१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मन्थली विमानस्थलमा चहलपहल बढ्यो

रामेछाप - जिल्ला सदरमुकाम मन्थलीमा विमानस्थल भए पनि विमान आउने जाने नगर्दा प्रायः सुनसान हुन्थ्यो। केही दिनयता भने विमान र पर्यटकको चाप ह्वात्तै बढेको छ।

आन्तरिक उडान भर्ने निजी विमान कम्पनीले विशेष अवस्था र आर्थिक हिसाबले फाइदा हुने भएपछि सोलुखुम्बु उडानका लागि प्रयोग गर्ने यो विमानस्थलबाट पछिल्लो समय सोलुका अधिकांश उडान हुँदा चाप बढेको हो। अचेल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको सिलसिलामा दैनिक १० घन्टा बन्द हुन्छ। उक्त विमानस्थल राति १० बजेदेखि भोलिपल्ट विहान ८ बजेसम्म बन्द हुन्छ। त्यहाँबाट उडान अवतरण गर्ने स्वदेशी र विदेशी वायुसेवाले उडान तालिका परिवर्तन गरेर राति र विहान सबेरै हुने उडान समेत विहान ८ देखि राति १० बजेसम्म हुने बनाएका छन्।
त्रिभुवन विमानस्थल १० घन्टा बन्द गर्दा विहानै हुनुपर्ने लुक्लाको उडानलाई असर पर्ने भएकाले सबैजसो निजी वायुसेवा कम्पनीले लुक्लाका अधिकांश उडान मन्थलीबाट गर्न थालेका छन्। यसैको परिणास्वरुप यहाँ चाप बढेको हो।

निजी वायुसेवा तारा, सीता र समिट एअरलान्सले मन्थली विमानस्थलमा अस्थायी कार्यालय राखेर सोलु उडान गर्न थालेका छन्। यी कम्पनीले यसअघि व्यवसाय अनुकूल हुने गरी पर्यटक चापको आधारमा काठमाडौंबाट नभ्याउने अवस्थामा मात्रै सोलु उडान भर्न मन्थली विमानस्थल प्रयोग गर्थे। हिजोआज सगरमाथा जाने मुख्य समय भएकाले मन्थलीमा नेपाली र विदेशी पर्यटकको घुइँचो बाक्लै हुने गरेको छ। मन्थलीको आकाशमा उज्यालो खुुल्न नपाउँदै उडान भर्न सुरु भइसक्छ। सोलुको मौसम उडान अनुकूल हुन्जेल मन्थलीमा उडान र अवतरण भइरहन्छ। अपराह्न सोलुखुम्बुको मौसम बदलिएपछि भने उडान रोकिन्छ। मौसम अनुकूल भएसम्म दिनभरजसो यहाँबाट उडान हुने रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीले जनाएको छ। गत बुधबार सोलुको उडान र अवतरणका लागि ५२ पटक मन्थली विमानस्थल प्रयोग गरिएको एटिसी प्रसाद निरौलाले बताए। सोलुका लागि सीता एअरले बढी उडान गर्ने गरेको समेत निरौलाले बताए।

विमानस्थल कार्यालयका अनुसार उडान र अवतरणका लागि गरी यो विमानस्थल बिहीबार ५२, शुक्रबार ६३ र शनिबार ४० पटक प्रयोग भएको छ। शनिबार मौसम बिग्रेका कारण उडान र अवतरण संख्या कम भएको सम्बद्ध अधिकारीहरुको भनाइ छ। सोलुको मौसम दिनहुँजसो अपराह्नपछि बिग्रन्छ। विहान काठमाडौं विमानस्थल खुल्ने समय ८ बजेअगावै सोलु जाने विमान नउडाउने हो भने पर्यटकलाई गन्तव्यमा पु-याउन नसकिने भएपछि अधिकांश उडान मन्थलीबाट हुन थालेका हुन्।

भोलिपल्ट सबेरै सोलु उडान भर्न अघिल्लो राति नै विमानहरु मन्थली आएर बस्ने गरेका छन्। पर्यटकलाई सडकमार्गबाट मन्थली ल्याउने र काठमाडौं फर्काउने काम काठमाडौंका ट्राभल्स एजेन्सीले गरिरहेका छन्। सोलु उड्ने कतिपय पर्यटक अघिल्लै दिन मन्थली पुगेर बास बस्ने गर्छन् भने कतिपय बिपी राजमार्गका होटलमा बास बसेर भोलिपल्ट सबेरै मन्थली आइपुग्ने गरेका छन्। कतिपय पर्यटकले राति नै काठमाडौंबाट निस्केर विहानको उडान भ्याउने गरेका छन्। सोलुबाट पर्कने पर्यटकसमेत मन्थली विमानस्थल झरेपछि सडक मार्ग हँुदै काठमाडौं पर्कन्छन्। मन्थलीबाट गाडीमा काठमाडौं पुग्न करिब चार घन्टा लाग्छ।

