१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद फेरि शक्तिमा

माले– माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद पुनः देशको शक्तिमा फर्किएका छन्।

पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि श्रीलंकामा निर्वासित जीवन बिताइ रहेका नासिद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचनमार्फत् शक्तिमा आएका हुन्।

शनिबार भएको संसदीय निर्वाचनमा उनको पार्टीले अत्यधिक मत प्राप्त गरेको विवरण आइतबार सार्वजनिक गरिएको छ।
नसिदको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी)ले नाटकीय रूपमा दुई तिहाई जित हासिल गरेको छ। माल्दिभ्समा कुल ८७ सदस्यीय संसद् रहेको छ। अत्यधिक मतका साथ जित हासिल गरेको एमडिपीका ५१ वर्षीय नेता नसिदले स्थिरता र लोकतन्त्रका लागि काम गर्ने र राजनीतिक संकट र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।

‘शान्ति स्थापनाका लागि काम गर्नु हाम्रो सरकारको मुख्य दायित्व हुनेछ,’ विजयी भएपछि राजधानी मालेमा आइतबार उनले बताए।  उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति अब्दुल्लाह यामिन भने यस पटक निर्वाचनमा सहभागी भएका थिएनन्। उनको पार्टी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स सहभागी भएपनि चार सिट मात्रै जितेर समग्रमा नराम्रो पराजय भोग्न बाध्य भएको छ। गत सेप्टेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा नासिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भएका थिए। सोलिहसँग पराजित भएका तत्कालीन राष्ट्रपति यामिनद्वारा निर्वासनमा बस्न बाध्य पारिएका नासिद गत निर्वाचनमा सोलिह विजयी भएपछि मात्रै स्वदेश फर्किएका थिए।

पूर्वराष्ट्रपति यामिन शक्तिमा भएका बेला नासिदलाई विवादास्पद आतंकवादसम्बन्धी मुद्दा लगाएर १३ वर्ष जेल सजाय सुनाइएको थियो। गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उनलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो।

सेप्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालीन विपक्षी दलका नेताहरु जेल वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन्। सोलिह निर्वाचित भएपछि उनले राजनीतिक बन्दीहरूका मुद्दा तत्काल फिर्ता लिने अभियानका क्रममा नासिदलाई पनि स्वदेश फकाईएको हो।

अहिले भने नासिदको पार्टीका नेता सोलिहले नेतृत्वको सरकारले यामिनलाई अनेक मुद्दा लगाएको छ। माल्दिभ्समा प्रतिशोधको राजनीति चर्किदै गएको छ।

प्रकाशित: २५ चैत्र २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App