमा छ।
 

प्रकाशित: २८ चैत्र २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App