अचानक विमान र पर्यटकको चाप बढेपछि वायुसेवा र ट्राभल एजेन्सीका कर्मचारी तथा पर्यटकले मन्थलीका होटल भरिभराउ हुन थालेका छन्। ग्राहक बढेसँगै विमानस्थल छेउका टहरमा अस्थायी प्रकृति होटल समेत सञ्चालन भएका छन्। ती होटलले पर्यटकलाई चिया, कफी, चिसो पेय पदार्थ, खाना तथा खाजाको प्रबन्ध गर्ने गरेका छन्।   जिल्लाबाट विमानमा कार्गो सोलुखुम्बु जान थालेपछि आफूहरुमा उत्साह थपिएको स्थानीय व्यवसायी बताउँछन्। पर्यटकको चापसँगै होटलहरुको दररेट बढको र पर्यटकसँग बढी लिने गरेको गुनासा समेत सुनिन थालेको छ। व्यवसायीको मनपरी रेटले पर्यटक मर्कामा परेको गुनासो आउन थालेको हो। यस विषयमा आफूकहाँ आधिकारिक गुनासो भने आइनसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। उनले पर्यटकको बाक्लो आगमनका बेला व्यवसायीले कालोबजारी गर्न सक्ने सम्भावनालाई मध्यनजर गरी होटल व्यवसायीलाई भेला गराई सबैको सेवा र लाग्ने दस्तुर सहितको विवरण माग गरेको बताए। अब निगरानी बढाउने र आवश्यकभन्दा बढी दस्तुर लिएको भेटिए कारबाही गर्ने उनले जानकारी दिए।

पर्यटक चापका कारण नियमित ग्राहक मारमा पर्न सक्ने जिएस होटलका सञ्चालक सुदिप देवकोटाले बताए। संघ–संस्थाले गर्ने औपचारिक कार्यक्रम पनि प्रभावित हुन सक्ने देवकोटा बताउँछन्। विदेशी पर्यटकहरु प्रायः बस्न मात्र आउने हुँदा खाना खाएर बास पनि बस्ने ग्राहकलाई अप्ठेरो पर्न सक्ने व्यवसायी बताउँछन्। कतिपय पर्यटक होटलमा उपयुक्त वातावरण नभएको भन्दै जिल्लाबाहिरकै होटलमा रात बिताएर मन्थली पुग्ने गरेका छन्।

विमानस्थल सर्वसाधारणलाई भएन
मन्थली विमानस्थलको प्रयोग गरेर निजी विमान कम्पनीले पर्याप्त लाभ लिने गरे पनि स्थानीयले लाभ लिन सकेका छैनन्। जिल्लाम विमानस्थल छ तर स्थानीयले नियमित यात्रा त परै जाओस् आपतकालीन अवस्थामा समेत सेवा पाउन सकेका छैनन्। स्थनीयले सा¥हो–गा¥हो अवस्थामा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन।

उनीहरुले जिल्लाका सर्वसाधारणलाई लक्ष्य गरी नियमित उडानको प्रबन्ध मिलाउन सरोकारवालासँग माग गरेका छन्। मन्थली विमानस्थल जिल्लाको गहना हो, तर त्यही गहना जिल्लाका मान्छेलाई लाभदायक नभएको स्थानीयको गुनासो छ। विमानस्थलमा साप्ताहिक उडान गर्न जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले समेत माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले तत्काल जिल्लामा यात्रु लक्षित उडानको माग गरेका हुन्।

२०३५ सालमा स्थानीयको समेत ठूलो श्रमदानमा निर्माण गरिएको उक्त विमानस्थलमा करिब ११ वर्षअघिसम्म नेपाल वायुसेवा निगमले उडान गथ्र्यो। निगमको सेवा पनि निरन्तर नहुँदा स्थानीय मारमा पर्थे। पछिल्लो समय निगमले सदरमुकाम मन्थलीमा सडक मार्गका हिसाबले छोटो पर्ने खुर्कोटबाट सवारी साधन सञ्चालन भएपछि यात्रु नपाएको भन्दै मन्थलीको कार्यालय उठाएर लगेको थियो।

निगमले कार्यालय उठाएपछि स्थानीयको माग अनुसार निजी विमान कम्पनीले केही समयअघिसम्म साप्ताहिक उडान गरे पनि पछिल्लो समय सेवा ठप्प छ। सम्भाव्यता अध्ययन गर्न मन्थली विमानस्थलमा पुगेका यती एअरका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाले केही वर्ष पहिले आफ्नो कम्पनीको विमान मन्थली विमानस्थलमा उडाएर सेवा दिन प्रयास गरेका थिए। मन्थली विमानस्थल कालोपत्रेका लागि बन्द गरिएपछि उडान रोकियो। रोकिएको सर्वसाधारण लक्षित उडान कालोपत्रे सकिएपछि पनि सुरु भएन।

प्रकाशित: २४ चैत्र २०७५ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App