१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवन मेडिकल कलेजमा फर्टिलिटी सेन्टर

चितवन मेडिकल कलेजमा स्थापना गरिएको फर्टिलिटी सेन्टरको उद्घाटन कार्यक्रममा सहभागी हुँदै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव। तस्बिर : सविता/नागरिक

चितवन - चितवन मेडिकल कलेजमा स्त्री तथा प्रसूति विभागअन्तर्गत फर्टिलिटी सेन्टर सुरु गरिएको छ। सेन्टरको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आइतबार एक कार्यक्रमबिच उद्घाटन गरेका हुन्।

कार्यक्रममा मन्त्री यादवले नेपालमै उपचारका क्षेत्रहरू विस्तार हुँदै जानु सकारात्मक भएको धारणा राखे। पछिल्लो समय नसर्ने रोग ठूलो समस्याको रूपमा रहेको उनले बताए। ‘अत्यन्त खर्चिलो र समयमा थाहा नहुने मुटु, मिर्गौला, कब्जियत, क्यान्सरलगायत रोगको समस्या अत्यधिक मात्रामा बढ्दै गएको छ तर नियमित स्वास्थ्य जाँच गर्ने बानी कम छ,’ उनले भने, ‘अत्यन्त महँगो र घरबारी बेचेर उपचार गनुपर्ने एकातिर समस्या छ भने अर्कातिर बिरामी नबाँच्ने र परिवार कंगाल बन्ने चिन्ताजनक अवस्था छ।’ उनले यस्ता रोग नियन्त्रण गर्न जनचेतना फैलाउनुपर्ने धारणा राखे। बढ्दो प्रदूषण, खानपान र बानीव्यवहार परिवर्तनले पनि प्रभाव पारेको बताउँदै उनले बढ्दो विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने बताए। उनका अनुसार बजारमा रहेका खानेकुरा स्वस्थकर छन् कि छैनन्, खानयोग्य छन् कि छैनन् भनी जाँच हुनुपर्छ। सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने नीति लिएको उनले जानकारी दिए। सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्ने मन्त्री यादवको भनाइ छ। ‘स्वास्थ्यमा सरकारी क्षेत्र र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘बाहिर उपचार गर्न जाने बिरामीलाई देशमै उपचार गर्नका लागि प्रोत्साहन गर्न सक्यौं भने ठूलो रकम रोक्न सकिन्छ।’

भरतपुरका महिलालाई ओपिडी सेवामा निःशुल्क टिकट सुविधा प्रदान गरिने मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले बताए। विश्व स्वास्थ्य उपचार क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको बताउँदै उनले कलेजले पनि प्रविधिको प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनका अनुसार फर्टिलिटी सेन्टरमा इन विट्रो फर्टिलाइजेशन विधिको प्रयोग गरिनेछ। यो विधि निसन्तान दम्पतीका लागि सन्तान जन्माउने उपचार विधि हो। यसमा शुक्राणु र अन्डा बाहिर निकालेर पेट्री डिसमा राखिन्छ। वातानुकूलित यन्त्रमा राखेर गर्भाधान भएको डिम्ब भ्रूणमा विकसित हुन्छ। भ्र्रूणलाई गर्भाशयमा प्रत्यारोपण गरिन्छ।

हर्मोन असन्तुलन भएमा, पाठेघरमा ट्युमर वा सिस्ट पलाएमा, थाइराइड, अत्यधिक वजन भएमा, महिनावारी चक्र अत्यन्त छोटो समयमा भएमा, रक्सी, चुरोट, लागू औषधको प्रयोग गरेमा, धेरै अन्डा एकै साथ बढे र अन्डा निस्कन नसकेमा गर्भ बस्न कठिन हुने समस्या देखिन्छ। मेडिकल कलेजको यस सेन्टरमा भ्रूण बैंकिङसमेत रहने अध्यक्ष प्राडा न्यौपानेले जानकारी दिए। रेडियो थेरापी वा केमो थेरापी उपचार गनुपर्ने दम्पतीको र विदेश गएका श्रमिकको प्रजननका लागि वीर्य संरक्षण गरिनेछ।

प्रकाशित: २५ चैत्र २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App