२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुरक्षा जिम्मा नेपाली सेनाको काँधमा

काठमाडौं - अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ। द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ। लिबियाको अवस्था एक्कासि बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुष्टि गरेकी छन्। राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण सुरु गरेपछि सुरु भएको संकटका कारण अमेरिकी र भारतीय शान्ति सैनिक त्यहाँबाट अन्यत्रै सारिए पनि नेपाली शान्ति सेनालाई भने थप जिम्मेवारी दिइएको छ।

बढ्दो संकटका बीच लिबियामा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय तथा त्यहाँमा कार्यरत कर्मचारीको सुरक्षा त्रिपोलीमा तैनाथ नेपाली शान्ति सेनाले गरिरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले द्वन्द्व चर्किएपछि लिबियास्थित राष्ट्रसंघीय मिसनको सुरक्षा जिम्मा नेपाली सेनाले लिइरहेको जानकारी दिए। सहायक रथी ढकालले लिबियास्थित राष्ट्रसंघीय मिसनको सुरक्षा जिम्मा पाएका नेपाली शान्ति सैनिक सुरक्षित रहेको र आवश्यक पर्दा आत्मसुरक्षाका लागि हतियार चलाउन सक्ने बताए।

विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेपछि शान्ति मिसनमा कार्यरत केही कर्मचारीलाई सडक मार्गमार्फत छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरिएको राष्ट्रसंघलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामेलगायत उच्च पदस्थ पदाधिकारी भने नेपाली सेनाको सुरक्षा घेराभित्र छन्। हाल लिबियाली शान्ति मिसनमा दुई सय ३१ नेपाली शान्ति सैनिक कार्यरत छन्।

विद्रोही समूहसँग भएको वार्ता असफल भएपछि जनरल खलिफा हफ्तार नेतृत्वको विद्रोही समूह ‘द लिबियन नेसनल आर्मी (एलएनए) ले राजधानी त्रिपोलीनजिक आक्रमणलाई तीव्र पारेपछि संकट थपिँदै गएको हो। सरकारी र विद्रोही पक्षका बीचमा द्वन्द्व सुरु भएपछि हालसम्म रेडक्रसका एक चिकित्सकसहित कैयौंले ज्यान गुमाएका छन् भने करिब २८ हजारले त्रिपोली छोडेका छन्। लिबिया सरकारले पछिल्लो लडाइँमा ३२ विद्रोही लडाकु मारिएको दाबी गरे पनि जनरल हफ्तारको फौजले भने १४ लडाकु मात्रै मारिएको बताएको छ। विद्रोहीले आक्रमणलाई तीव्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि स्थिति तनावपूर्ण बन्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी र विद्रोही पक्षबीच जारी लडाइँका कारण कैयौं सर्वसाधारण फसिरहेको र उनीहरू आपत्कालीन सेवाबाट पनि वञ्चित भइरहेको राष्ट्रसंघले जनाएको छ। अप्रिल ५ का दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिबियाको बेङ्घाजीमा भएको वार्ता निष्कर्षविहीन भएपछि विद्रोही समूहले आक्रमणलाई तीव्रता दिँदा पछिल्लो संकट उत्पन्न भएको हो। सन् २०११ मा तत्कालीन शासक मोहम्मर गद्दाफीलाई सत्ताच्यूत गरिएपछि लिबियामा दर्जनौं लडाकु समूहले गतिविधि सञ्चालन गरिरहेका छन्, जसका कारण लिबिया सोही समयदेखि नै तनावग्रस्त रहेको छ।

पछिल्लो समय लिबियामा रहेको लडाकु समूह दुई समूहमा विभाजित भएका छन्। उनीहरू कि त त्रिपोली आधारित संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त गभर्नमेन्ट अफ नेसनल एकर्ड (जिएनए) मा आबद्ध छन् या त जनरल हफ्तार नेतृत्वको एलएनएमा आबद्ध रहेका छन्।
कुनै समय गद्दाफीनिकट जनरल हफ्तार सन् २०११ मा अमेरिकाको निर्वासनबाट स्वदेश फर्किएर विद्रोही कमान्डर बनेका थिए। सन् २०१५ मा एकताबद्ध सरकार गठन गरिएको भए पनि देशमा नियन्त्रण जमाउने विषयमा शक्ति संघर्ष चर्किएदेखि नै लिबियाको राजनीति तनावयुक्त हुँदै आएको थियो। राष्ट्रसंघको समर्थन प्राप्त लिबियाली प्रधानमन्त्री फयज अल–सेर्राजले जसरी पनि राजधानी त्रिपोलीलाई रक्षा गर्ने बताउँदै आएका छन्।

क्याप्सन ः लिबियाको राजधानी त्रिपोलीस्थित एक बजार। तस्बिर ः एजेन्सी

प्रकाशित: २६ चैत्र २०७५ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App