१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुर र किमाथाङ्का सडक जोडिने

बेलका (उदयपुर)- प्रदेश सरकारको उच्च प्राथमिकताभित्र रहेको विराटनगर–किमाथाङ्का सडक खण्ड अन्तरगत उदयपुर र संखुवासभाबीच सोझो यातायात सम्बन्ध स्थापित हुने भएको छ। उदयपुर र सुनसरीको सीमास्थल बेलका नगरपालिका ८ चताराघाट स्थित सोमबारे कोठुदेखि हतुवागढी भोजपुर हुँदै संखुवासभाको किमाथाङ्का जोड्ने लोकमार्ग कार्य यसैवर्ष थालनी गरिएको छ।

प्रदेश सरकारले अस्थायी राजधानी विराटनगरदेखि संखुवासभाको किमाथाङ्का हुँदै छिमेकी मुलुक चीनसँग सडकमार्ग जोड्नेगरी चालु आर्थिक वर्षभित्रै काम थालेको जनाएको छ। उदयपुरको बेलका नगरपालिका ८ चताराघाट सोमबारेदेखि भोजपुर हतुवागढी नगरपालिका भएर किमाथाङ्का  जोड्ने लोकमार्गको प्राविधिक सर्वेक्षण कार्य गत सातादेखि सुरु भएको बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बताए। उनका अनुसार मुख्यमन्त्रीको कार्यालयबाट आएको प्राविधिक इन्जिनियर सहितको टोलीले कोठुदेखि बेलका ७ मैनामैनी र भोजपुर हतुवागढी नगरपालिकाबीचको सीमास्थल चुहार (कोसी) सम्मको सर्वेक्षण सुरु गरेको हो।

टोलीमा संलग्न मुख्यमन्त्रीका नीजि सचिव मक्करध्वज खड्काले सडक सर्वेक्षण कार्य चालु आर्थिकवर्षभित्रै सक्ने गरी सुरु गरिएको जानकारी दिएका छन्। उनले चतारादेखि चुहारसम्मको बेलका नगरपालिकाभित्र २६ किलोमिटर सडकको सर्भे गरी विस्तृत पिरयोजना प्रस्ताव (डिपिआर) तयार ग र्न प्राविधिक टोली खटाइसकिएको बताए। डिपिआर तयार गरेर प्रदेश सरकारसमक्ष पेश गरेपछि थप काम अघि बढाउने गरी प्राविधिक टोली लागिसकेको खड्काको भनाई छ।

विराटनगर–उदयपुर–भोजपुर–किमाथाङ्का लोकमार्ग आयोजना कार्यालय प्रमुख इन्जिनियर (डिई) रेवती पराजुलीले विराटनगरदेखि किमाथाङ्का जोड्ने सडकको डिपिआर यसै आर्थिक वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। नेपाल–भारत सीमास्थल जोगवनी नाकादेखि विराटनर–इटहरी–धरान–चतारा हुँदै उदयपुरको कोठु–भोजपुर हतुवागढी भएर किमाथाङ्का पुगेपछि अर्को मित्र राष्ट्र चीन जोड्न सडक निर्माण गर्न लागिएको हो।

चतारादेखि चुहारसम्म उदयपुर खण्ड २६ किलोमिटर र चुहारदेखि भोजपुर–किमाथाङ्का ८८ किलोमिटर नयाँ सडक निर्माण गर्नुपर्ने डिई पराजुलीले बताएका छन्। उनका अनुसार जोगवनीदेखि विराटनगर–इटहरी–धरान–चतारा खण्डसम्मको सडक कालोपत्रे भईसकेको र चतारादेखि चुहार–भोजपुर–संखुवासभासम्म मात्र नयाँ सडक खन्नुपर्ने हुन्छ। बेलका ७ मैनामैनी र भोजपुर हतुवागढी सीमास्थल चुहारस्थित कोसीमा पक्की पुल निर्माण गर्न पनि यसैवर्ष सर्भे र डिपिआर बनाईसक्ने गरी काम अघि बढाइएको डिई पराजुलीको भनाई छ।

प्रदेश सरकारको विशेष प्राथमिकता भित्र राखिएको यो लोकमार्ग अन्तरगत उदयपुर–भोजपुर– किमाथाङ्का खण्ड नयाँ ट्रयाक सर्भेक्षण तथा डिपिआरका लागि चालु आर्थिकवर्ष १ करोड १५ लाख बजेट विनियोजन गरिएको लोकमार्ग आयोजनालाई उद्धृत गर्दै बेलका नगरप्रमुख थापाले बताए। उनका अनुसार ४ लेन कालोपत्रे हुने उक्त सडकको विराटनगर–इटहरी खण्डमा काम भईरहेको छ। आगामी वर्ष इटहरी–धरान–चतारा खण्डलाई ४ लेन विस्तार गर्ने कार्यालयले जनाएको छ।

मेयर थापाले यो लोकमार्ग निर्माण भएपछि उदयपुरले छिमेकी चीन र भारतसँग सोझो सम्बन्ध विस्तार गर्ने अवसर पाउने बताए। जोगवनी–किमाथाङ्का खण्डको सडक प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिकवर्षको बजेट भाषणमै बनाउने घोषणा गरेकाले चाँडै निर्माण हुनेमा उनी विश्वस्त छन्। ‘यो सडक छिट्टै बन्छ, किनभने प्रधानमन्त्रीज्युले बजेट भाषणमै घोषणा गरेर राष्ट्रिय गौरवको आयोजनाभित्र समेटिसक्नु भएको छ’ मेयर थापाले भने ‘यसले उदयपुर र खासगरी बेलका नगरबासीको भाग्य र भविष्य सुन्दर बनाउन कोसेढुंगा सावित गर्ने अपेक्षा छ।’

सरकारले २ ठूलो छिमेकी मुलुकलाई जोड्ने लोकमार्ग बनाएर १ नं. प्रदेशलाई व्यापारिक ‘ट्रान्जिट पोईन्ट’ बनाउने लक्ष्य लिएकाले प्रदेश सरकारले पनि यसलाई ‘अति महत्व’ दिएर काम थालेको जनाइएको छ।

 

प्रकाशित: २४ चैत्र २०७५ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App